logo
logo
Shiva and Kali: The Tantric Symbolism

शिव र काली— तान्त्रिक प्रतीकको अर्थ

शिवको छातीमा काली उभिएकी चित्रको वास्तविक अर्थ बताउँदै, सद्‌गुरु, कसरी कालीले शिवको संहार गरेर पुन: जीवित गरिन् भन्ने कथालाई तन्त्रको सही अर्थसँग जोडेर बुझाउँदै हुनुहुन्छ ।

 

प्रश्नः सद्‌गुरु, मैले यस्ता थुप्रै चित्रहरू देखेको छु, जहाँ काली शिवको शवमाथि उभिएकी छिन् । कालीले कसरी शिवलाई मारिन् ? यो चित्रको सङ्केत के हो ?

कालीले कसरी शिवलाई मारिन् ?


सद्‌गुरुः यो एउटा विशेष कथा हो, जसले ऊर्जाको स्त्रैण आयामले कसरी काम गर्दछ भनेर दर्शाउन खोजिरहेको छ । एकपटक यस्तो भयो... विभिन्न दानवहरूले संसारमाथि आतङ्क मच्चाउने कोशिस गरे । थुप्रै असुरहरूले संसारमाथि दमन गर्न थाले । त्यसैले, काली निकै क्रोधित भइन् । जब उनको क्रोधले भयानक रूपम लियो, तब उनलाई रोक्न सकिने अवस्था नै थिएन । उग्र अवस्थामा उनले सबैको संहार गर्न थालिन् ।

उनको आक्रोश रोकिने कुनै सङ्केत थिएन । उनको विध्वंस जारी थियो— कुनै कारणबिनै, त्यस परिस्थितिको लागि जरूरी कार्यको हदभन्दा पर, सबैथोकभन्दा पर चलिरहेको थियो । उनको क्रोधले यस्तो उग्र रूप लिएको थियो कि त्यो रोकिने कुनै छाँटकाँट थिएन । साथै, उनले संहार गरिरहेकी थिइन् । त्यसैले, कसैले पनि गएर उनलाई रोक्ने साहस गरेनन् । त्यसपछि, सबैले शिवसँग विन्ति गरे, “कालीले सबैको संहार गरिरहनु भएको छ । कृपया उहाँलाई शान्त पार्नको लागि केही गर्नुहोस् ।"

शिवलाई कालीको रूपबारे थाहा थियो, त्यसैले शिव उनी भएतर्फ गए—आक्रामक रूपमा होइन, लडाइ गर्ने शैलीमा होइन । उनी सामान्य तरिकाले गए । तर, कालीको ऊर्जा यस्तो स्तरमा पुगिसकेको थियो कि शिव स्वयं पछारिए । जब उनी शिवको छातिमाथि उभिइन्, तबमात्र उनलाई आफूले के गरिरहेको रहेछु भनेर बोध भयो । त्यसपछि, उनी बिस्तारै साम्य भइन् अनि पुनः शिवमा प्राण भरिदिइन् ।

देवीले आफ्नै शिर काटिदिइन् !


यस्ता थुप्रै तान्त्रिक प्रकियाहरू छन्, जुन यो विशेष घटनामा आधारित छन् । तपाईंले यस्ता पेन्टिङ्ग वा तस्विरहरू देख्नुभएको हुन सक्छ, जसमा तान्त्रिकहरूले आफ्नै टाउको काटेर हातमा लिएका हुन्छन् । वा, तपाईंले स्वयं देवीलाई आफ्नो शिर हातमा लिएर हिँडेको रूपमा चित्रित गरिएको देख्नुभएको हुन सक्छ । यस्ता विभिन्न तान्त्रिक प्रक्रियाहरू छन्, जहाँ मानिसहरूले साँच्चिकै शिरच्छदेन (टाउको काटेर) पुनः शरीरमा त्यसलाई जोड्छन् । यस्ता केही अनुष्ठान् र विधिहरू छन्, जसद्वारा त्यस्तो गरिन्छ ।

तन्त्रः जीवनलाई तोड्ने र जोड्ने


मलाई यो थाहा छ कि अचेल अधिकांश मानिसहरूमा तन्त्र भनेको स्वच्छन्द र उच्छृङ्खल सम्भोग हो भन्ने बुझाइ रहेको छ । यो किन भएको हो भने, अहिले तन्त्रसँग सम्बन्धित थुप्रै किताबहरू अमेरिकनहरूद्वारा लेखिएका छन्, अनि थुप्रै मानिसहरू पत्र–पत्रिका वा किताबहरूबाट तन्त्रको बारेमा पढ्छन् । तन्त्र भनेको छाडा रूपमा यौन सम्पर्क गर्नु भन्ने होइन । तन्त्र भनेको चरम अनुशासन हो । तन्त्र भनेको जीवनलाई तोड्ने र पुनः जीवनलाई जोड्ने तकनिकी, विधि र सामर्थ्य हो । तन्त्र, आफ्नो प्रणालीमाथि यस हदसम्म महारथ प्राप्त गर्नको लागि हो, जहाँ तपाईं जीवनलाई पूरै छिन्न–भिन्न पारेर पुनः पहिलेकै अवस्थामा फर्काउन सक्नुहुन्छ ।

कालीले शिवलाई मार्नुको सङ्केत


तपाईं आफ्नो जीवनमाथि यस हदसम्म महारथ पाउन वा यसलाई आफ्नो अधीनमा लिन सक्नुहुन्छ, जहाँ जीवन र मृत्यु पूर्णतया तपाईंकै हातमा हुन्छन्— तपाईं जीवनलाई तहसनहस पारेर पुनः जस्ताको त्यस्तै बनाउन सक्नुहुन्छ । यहाँसम्म कि तपाईं दिव्य वा देवत्त्वलाई समेत मारेर पुनः जीवित बनाउन सक्नुहुन्छ । यो अरूलाई देखाउने प्रयासमा गरिने बहादुरीको काम होइन । कुरा यत्ति हो कि तपाईं जीवनमाथि त्यस हदसम्म प्रभुत्व पाउन (आफ्नो हातमा लिन) चाहनुहुन्छ ।

जबसम्म तपाईंले जीवनमाथि केही हदसम्म प्रभुत्व पाउनुहुन्न, तपाईं केही पनि गर्न सक्नुहुन्न । प्रत्येक व्यक्तिले जीवनमाथि थोरै नियन्त्रण पाएका हुन्छन् । नत्र, तपाईं के नै गर्न सक्नुहुन्थ्यो र ? तपाईंले जीवनमाथि कति प्रभुत्व पाउनुभएको छ भन्ने कुराले नै तपाईं के कति गर्न सक्नुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ ?

शिवमाथि काली उभिएकी तस्विरले मूलतः यो सङ्केत गर्दछ कि उनले जीवनको प्रक्रियामाथि पूर्णतः महारथ प्राप्त गरेकी छिन् । यसको अर्थ के हो भने, तपाईं स्वयं चैतन्यलाई मार्न सक्नुहुन्छ अनि पुनर्जीवित गर्न सक्नुहुन्छ । त्यो दुस्साहस हो, होइन त ? वास्तवमा, तन्त्रको तरिका यस्तै हुन्छ ।

    Share

Related Tags

रहस्यवादशिव र उनको परिवार शिवका कथाहरूशिव र पार्वती

Get latest blogs on Shiva

Related Content

मन्त्रको शक्ति