logo
logo
adiyogi-more-than-a-man

आदियोगी— प्रथम योगी: एक व्यक्तिभन्दा बढी

योगमा, शिवलाई भगवानको रूपमा हेरिँदैन । बरु, आदियोगी अर्थात् पहिलो योगी अनि आदिगुरु अर्थात् पहिलो गुरुको रूपमा हेरिन्छ | सम्पूर्ण मानवजातिप्रति आदियोगीको योगदानको बारेमा चर्चा गर्दै, सद्‌गुरुले आदियोगीको प्रभावलाई विश्वभरि पहिचान गराउनुको महत्त्वबारे बताउँदै हुनुहुन्छ |

आदियोगी— प्रथम योगी: एक व्यक्तिभन्दा बढी


योगमा, शिवलाई भगवानको रूपमा हेरिँदैन । बरु, आदियोगी अर्थात् पहिलो योगी अनि आदिगुरु अर्थात् पहिलो गुरुको रूपमा हेरिन्छ | सम्पूर्ण मानवजातिप्रति आदियोगीको योगदानको बारेमा चर्चा गर्दै, सद्‌गुरुले आदियोगीको प्रभावलाई विश्वभरि पहिचान गराउनुको महत्त्वबारे बताउँदै हुनुहुन्छ |

प्रश्न : नमस्कारम सद्‌गुरु | मैले सुनेको छु कि तपाईं संसारभरि २१ फिट अग्लो आदियोगीको मूर्ति बनाउने योजना गर्दै हुनुहुन्छ | यसको महत्त्व के हो ? मैले ईशा योग केन्द्रमा आदियोगी आलयम अगाडि एउटा मूर्ति बन्दै गरेको देखेको छु |

सद्‌गुरु: आदियोगीलाई संसारको विभिन्न भागमा प्रतिस्थापन गर्ने विषयमा भन्नुपर्दा— मैले यसबारे केही हदसम्म भनिसकेको छु कि सप्तऋषिहरू संसारभरि गएका थिए | ८०००-१२००० वर्ष पहिला दक्षिण अमेरिका, टर्की र उत्तर अफ्रिकामा लिङ्गको पूजा गरिन्थ्यो, साथै संसारमा सबैतिर नागको पूजा पनि गरिन्थ्यो । यो विषयमा हामीले थुप्रै अनुसन्धानका सूचनाहरू सङ्कलन गरेका छौँ, अनि यसको पुरातात्विक प्रमाणहरू पनि छन् | सायद पछिल्लो २००० वर्षमा मात्र यो तहसनहस भएको छ अनि संसारको विभिन्न भागमा हराएको छ । तर, शुरुवातमा सप्तऋषिको प्रभाव संसारभरि फैलिएको थियो | आदियोगीको योग विज्ञानबाट लाभान्वित नभएको कुनै संस्कृति छैन | योग सबैतिर पुगेको थियो— धर्म, आस्था वा दर्शनको रूपमा होइन, बरु विधिको रूपमा | समयसँगै यसमा केही विकृतिहरू आएका छन् । तैपनि नजानिकनै, संसारमा लाखौँ मानिसहरूले कुनै न कुनै योग–अभ्यासहरू गरिरहेका छन् | मानवजातिको इतिहासमा यो एकमात्र यस्तो कुरा हो, जुन मानिसहरूमाथि बलपूर्वक लागू नगरिए तापनि यति लामो समयसम्म जीवित रहेको छ |

कसैको गर्दनमा तरवार राखेर "योग गर् ! नत्र, टाउको काटिदिन्छौँ” भनेर कहिल्यै भनिएको छैन | योग थोपर्नको लागि कहिल्यै कुनै बल प्रयोग गरिएको छैन, साथै योग फैलाउन कुनै आधिकारिक निकाय थिएनन् | तैपनि, योग १५०००-२०००० वर्षदेखि जीवित रहेको छ— किनकि, यो प्रक्रिया निकै प्रभावकारी छ | यसको आफ्नै उतारचढाव छन्, तर एकपटक फेरी यो विशाल रूपमा फर्किँदैछ | तथापि, आज केही स्रोतहरूले योगको उत्पत्तिमाथि प्रश्न गरिरहेका छन् | केहीले यो समेत दाबी गर्छन् कि आज जुन योग सिकाइँदैछ, त्यो युरोपको अभ्यास पद्धतिबाट आएको हो | जसले मानव चेतनाको लागि अतुलनीय योगदान गरेका छन्, उनीप्रति अनि निश्चित संस्कृतिप्रति व्यक्त गरिनुपर्ने कृतज्ञ–भावलाई नकार्ने प्रयासहरू भएका छन् ।

मर्नुअघि म आदियोगीलाई यथेष्ट रूपमा पहिचान गरिएको हेर्न चाहन्छु | यी २१ फिटका आदियोगीका प्रतिमाहरू यही प्रयासको हिस्सा हुन् | यसमा लगभग २.५ वर्षभन्दा बढी समय काम गरेपछि हामीले एउटा चित्तबुझ्दो स्वरूप बनाएका छौँ | अब हामी त्यो स्वरूपलाई मूर्तरूप दिने प्रक्रियामा छौँ |


भारतमा आदियोगीका मूर्तिहरू



भारतमा, कसैले त्यस्ता स्थानहरू बनाउन पहल गरेमा ती ठाउँहरूमा आदियोगीका प्रतिमाहरू निर्माण हुनेछन् | केही मानिसहरू भारतको ४ कुनामा आदियोगीको ११२ फिट अग्लो मूर्ति बनाउनको लागि काम गरिरहेका छन् | यसमध्ये एउटा मूर्ति अरुणाचल प्रदेशमा प्रतिस्थापना गर्नको लागि त्यहाँको सरकारबाट हामीलाई निमन्त्रणा आएको छ | भारतमा सूर्यको पहिलो किरणले स्पर्श गर्ने स्थान अरुणाचल हो | यो मेरो चाहना हो कि भारतमा आउने सूर्यको पहिलो किरण आदियोगीको अनुहारमा पर्नुपर्छ | मानवजातिको लागि आदियोगीको जुन योगदान छ, त्यसलाई जुनसुकै जाति, धर्म र लैङ्गिकताका मानिसहरूले पहिचान गर्नुपर्छ— कुनै भगवानको रूपमा होइन, बरु यस्तो व्यक्तिको रूपमा जो सबै सीमाहरूभन्दा माथि उठे । व्यक्ति जे हुन सक्छ र व्यक्ति जे हुन सक्दैन— आदियोगी ती सबै थिए | उनैले पहिलो पटक मानवजातिको लागि यो सम्भावना खोलेका थिए | उनले सम्भावनाको बारेमा कुरा मात्र गरेनन्, बरु त्यसलाई कसरी सम्भव बनाउने भनेर निश्चित विधिहरू पनि दिए | मानव चेतनालाई माथि उठाउनको लागि कसैले पनि आदियोगीले जति योगदान गरेका छैनन्— न उनीअघि, न उनीपछि |

हामी चाहन्छौँ कि बाँकी ३ वटा ११२ फिट अग्लो आदियोगीका प्रतिमाहरूमध्ये, एउटा उत्तराखण्डमा बनोस्, हरिद्वार जाने बाटोमा; एउटा कन्याकुमारी नजिक र अर्को राजस्थानमा, सिमाना नजिक | भारतको ४ वटा कुनामा आदियोगीको विशाल प्रतिमाहरू स्थापित गरिनेछ, जसलाई मानिसहरूले बेवास्ता गर्न सक्दैनन् | साथै, हामी आदियोगीबारे किताब पनि लिएर आउँदैछौँ । आदियोगीलाई व्यक्तिको रूपमा हेरिनु अत्यन्तै जरूरी छ— किनकि, त्यसो गरे मात्र तपाईं पनि उनी जस्तै बन्न खोज्ने सम्भावना जीवित रहन्छ | चाहे कोही कृष्ण हुन्, वा राम, वा येशु वा अरू जोसुकै— जब तपाईं उनीहरूलाई भगवानको रूपमा हेर्नुहुन्छ, तपाईं उनीहरू जस्तो बन्ने प्रयास गर्नुहुन्न । यही समस्या हो | म हरेक मानिसलाई यो निरन्तर सम्झाउन चाहन्छु कि आदियोगी कुनै व्यक्तिभन्दा विशाल थिए, तैपनि उनी पूर्ण व्यक्ति समेत थिए | हरेक मनुष्य यसमा सक्षम छन्— उनीहरूको पृष्ठभूमि के हो, उनीहरूलाई के थाहा छ वा के थाहा छैन भन्ने कुराले केही फरक पार्दैन | यदि उनीहरू केही निश्चित चीजहरू गर्न इच्छुक छन् भने, भौतिकभन्दा पर जानु हरेक मानिसको जीवनमा एउटा सम्भावना हो | यो अभिव्यक्तिलाई ठोस बनाउन अनि उनैबाट सबैभन्दा पहिला योगको विज्ञान सञ्चार भएको हो भन्ने कुरालाई स्वीकार गर्न, हामीले भारतभरि ४ वटा ठूलो प्रतिमाहरू र बिच-बिचमा बढीभन्दा बढी २१ फिटका मूर्तिहरू स्थापना गर्ने सोचिरहेका छौँ |

एकमात्र तरिका छ— योग


म अहिले जे छु, त्यो यही खास विज्ञानको कारणले भएको हो, जुन हामीलाई निःशुल्क उपलब्ध गराइएको थियो | म जवान हुँदा यदि उनीहरूले ममाथि रोकटोक लगाएको भए— जस्तै कि "यदि योग गर्न चाहन्छौँ भने, तिमीले गुरु पूजा गर्नुपर्छ" भनेका भए— म त्यहाँबाट उठेर हिँडिदिन्थे | यदि उनीहरूले मलाई ढोग्न वा दियो बाल्न भनेका भए मैले छोड्ने थिएँ | त्यस्तो कुनै बाधा–व्यवधानहरू थिएनन् । बरु, के र कसरी गर्ने भनेर निर्देशनहरू मात्र दिइन्थ्यो, र त्यसैले काम गऱ्यो | आदियोगीले जुन योग–विज्ञान प्रदान गरे, त्यो नभइदिएको भए, म आज जे छु त्यो हुने थिइनँ | यो विज्ञान बिलकुलै धार्मिक होइन | उनी सबै धर्म जन्मिनु अघिका हुन् | आधुनिक संसारको लागि योग निकै मूल्यवान छ, किनकि अहिले हामी तार्किक बुद्धिमा जेलिएका छौँ | म जवान हुँदा मेरो समस्या यो थियो कि मबाट दियो बाल्ने काम हुन सक्दैनथ्यो, मबाट ढोग्ने काम हुन सक्दैनथ्यो, मबाट मन्दिरभित्र छिर्ने काम हुन सक्दैनथ्यो; यदि कसैले एउटा मन्त्र जप्यो भने, म त्यहाँबाट अन्तै गइदिन्थेँ— यी सबै तार्किक बुद्धिको समस्या हो |

तार्किक बुद्धिलाई जति बढी महत्त्व दिइन्छ, धेरै मानिसहरूमा यो समस्या हुनेछ | जब यो समस्या आउँछ, वैज्ञानिक पद्धति भएको योग नै एकमात्र समाधान हुनेछ | अरू सबै कुराले मानिसलाई केवल विभाजित गर्छन् | अनि, मानवताको लागि त्यो समय धेरै टाढा छैन | त्यो समय आउनुअघि, म यो चाहन्छु कि आदियोगीको नाम सबैतिर उच्चारण गरिनुपर्छ अनि सबैलाई यो योग–विज्ञान उपलब्ध छ भनेर थाहा हुनुपर्छ | यी प्रतिमाहरू ११२ फिट अग्लो हुनेछन्, किनकि आदियोगीले ११२ मार्गहरू दिएका थिए जसद्वारा मनुष्य परम–तत्व सम्म पुग्न सक्छन् | हामी यसलाई सरल बनाउन चाहन्छौँ अनि तपाईंहरूले गर्न सक्ने ११२ कुराहरू अर्पण गर्न चाहन्छौँ | यीमध्ये, तपाईंले केवल एउटा कुरा गर्नुपर्छ | यसले तपाईंको जीवनलाई सम्भव भएसम्म सबैभन्दा सरल तरिकाले रूपान्तरण गर्नेछ |

आदियोगीको प्रतिमा भएको स्थानमा आउने सबैले ११२ विकल्पहरूमध्ये आफूलाई गर्न मन लागेको एउटा कुरा रोज्न सक्नेछन् अनि ३ मिनेटको साधनाबाट शुरु गर्न सक्नेछन् | जो–कोहीले ३ मिनेट समय खर्चिन सक्छन् | यदि यसले उनीहरूमाथि काम गऱ्यो भने, उनीहरूले समय अवधिलाई क्रमशः बढाउँदै ६, १२ वा २४ मिनेटसम्म लैजान सक्छन् | अर्को दशकभित्र हामी यो स्थापित गर्न चाहन्छौँ कि मानिसहरूको जात, धर्म, लिङ्ग वा शारीरिक अवस्था जेसुकै भएपनि, हरेक व्यक्तिसँग आफ्नो जीवनमा एउटा सरल आध्यात्मिक प्रक्रिया हुनेछ ।

जोजो यसमा अग्रसर भएर यसलाई साकार पार्न चाहनुहुन्छ, कृपया हामीसँग जोडिनुहोस् | किनकि, मानिसको जीवनमा आध्यात्मिक प्रक्रिया ल्याउनु भनेको हामीले मानवजातिप्रति गर्ने सक्ने सबैभन्दा महत्त्वपूर्ण योगदान हो |

    Share

Related Tags

आदियोगी

Get latest blogs on Shiva

Related Content

शिव— भगवान, मानव वा पौराणिक कथा ?