शिवको वाहन नन्दीबाट हामीले के सिक्न सक्छौँ ?

article आध्यात्मिकता र रहस्यविद्या
प्रायः जसो शिवका सबै मन्दिरहरूमा बाहिर नन्दीको प्रतिमा देख्न पाइन्छ । यसको कारण के हो ? यो प्रतिमाले के सङ्केत गर्दछ ?

फिल्म निर्देशक शेखर कपूर र सद्‌गुरु, शिवको वाहन नन्दीको महत्त्व र प्रतीकको बारेमा छलफल गर्दै हुनुहुन्छ ।

शेखर कपूर: मलाई थाहा भएअनुसार नन्दी शिवका बहान हो । के ऊ शिव बाहिर आएर केही भन्नुहोला भनेर प्रतीक्षा गरिरहेको हो ? नन्दीको बारेमा केही बताउनुहोस् ।

सद्‌गुरु: नन्दीले शिव बाहिर आएर केही भन्नुहोला भनी प्रतीक्षा गरिरहेको होइन । ऊ यत्तिकै प्रतीक्षा गरिरहेको छ । नन्दी अनन्त प्रतीक्षाको प्रतीक हो, किनकि यस संस्कृतिमा प्रतीक्षा गर्नु वा पर्खिनुलाई सबैभन्दा ठूलो गुण मानिन्छ । जो व्यक्ति चूपचाप बसेर पर्खिन जान्दछ, ऊ स्वतः ध्यानशील हुन्छ । उसलाई शिव बाहिर आएर केही भन्लान् भन्ने अपेक्षा हुँदैन । ऊ अनन्त कालसम्म प्रतीक्षा गरिरहन सक्दछ । यो गुण ग्रहणशील बन्नको लागि मूल तत्त्व हो ।

नन्दी शिवका सबैभन्दा नजिकको साथी हो, किनभने उसमा ग्रहणशीलताको गुण हुन्छ । मन्दिरभित्र जानुअघि तपाईंमा नन्दीको गुण हुनुपर्छ, ताकि तपाईं बसिरहन सक्नुहोस् । त्यस अवस्थामा, तपाईं स्वर्गमा पुग्ने कोसिस गरिरहनु भएको हुँदैन, तपाईं यो वा त्यो पाउने प्रयास गरिरहनु भएको हुँदैन— तपाईं भित्र गएर यत्तिकै चूपचाप बस्नुहुन्छ । बाहिर यत्तिकै बसिरहेको नन्दीले तपाईंलाई यो बताइरहेको छ कि “मन्दिरभित्र गएर अनेक किसिमका उट्पट्याङ नगर्नुहोस् । कुनै चिजको लागि प्रार्थना नगर्नुहोस् । भित्र गएर म जसरी यत्तिकै बस्नुहोस् ।”

शेखर कमूर: मेरो विचारमा प्रतीक्षा गर्नु र अपेक्षा गर्नु भिन्न-भिन्न कुराहरू हुन्, होइन र ?

सद्‌गुरु: नन्दी कुनै चिजको अपेक्षा वा आशा गरिरहेको छैन । ऊ केवल पर्खिरहेको छ । यसरी यत्तिकै बसिरहनु नै ध्यान हो । उसले तपाईंलाई यही सन्देश दिइरहेको छ । भित्र गएर यत्तिकै बस्नुहोस् । सुस्त भएर होइन, बरु सजग भएर ।

शेखर कपूर: त्यसोभए के नन्दी ध्यानमग्न भएर बसिरहेको छ ?

सद्‌गुरु: मानिसहरूले ध्यान भनेको कुनै प्रकारको गतिविधि वा कार्य हो भनेर गलत रूपमा बुझेका छन् । होइन, यो एउटा गुण हो । यही मुलभूत भिन्नता हो । प्रार्थना गर्दा तपाईं भगवानसँग कुरा गर्ने प्रयत्न गर्नुहुन्छ । तपाईं उनलाई आफ्ना सङ्कल्पहरू, आफ्ना अपेक्षाहरू अनि यस्तै अरू बकम्फुसे कुराहरू बताउने कोसिस गरिरहनु भएको हुन्छ । ध्यानको अवस्थामा तपाईं केवल अस्तित्वलाई, सृष्टिको परम–प्रकृतिलाई सुन्न इच्छुक बन्नुहुन्छ ।

तपाईंसँग भन्नको लागि केही रहेको हुँदैन, तपाईं केवल सुन्नुहुन्छ । यो नै नन्दीको गुण हो— ऊ सजग भएर यत्तिकै बसिरहेको छ । यो महत्वपूर्ण पक्ष हो कि ऊ सजक छ । ऊ सुस्त छैन वा अल्छी लागेर बसिरहेको होइन । ऊ एकदमै सक्रिय भएर, जीवन र सजकताले भरिपूर्ण भएर बसिरहेको छ— तर, उसमा कुनै अपेक्षा वा पूर्वानुमान रहेको हुँदैन । यही ध्यान हो । कुनै निश्चित अभिप्रायले वा कुनै विशेष कुराको निम्ति नभई यत्तिकै पर्खिरहनु ।

यदि तपाईंले आफ्नोतर्फबाट केही नगरिकनै पर्खिरहनु भयो भने, अस्तित्वले आफ्नो काम गर्दछ । मूलत: ध्यान भनेको के हो भने, व्यक्तिले केही गरिरहेको हुँदैन— ऊ उपस्थित मात्रै रहन्छ । जब तपाईंको उपस्थिति मात्र रहन्छ, तपाईं अस्तित्वको विशाल आयामप्रति जागरूक बन्नुहुन्छ, जुन सदैव सक्रिय रहेको हुन्छ । त्यसबेला, तपाईं पनि यही अस्तित्वकै अंश हो भन्नेप्रति सचेत बन्नूहुन्छ । अहिले पनि त्यो सत्य हो । तर, जब तपाईंमा सचेत रूपमा “म अस्तित्वको अंश हुँ” भन्ने कुरा बोध हुन्छ, तपाईं ध्यानमा मग्न रहनुहुन्छ । नन्दी यसैको प्रतीक हो । ऊ सबैलाई यही स्मरण गराउँछ कि, “तिमी म जसरी बस्नुपर्छ ।”

शेखर कपूर: ध्यानलिङ्गमा अवस्थित नन्दी कसरी बनाइएको छ ? मलाई लाग्छ यो धातुले बनेको छ, के यो स्टील हो ?

सद्‌गुरु: सम्भवतः यो एकमात्र यस्तो नन्दी हो, जसलाई अनौठो तरिकाले बनाइएको छ । धातुका स-साना टुक्राहरू, जुन छ देखि नौ इन्चसम्मका थिए, तिनलाई जोडेर यसको माथिल्लो भाग बनाइएको छ । यसभित्र तिलको बीउ, बेसार, पवित्र खरानी (विभूति), केही विशेष किसिमको तेल, थोरै बालुवा र फरक-फरक किसिमका माटो भरिएको छ । यसभित्र २० टन सामाग्री भरिएको छ, अनि त्यसलाई बन्द गरिएको छ । यो पूरै मिश्रणलाई विशेष किसिमले तयार गरिएको छ । यसैकारण, नन्दीले विशेष किसिमको ऊर्जा छरिरहेको छ ।