शिवको नटराज रूप: ब्रह्माण्डको नर्तक

article शिव–विशेष
यो एकमात्र यस्तो संस्कृति हो, जहाँ हाम्रा देवी–देवताहरूले समेत नाच्नुपर्छ । यदि उनीहरू नाच्न सक्दैनन् भने, ती देवी–देवता हुन सक्दैनन् ! Feature-Nataraja

सद्‌गुरु: यो एकमात्र यस्तो संस्कृति हो, जहाँ हाम्रा देवी–देवताहरूले समेत नाच्नुपर्छ । यदि उनीहरू नाच्न सक्दैनन् भने, ती देवी–देवता हुन सक्दैनन् !

यो किन हो भने, सृष्टि–रचनाको घटनालाई दिन सकिने सबैभन्दा नजिकको उपमा भनेको यो एउटा नृत्य जस्तै छ । आज, आधुनिक भौतिक–शास्त्रीहरू पनि यस्तै शब्दहरू प्रयोग गरिरहेका छन्— उनीहरू भन्छन् कि सृष्टि नृत्यमा भइरहेको जस्तो देखिन्छ । तपाईंले नृत्य हेर्नुभयो भने, सतही रूपमा हेर्दा, त्यहाँ जे भइरहेको छ त्यसमा कुनै तार्किक तालमेल नभएको जस्तो देखिन्छ । तर, तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने, त्यो सम्पूर्ण प्रक्रियाभित्र निकै गहन पद्धति देखिनेछ ।

उदाहरणको लागि, शास्त्रीय नृत्यमा नर्तकले आफ्ना हातखुट्टा जथाभावी यताउता चलाएको जस्तो मात्र देखिन सक्छ । सतही रूपमा हेर्दा त्यसमा खासै केही नभएको जस्तो लाग्छ । तर, तपाईंले ध्यान दिएर नजिकबाट हेर्नुभयो भने, त्यहाँ जे भइरहेको छ त्यसमा निकै गहिरो सुसङ्गति वा तालमेल देखिनेछ । यदि त्यो तालमेल नभएको भए, तपाईं नृत्यमा रमाउन सक्नुहुने थिएन । हातखुट्टालाई यताउति घुमाउने जस्तो हेर्दा अतार्किक लाग्ने काम गर्न, अनि तबपनि नर्तकले दर्शाउन चाहेको कुरालाई पूर्णतया तालमेलमा राख्नको लागि वर्षौँको प्रशिक्षण र अभ्यास चाहिन्छ । यदि नृत्यमा त्यो ज्यामितीय सौन्दर्य रह्यो भने, दर्शकहरूले त्यसभित्रको कथा नबुझेपनि वा नृत्य के हो भनेर नबुझेपनि त्यसले उनीहरूमा विशेष प्रभाव पार्दछ । अर्को आयाममा, सङ्गीतको सन्दर्भमा पनि सोही लागू हुन्छ ।

भौतिक–शास्त्रीहरू पनि यही कुरामा सहमत भइरहेका छन् । सृष्टि पूर्णतया अव्यवस्थित र संयोगवश चलिरहेको जस्तो प्रतीत हुन्छ । तर ध्यान दिएर हेर्ने हो भने, प्रत्येक कुरा कुनै न कुनै रूपमा एक–आपसमा सम्बन्धित र तालमेलमा रहेको देखिन्छ । प्रत्येक कुरामा कुनै न कुनै प्रकारको तालमेल छ, जसबारे वैज्ञानिकहरूले अझै पत्ता लगाउन सकेका छैनन् । योग सम्भव हुनुको एउटै कारण यो हो कि व्यक्तिगत जीवन र सृष्टिको विशाल स्वरूपको बिचमा तालमेल वा सुसङ्गति रहेको छ । यदि त्यो सुसङ्गति नभएको भए, तपाईं अस्तित्वसँग एक हुन सक्नुहुने थिएन । सुसङ्गति नभएको भए एकत्व वा मिलनको कुनै सम्भावना हुने थिएन ।

शिव— नटराज र भौतिकशास्त्र

पछिल्ला केही वर्षहरूमा विज्ञानको क्षेत्रमा एउटा सिद्धान्त प्रचलित रहेको छ, जसलाई ‘कन्स्ट्रक्टल थ्योरी’ अर्थात् रचना सम्बन्धी सिद्धान्त भनिन्छ । यो सिद्धान्तले प्रकृतिमा फरक–फरक आकार कसरी रचिन्छ भनेर बताउँछ । साथै, यसमा के भनिन्छ भने, चाहे तपाईं एउटा परमाणु लिनुहोस्, वा मनुष्य, वा हात्ती वा सम्पूर्ण ब्रह्माण्ड— त्यसको मूलभूत आकार, मूलभूत रचना एउटै हुन्छ । रचना वा बनावट जतिजति परिष्कृत बन्दै जान्छ, त्यसको जटिलता पनि सोहीअनुसार बढ्दै जान्छ ।

हामीले सदैव योगमा यही भनिरहेका छौँ । जे सूक्ष्म छ र जे विराट छ, ती मूल रूपमा एउटै प्रकारका हुन् । यसैबाट योग अभ्यासहरूको शुरुवात भएको हो । योगमा यस्तो भनिएको छः अण्ड, पिण्ड र ब्रह्माण्ड— ती तत्त्वहरू जसबाट यो जीवन, एक व्यक्ति अनि पूरै ब्रह्माण्ड बनेको छ— ती एउटै चीजका तीन अभिव्यक्तिहरू हुन् । ती सबै एउटै समयमा भइरहेका हुन्छन् । साथै, ती सबैको एउटै बनावट भएको कारण, तपाईं एउटालाई अर्कोमा मिलाउन सक्नुहुन्छ । तपाईं एउटा गाजर खाएर त्यसलाई मानिस बनाउन सक्नुहुन्छ, किनकि यी सबैको मूल खाका वा बनावट एउटै हो ।

ब्रह्माण्ड जुन तरिकाले सञ्चालित छ, त्यसलाई दिन सकिने नजिकी उदाहरण वा त्यसको सेरोफेरोमा गर्न सकिने वर्णन भनेको यो एउटा नृत्य हो— किनकि, सबैथोक जथाभावी भइरहेको जस्तो देखिन्छ तर यसमा उत्तम प्रणाली, व्यवस्थापन र सुसङ्गति रहेको छ । कुरा यत्ति हो कि व्यवस्थापनको बारेमा अधिकांश मानिसहरूको सोच जस्तो छ, त्यो अति बौद्धिक र विभाजित छ । उदाहरणको लागि राम्रोसँग काँटछाँट गरिएको बगैँचा र जङ्गलको कुरा गर्न सकिन्छ । बगैँचामा सबैकुरा व्यवस्थित र सङ्गठित हुन्छ । जङ्गलमा कुनै व्यवस्थापन गरिएको हुँदैन । यदि तपाईंले ३ महिनासम्म आफ्नो बगैँचाको हेरचाह गर्नुभएन भने, त्यो नष्ट हुनेछ । तर, एउटा जङ्गल तपाईंको हेरचाहबिनै लाखौँ वर्षसम्म त्यहीँ रहिरहन सक्छ । अब तपाईं कुनलाई बढी व्यवस्थित वा सङ्गठित मान्नुहुन्छ ?

चिदम्बरम मन्दिरमा नटराजको मूर्ति छ— यहाँ शिवलाई नृत्यको देवताका रूपमा स्थापित गरिएको छ । नाटेश वा नटराज, शिवका सबैभन्दा महत्त्वपूर्ण रूपहरूमध्येको एक हो । म स्विट्जरल्याण्डमा अवस्थित भौतिक–विज्ञानको ठूलो प्रयोगशालामा गएको थिएँ, जहाँ परमाणुहरूलाई टुक्र्याउने प्रयोगहरू भइरहन्छन् । त्यहाँ जाँदा मैले प्रवेशद्वारको अगाडि नटराजको मूर्ति राखिएको देखेँ । किनकि, उनीहरूले यो पहिचान गरे कि उनीहरूले जे गरिरहेका छन्, त्यसको सबैभन्दा नजिक मानवीय संस्कृतिमा अरू केही पनि छैन ।

नटराजः ब्रह्माण्डको नर्तक

सृष्टि एउटा नृत्य भएको हुनाले हामीले चैतन्यलाई नर्तक भनेका हौँ । यदि उनी नर्तक नभएका भए उनले कसरी यो नृत्य गराउन सक्थे र ? शिव नटराज हुन् भन्नुको अर्थ हामीले एकजना व्यक्तिको नृत्यबारे कुरा गरिरहेका होइनौँ । तपाईंले याद गर्नुभएको होला, नटराजको आकृतिमा उनको वरपर गोलो घेरा वा चक्र देखाइएको हुन्छ । चक्र सदैव ब्रह्माण्डको प्रतीक हो, किनकि जब कुनै चीज चलायमान वा गतिशील हुन्छ, अस्तित्वमा बन्ने सबैभन्दा स्वाभाविक आकार भनेको चक्र वा वृत्त हो । जुन कुरा आफैँ भइरहेको हुन्छ त्यो वृत्ताकार वा अण्डाकार हुन्छ, किनकि वृत्त यस्तो आकार हो जसमा सबैभन्दा कम रोकावट हुन्छ । पृथ्वी, चन्द्रमा, सूर्य सबै वृत्ताकार अर्थात् गोलाकार छन् ।

यसैकारण, नटराजको वरपर भएको चक्रले ब्रह्माण्डलाई दर्शाउँछ । नटराज ब्रह्माण्डको नर्तक हुन् । उनको वर्णन सधैँ यसरी नै गरिएको छ । यसको अर्थ एकजना व्यक्ति पूरै ब्रह्माण्डभरि नाचिरहेका छन् भन्ने होइन । हामीले यो भनिरहेका हौँ कि ब्रह्माण्ड नृत्यको अवस्थामा छ, अनि यो नृत्य विशेष बुद्धममत्ताबाट सञ्चालित छ । अलग्गै व्यक्ति भएको हुनाले हामी सबैकुरालाई अलग–अलग जीवनको रूपमा बुझ्दछौँ, त्यसैले आफ्नो बुझाइको लागि हामीले शिवलाई नटराज (व्यक्ति) को रूपमा चित्रित गरेका हौँ । “शिव” शब्दको शाब्दिक अर्थ हो ‘त्यो जुन होइन’ वा ‘जे शून्य हो’ । यो शून्य हो, खाली स्थान जस्तै, तैपनि यो नृत्यको स्थितिमा छ । यो नृत्यको स्थितिमा भएकोले, सबैथोक भइरहेको छ ।

नटराजः शिवको महत्त्वपूर्ण रूप

शिवको नटराज रूप मूलतः दक्षिण भारतबाट आएको हो, खासगरी तमिल–नाडुबाट । यो सृष्टिको प्रचुरताको प्रतीक हो । यसले सृष्टिको नृत्यलाई अभिव्यक्त गर्दछ, जसले आफूलाई शाश्वत स्थिरताबाट स्वयं सृजना गरेको थियो । चिदम्बरममा स्थित नटराज निकै प्रतीकात्मक छन्, किनकि चिदम्बरम मूल रूपमा सम्पूर्ण स्थिरता वा निश्चलता हो । यस मन्दिरको रूपमा सोही कुरा प्रतिस्थापन गरिएको छ ।

तपाईं नृत्यलाई बुझ्न सक्नुहुन्न, किनकि तपाईंले जे–जति कुरा बुझ्नुभएको छ ती गलत निष्कर्ष नै हुन् । तर, तपाईं कि त नृत्यको सौन्दर्यलाई अनुभव गर्न सक्नुहुन्छ, वा तपाईं स्वयं नृत्य बन्न सक्नुहुन्छ । यदि तपाईंले हेरेरै नृत्यको सुन्दरता अनुभव गर्नुभयो भने, हामी तपाईंलाई जिज्ञासु भन्छौँ, अर्थात् तपाईं जान्न चाहनुहुन्छ । समाजमा तपाईंलाई विभिन्न नामहरूले बोलाइन्छ होला, जस्तै कि वैज्ञानिक, तर तपाईं तबपनि जिज्ञासु नै हो । आखिर यो के हो भनेर तपाईं जान्न चाहनुहुन्छ, त्यसैले तपाईं ध्यान दिइरहनु भएको छ । तर, यदि तपाईं स्वयं नृत्य बन्नुभयो भने, तपाईं चैतन्य बन्नुहुन्छ, तपाईं योगी बन्नुहुन्छ । तपाईंसँग यही विकल्प छ ।

यो नृत्य यति अचूक र परिपूर्ण छ कि हामीले नर्तकलाई लगभग बिर्सिएका छौँ । तर, नर्तकबिना कुनै नृत्य हुन सक्दैन । हामीले नर्तकलाई देख्न सकेका छैनौँ, किनकि हाम्रो दृष्टि, हाम्रो बुझाइ, हाम्रो ध्यान केवल सतहमै सीमित रहेको छ । नृत्यमा नर्तकलाई पहिचान गर्न तपाईं त्यस नृत्यमा पूरै डुब्नुपर्छ, जसले गर्दा तपाईं स्वयं नृत्य बन्नुहुनेछ— अर्थात् तपाईं दर्शक रहनुहुन्न, तपाईं स्वयं नृत्य बन्नुहुन्छ । तब तपाईंले अनुभवको स्तरमा नर्तकलाई जान्नुहुनेछ । तपाईंमाथि उनको प्रभाव हुनेछ । तर, यदि तपाईं नर्तकलाई पूरै गहिराइमा र उनका विभिन्न आयामहरूमा जान्न चाहनुहुन्छ; नृत्यको स्रोत, जुन सम्पूर्ण घटनाको मूल आधार हो, तपाईं त्यो स्रोत थाहा पाउन चाहनुहुन्छ भने, तपाईंले सम्पूर्ण रूपमा ध्यान दिनुपर्ने हुन्छ— एक प्रकारले नृत्यबाट टाढा रहेर । यी कुराहरू विरोधाभासपूर्ण लाग्न सक्छन् । एकतर्फ म भनिरहेको छु कि तपाईं यो नृत्यमा पूरै डुब्नुपर्छ, अर्कोतर्फ म यो पनि भनिरहेको छु कि तपाईंले यो नृत्यलाई अत्यन्तै गहनताका साथ हेर्न सक्नुपर्छ । यी कुराहरू विरोधाभासपूर्ण छैनन् । कुरा यत्ति हो कि जब तपाईं यसलाई खण्डित गरेर हेर्नुहुन्छ, जब यसलाई खण्ड–खण्डमा विभक्त गरेर हेर्नुहुन्छ, तब सबैथोक विरोधाभासपूर्ण देखिन्छन् ।

नृत्य बन्नुहोस् !

यदि तपाईं नृत्यमा पूर्ण रूपमा संलग्न हुनुहुन्छ, त्यस कार्यमा तन–मनले संलग्न हुनुहुन्छ भने, जान्नको लागि यो एउटा तरिका हो । वा, यदि तपाईंले त्यसबाट बाहिर रहन, पूरै असंलग्न रहन जान्नुभएको छ, अनि तबपनि तपाईं त्यस कार्यलाई पूर्ण रूपमा देख्न सकिरहनु भएको छ, तपाईंले कला र कलाकार, नृत्य र नर्तकबिच रहेको भिन्नतालाई बुझ्न सक्नुभएको छ भने, जान्नको लागि यो अर्को तरिका हो । दोस्रो तरिकामा निकै बढी जागरूकता, तिक्ष्णता, गहनता र प्रशिक्षण चाहिन्छ । त्यसैले नृत्यको अंश बन्न बढी सहज छ । बिस्तारै–बिस्तारै जब ताल चढ्न थाल्छ, जसैजसै तपाईं त्यसको गहिराइमा डुब्दै जानुहुन्छ, एकदिन तपाईंलाई कुन आफू हो र कुन नृत्य हो भन्ने नै थाहा हुँदैन । एकपटक जब तपाईं स्वयं नृत्यको अंश बन्नुहुन्छ, तब तपाईंले नर्तकको उपस्थितिलाई समेत अनुभव गर्नुहुनेछ, जान्नुहुनेछ ।

Dont want to miss anything?

Get the monthly Newsletter with exclusive shiva articles, pictures, sharings, tips
and more in your inbox. Subscribe now!