Satsang with Sadhguru
Satsang with Sadhguru

बद्रीनाथको कथा— जब शिवले आफ्नै घर गुमाए !

article शिव–कथाहरू
हजारौँ वर्षदेखि धर्मग्रन्थ र पौराणिक कथाहरूमा बद्रीनाथलाई सबैभन्दा पवित्र स्थान मानिएको छ । यो महान् तीर्थस्थल गढवालको अलकनन्दा नदीको किनारमा अवस्थित छ । कसरी शिव र पार्वतीलाई झुक्याएर विष्णुले यसलाई आफ्नो निवास बनाए भन्ने कथा सद्‌गुरु हामीमाझ बताउँदै हुनुहुन्छ ।

सद्‌गुरु: बद्रीनाथको बारेमा एउटा प्रसिद्ध कथा छ । यो शिव र पार्वतीको वासस्थान थियो । यो हिमालयमा लगभग १०,००० फिट उचाइमा अवस्थित निकै अद्‌भुत स्थान हो । एकदिन नारद विष्णु (नारायण) समक्ष गए र भने, “तपाईं मानवताको लागि खराब उदाहरण हुनुहुन्छ । तपाईं जतिबेला पनि शेष–नागमाथि पल्टिरहनु हुन्छ अनि तपाईंकी अर्धाङ्गिनी लक्ष्मी लगातार तपाईंको सेवामा लागिरहनु हुन्छ र तपाईंलाई पुल्पुल्याउनु हुन्छ । यस धरतीका अन्य प्राणीहरूको लागि तपाईं सही उदाहरण बन्न सक्नुभएको छैन । तपाईंले सृष्टिका सम्पूर्ण जीवहरूको लागि केही अर्थपूर्ण काम गर्नुपर्छ ।”

यो आलोचनाबाट बच्न साथै आफ्नो उत्थानको लागि ध्यान र तपस्या गर्न सही ठाउँ खोज्दै विष्णु हिमालयमा आए । उनी बद्रीनाथ आइपुगे । उनले त्यहाँ एउटा घर देखे— चिटिक्क परेको सानो घर, सबैथोक ठ्याक्कै आफूले सोचे जस्तै अनि साधना गर्नको लागि उत्तम स्थान । उनी त्यस घरभित्र गए । भित्र छिर्ने बित्तिकै उनले त्यो शिवको निवास हो भन्ने चाल पाइहाले— उनलाई शिव खतरानाक छन् भन्ने थाहा थियो । यदि उनी क्रोधित भए भने, उनी आफ्नै घाँटी समेत काट्न सक्छन्, तपाईंको मात्रै होइन ! उनी भयानक छन् ।

तब नारायणले सानो बच्चाको रूप धारण गरे अनि घरबाहिर बसे । बाहिर कतै डुल्न गएका शिव र पार्वती घर फर्किए । घर आइपुग्दा उनीहरूले प्रवेशद्वारमा सानो बच्चा जोडले रोइरहेको देखे । बच्चाको चित्कार सुनेर पार्वतीको मातृत्व भाव जाग्यो अनि उनी बच्चालाई उठाउन गइन् । तत्कालै शिवले पार्वतीलाई रोक्दै भने, “त्यो बच्चालाई नछोऊ ।” पार्वतीले भनिन्, “तपाईं कति क्रुर हुनुहुन्छ ! कस्तो कुरा गर्नुभएको ?” शिवले भने, “ऊ कुनै सामान्य बच्चा होइन । ऊ कसरी आफैँ हाम्रो घरको ढोका अगाडि आइपुग्यो ? यहाँ वरपर कोही पनि छैन, हिउँमा उसको आमाबुबाका पाइलाहरू पनि छैनन् । यो बच्चा नै होइन । ”

तर, पार्वतीको मातृसुलभ भावनाले गर्दा उनी शिवको कुरा सुन्ने पक्षमा थिइनन् । उनले भनिन्, “तपाईं चाहे जेसुकै भन्नुहोस, मलाई मतलब छैन । म भित्रको मातृत्वले बच्चालाई यसरी रोइरहेको देख्न सक्दैन ।” यति भनेर उनले बच्चालाई उठाइन् र आफ्नो काखमा लिइन् । बच्चा पार्वतीको काखमा निकै आराम महसुस गरिरहेको थियो अनि शिवतिर मुस्कुराएर हेरिरहेको थियो । शिवलाई यसको परिणाम थाहा थियो, तर के गर्नु ? त्यसैले उनले भने, “ठीक छ, हेरौँ अब के हुन्छ ।”
पार्वतीले बच्चालाई सुमसुम्याइन्, केही खुवाइन् र शान्त पारिन् । अनि, बच्चालाई घरमै छोडेर शिवसँग नजिकै तातो पानीको कुण्डमा नुहाउन गइन् । दुवैजना घर फर्किए, तर ढोका भित्रबाट बन्द गरिएको थियो ! पार्वती चकित परिन्, “हैन, कसले ढोका बन्द गऱ्यो ?” शिवले भने, “त्यो बच्चालाई नउठाउनू भनेर मैले भनेकै थिएँ नि । तिमीले बच्चालाई घरभित्र लग्यौ, अनि अब उसले भित्रबाट ढोका बन्द गरिदियो ।” पार्वतीले भनिन्, “अब हामी के गर्ने ?”

शिवसँग दुईवटा विकल्पहरू थिए । एउटा, आफ्नो अगाडि रहेको सबैथोक जलाएर भस्म गरिदिने, अनि दोस्रो, त्यहाँबाट अन्त कतैतिर जाने र अर्कै उपाय खोज्ने । उनले भने, “हिँड, अन्त कतै जाऔँ । ऊ त तिम्रो प्यारो बच्चा हो, त्यसैले म उसलाई छुन पनि सक्दिनँ ।”

यसरी शिव र पार्वतीलाई छलपूर्ण तरिकाले त्यहाँबाट निस्कासित गरियो अनि उनीहरू ‘अवैध प्रवासी’ बने । उनीहरू राम्रो बसोबासको ठाउँ खोज्दै यताउति भौँतारिए अनि अन्तत: केदारनाथमा बस्न थाले । यसरी शिवले आफ्नै घर गुमाए । तपाईंले यो सोध्न सक्नुहुन्छ कि के उनलाई यसबारे थाहा थिएन ? तपाईंलाई कैयौँ कुराहरू थाहा हुन्छ, तैपनि तपाईं ती सबैलाई बेवासता गर्दै त्यसो हुन दिनुहुन्छ ।