logo
logo

मानवजातिको निम्ति 'आदियोगी' को महत्त्व

आदियोगीले नै विश्वसामु योग–विज्ञान प्रदान गरेका थिए । आदियोगीले मानवताको निम्ति यस्तो सम्भावना प्रदान गरे, जहाँ मनुष्य आफ्नो प्रजातिको पूर्व–निर्धारित सीमाहरूभित्रै रहिरहन जरूरी छैन ।

आदियोगीले मानवताको निम्ति यस्तो सम्भावना प्रदान गरे, जहाँ मनुष्य आफ्नो प्रजातिको पूर्व–निर्धारित सीमाहरूभित्रै रहिरहन जरूरी छैन । आफ्नो भौतिक स्वरूपमा रहिरहने, तथापि त्यसको अधीनमा नरहने तरिका छ । शरीरमा वास गर्ने, तैपनि शरीर नबन्ने तरिका छ । तपाईंको मनलाई सम्भव भएसम्म उच्चतम स्तरमा प्रयोग गर्ने, अनि तबपनि मनमा उत्पन्न हुने दुःख–पीडाहरूबाट अछुतो रहने तरिका छ । यतिखेर तपाईं अस्तित्वको जुनसुकै आयाममा भएपनि तपाईं त्यसबाट पर जान सक्नुहुन्छ— अर्थात्, बाँच्ने अर्को तरिका पनि छ । आदियोगीले बताए, "मनुष्यले आफूमाथि आवश्यक साधनाहरू गर्ने हो भने, हालमा रहेका सीमाहरूबाट ऊ माथि उठ्न सक्दछ ।" अनि, माथि उठ्नको लागि उनले विधिहरू प्रदान गरे । आदियोगीको महत्त्व यही हो ।

म यहाँबाट जानुअघि, म यो सुनिश्चित गर्न चाहन्छु कि मानवजातिको निम्ति आदियोगीको योगदानलाई विश्वव्यापी रूपमा पहिचान गरिनुपर्छ । हामी यसलाई विभिन्न चरणहरूमा गरिरहेका छौँ । त्यसको एउटा पक्ष अन्तर्गत हामी आदियोगीको प्रतिमासहित पवित्र स्थलहरू बनाउँदैछौँ । २१ फिट अग्लो आदियोगी-प्रतिमाको अगाडि प्राण–प्रतिष्ठा गरिएको लिङ्ग स्थापित गरिनेछ । त्यो एउटा शक्तिशाली ऊर्जा स्थल हुनेछ । पहिलो आदियोगी–प्रतिमा अमेरिकाको टेनेसीमा अवस्थित हाम्रो आश्रममा स्थापित भइसकेको छ ।

महाशिवरात्रि २०२१ - प्रत्यक्ष प्रसारण मार्फत जोडिनुहोस्


यस धरतीमा सबैजनाले यो जान्न जरूरी छ कि आदियोगीले नै विश्वसामु योग–विज्ञान प्रदान गरेका थिए । दुर्भाग्यवश, पछिल्लो ५–६ वर्षमा युरोपमा चारवटा प्रमुख किताबहरू प्रकाशित भएका छन्, जसमा यो दाबी गरिएको छ कि योग युरोपको व्यायाम–अभ्यासहरूबाट विकसित भएको हो । यदि उनीहरूले अर्को १०–२० वटा यस्तै किताबहरू लेखे भने, त्यही सत्य बन्नेछ । तपाईं आफ्ना पाठ्यपुस्तकहरूमा जुन कुरालाई इतिहास भनेर पढ्नुहुन्छ, तपाईं त्यसैलाई सत्य ठान्नुहुन्छ । तर त्यस्तो होइन । म तपाईंलाई बताइरहेको छु, यो धेरै हदसम्म निहित स्वार्थबाट लेखिएको हो । त्यसैले, यदि उनीहरूले अर्को १०–१५ वर्षमा २५ देखि ५० वटा यस्ता किताबहरू लेखे भने, केही समयपछि सबैजना यही भन्न थाल्ने छन् कि योग अमेरिकाबाट वा क्यालिफोर्नियाबाट आएको हो, वा म्याडोनाले योग आविष्कार गरेकी हुन् । यो हाँसोको विषय होइन, सजिलै यस्तो गर्न सकिन्छ । यस्ता मानिसहरूको जमात छ, जो जेसुकै लेख्न तयार हुन्छन् । केही निकै प्रख्यात किताबहरूमा समेत यस्तै कुराहरू उल्लेख गरिएका छन् । ड्यान ब्राउनले आफ्नो किताब "एन्जल्स एण्ड डिमोन्स" मा भनेका छन् कि योग एउटा प्राचिन बौद्ध कला हो । गौतम बुद्ध २५,०० वर्ष अघिका मात्र हुन्, जबकि आदियोगी १५,००० वर्षभन्दा पनि निकै अघिका हुन् । आज तपाईं गौतम बुद्ध भन्नुहुन्छ, भोलि तपाईं म्याडोना भन्नुहोला । यदि तपाईंले यस्तै केही किताबहरू लेख्नुभयो भने, केही समयपछि त्यही सत्य बन्नेछ । तसर्थ, यहाँबाट जानुअघि म यो सुनिश्चित गर्न चाहन्छु कि सबैमा यो थाहा हुनुपर्छ कि योग आदियोगीबाट आएको हो— अरू कसैबाट होइन, केवल उनीबाट ।

हामीले यो गर्न जरूरी छ, किनकि यहाँको अद्वितीय विशेषता भनेको यो साधकहरूको भूमि हो । हामी अन्धविश्वासीहरू होइनौँ, हामी मुक्तिको खोज गर्ने साधकहरू हौँ । यही कुराले हामीलाई एकजुट बनाइरहेको छ ।

रामले के भने, कृष्णले के भने, वेदहरूमा के भनिएको छ, उपनिषद्‌हरूमा के भनिएको छ भन्ने कुराले केही फरक पार्दैन, जोसुकैले जेसुकै भनेपनि केही फरक पर्दैन— किनकि, प्रत्येक व्यक्तिले आफ्नो सत्यको खोज स्वयं गर्नुपर्दछ । तपाईंले आफ्नो मुक्तिको खोज गर्नुपर्छ । यो खोजकर्ता वा साधकहरूको भूमि भएकोले, यहाँका मानिसहरूमा साम्राज्य विस्तार गर्ने अभिलाषा थिएन । यदि तपाईंले यस धरतीमा सम्पूर्ण मानवजातिलाई कुनै कुरामा विश्वास गर्ने नभई खोज गर्ने साधक बनाउनुभयो भने, तब एकले अर्कोमाथि विजय प्राप्त गर्नुपर्ने श्रृङ्‌खला अन्त्य हुन्छ । हिंसाको मूल जड समाप्त हुन्छ । मानिसहरू स-साना कुराहरूको लागि लडाइँ–झगडा गर्लान्, तर ठूला युद्धहरू समाप्त हुनेछन् । म एउटा कुरामा विश्वास गर्छु, तपाईं अर्को कुरामा विश्वास गर्नुहुन्छ— यसैकारण त्यहाँ अन्तहीन लडाइँ चलिरहन्छ ।

जब तपाईंमा यो कुराको बोध हुन्छ कि तपाईंलाई ब्रह्माण्डको प्रकृतिबारे केही पनि थाहा छैन, जुन आज वैज्ञानिकहरूले पनि स्वीकार गरिरहेका छन्, तपाईं कोसँग लड्न चाहनुहुन्छ ? "होइन, मेरो ईश्वरले ब्रह्माण्ड सृष्टि गर्नुभएको हो, तिम्रो ईश्वरले होइन ।" यही समस्या हो । साधक अर्थात् त्यो व्यक्ति जसमा यो कुरा बोध भएको हुन्छ कि उसलाई केही पनि थाहा छैन । यदि सम्पूर्ण मानवजातिमा यो एउटा कुरा भइदिने हो भने, हिंसाको लागि मलजल गर्ने ९०% कारक तत्त्वहरू समाप्त हुनेछन् ।

अत: यसलाई पुन: फर्काउन आदियोगी भन्दा उत्तम अर्को कुनै प्रेरणाको स्रोत छैन । अनि, हामी उनलाई विभिन्न तरिकाहरूले अभिव्यक्त गर्न चाहन्छौँ ।

    Share

Related Tags

आदियोगी

Get latest blogs on Shiva

Related Content

शिव–पार्वतीको विचित्र विवाह !