ieco
ieco

शिव र विष्णु— ३ लोकप्रिय कथाहरू

article शिव–विशेष
शिव र विष्णुका बारेमा पौराणिक कथाबाट लिइएका तीनवटा रोचक कथाहरू: जब विष्णुले शिवको घर खोसिदिए, जब विष्णुले शिवलाई सङ्कटबाट बचाए अनि अन्त्यमा विष्णुको शिव–भक्तिको मर्मस्पर्शी कथा । Shiva_Vishnu-stories

शिव र विष्णु— बद्रीनाथको किंवदन्ती

के तपाईंलाई बद्रीनाथको कथा थाहा छ ? बद्रीनाथको बारेमा एउटा किंवदन्ती छ । यही स्थानमा शिव र पार्वती बास गर्दथे । यो समुद्री सतहबाट १० हजार फिटको उचाईंमा हिमालय पर्वतमा अवस्थित अद्‌भुत स्थान हो । एकदिन नारदमुनि विष्णुसामु गए र भने, “तपाईं मानवजातिको लागि खराब उदाहरण बन्नुभएको छ । तपाईं जतिबेला पनि आदिशेष (शेषनाग) माथि सुतिरहनु हुन्छ । तपाईंकी अर्धाङ्गिनी लक्ष्मी लगातार तपाईंको सेवा गरिरहनु हुन्छ । उनले तपाईंलाई टाउकोमा चढाउनुभएको छ । तपाईं सृष्टिका अन्य प्राणीहरूको लागि राम्रो उदाहरण बन्नुभएको छैन । सृष्टिका सबै प्राणीहरूको लागि तपाईंले केही अर्थपूर्ण काम गर्नुपर्छ ।”

यो आलोचनाबाट बच्न अनि आफ्नो उत्थानको लागि काम गर्न भनेर विष्णु तपस्या र साधना गर्नको लागि सही स्थान खोज्दै तल हिमालयतर्फ गए— देवताहरूले समेत यस्तो गर्नुपर्ने हुन्छ ! उनले बद्रीनाथ फेला पारे, जहाँ एउटा सानो चिटिक्क परेको घर थियो, जुन उनले चाहेकै जस्तो थियो । उनलाई त्यो ठाउँ साधनाको लागि अति उपयुक्त लाग्यो । उनी घरभित्र पसे । भित्र छिर्नेबित्तिकै उनले थाहा पाए कि त्यो शिवको निवास थियो— थाहै छ, शिव खतरनाक छन् ! यदि उनी क्रोधित भए भने, उनले तपाईंको मात्र नभई आफ्नै घाँटी समेत काट्न सक्छन् । शिव त्यति भयानक छन् ।

त्यसैले, विष्णुले सानो बच्चाको रूप लिए अनि घरको अगाडि बसे । त्यसबेला, शिव र पार्वती कतै बाहिर घुम्न गएका थिए । फर्किएर आउँदा दुवैले आफ्नो घरको आँगनमा सानो बच्चा जोडले रोइरहेको देखे । बच्चा त्यसरी रोइरहेको देखेर पार्वतीमा मातृसुलभ गुण उर्लियो । पार्वतीले बच्चा बोक्न जानै लाग्दा, शिवले उनलाई रोक्दै भने, “त्यो बच्चालाई नछोऊ ।” पार्वतीले भनिन्, “तपाईं कस्तो निर्दयी ! त्यस्तो कसरी भन्न सक्नुहुन्छ ? हेर्नु त कसरी रोइरहेको छ । म बच्चालई उठाएर ल्याउँछु ।” शिवले भने, “तिमीले जे देखिरहेकी छौ, त्यसमा भरोसा नगर । मैले भनिरहेको छु कि त्यो बच्चालाई नछोऊ । यो ठीक खाले बच्चा होइन । ऊ हाम्रो घरको आँगनमा कसरी आफैँ आइपुग्यो ? यहाँ वरपर अरू कोही छैनन्, हिउँमा उसका आमाबुबाको पाइलाको छाप पनि छैन । यो बच्चा नै होइन ।” तर, बच्चाको लागि पार्वतीको मातृसुलभ भावनाले गर्दा उनले शिवको कुरा पत्याइनन् अनि भनिन्, “तपाईंले जेसुकै भनेपनि मलाई फरक पर्दैन । म भित्रको आमाले बच्चालाई यसरी रोइरहेको हेर्न दिँदैन । म बच्चालाई उठाउँछु ।” यति भनेर उनले बच्चालाई उठाएर काखमा राखिन् । बच्चा उनको काखमा आरामसँग बसेर शिवतर्फ मुस्कुराउँदै हेरिरह्यो । शिवलाई यसको नतिजा के हुनेछ भनेर थाहा थियो, तैपनि के नै गर्न सकिन्थ्यो र ? उनले भने, “ठीक छ । हेरौँ अब के हुन्छ ।”

पार्वतीले बच्चालाई थपथपाउँदै शान्त पारिन् र खुवाइ–पिलाइ गरिन् । अनि उसलाई घरमै छोडेर शिवसँग नजिकैको तातोपानी भएको कुण्डमा नुहाउन गइन् । नुहाएर फर्किँदा घर भित्रबाट थुनिएको थियो । अब खेल शुरु भयो भन्ने कुरा शिवलाई प्रष्टै थाहा थियो । पार्वतीले चकित पर्दै भनिन्, “कसले ढोका थुन्यो ?” शिवले भने, “मैले तिमीलाई भनेकै थिएँ कि त्यो बच्चालाई नउठाऊ । तिमीले उसलाई घरभित्र ल्यायौ, अब उसैले बन्द गरिदियो ।” पार्वतीले भनिन्, “अब के गर्ने ?”

पार्वतीले भनिन्, “अब के गर्ने ?”

शिवसामु दुईवटा विकल्पहरू थिए: एउटा, आफ्नो अगाडि भएको सबैथोक भष्म गरिदिने । अर्को, त्यहाँबाट निस्किएर केही अरू उपाय खोज्ने । उनले भने, “हिँड, अन्त कतै जाऔँ । त्यो तिम्रो प्यारो बच्चा भएकोले मैले त्यसलाई केही गर्न सक्दिनँ ।”

यसरी शिव र पार्वतीलाई अवैध रूपमा त्यहाँबाट निष्काषित गरियो । उनीहरू बासस्थान खोज्दै यताउति डुल्न थाले अनि अन्तत: केदारनाथमा आएर बस्न थाले । यसरी शिवले आफ्नै घर गुमाए । तपाईंमा यो प्रश्न उब्जिएको होला— के उनलाई थाहा थिएन ? तपाईंलाई धेरै कुराहरू थाहा हुन्छ, तैपनि तपाईं तिनलाई हुन दिनुहुन्छ ।

जब विष्णुले शिवलाई कठिनाइबाट बाहिर निकाले

योग–कथामा यस्ता थुप्रै कथाहरू छन्, जसमा बताइएको छ कि शिवले सबैप्रति समान करुणा–भाव व्यक्त गर्थे अनि जोसुकैको इच्छाप्रति बच्चाले जसरी भोलापन देखाउँथे । गजेन्द्र नाम गरेका एउटा असुर थिए । गजेन्द्रले निकै कठोर तपस्या गरे अनि जुनसकै समयमा बोलाउँदा शिव उनीसमक्ष उपस्थित हुनेछन् भनेर शिवबाट वरदान पाए । गजेन्द्रले स-साना कुराहरूको लागि पनि शिवलाई पुकार गरेको देखेर तीनै लोकमा उट्पट्याङ गर्न माहिर ऋषि नारदमुनिले गजेन्द्रसँग ठट्टा गर्ने विचार गरे ।

उनले गजेन्द्रलाई भने, “तिमी किन शिवलाई बारम्बार बोलाइरहन्छौ ? उहाँ तिम्रो हरेक पुकारमा आइरहनु परेको छ । बरु, तिमी उहाँलाई तिमीभित्रै प्रवेश गरेर सधैँभरि त्यहीँ बसिरहन किन भन्दैनौँ ? यसो गर्दा उहाँ सधैँ तिमी भित्रै रहनुहुनेछ ।” गजेन्द्रलाई यो विचार राम्रो लाग्यो अनि उनले शिवको प्रार्थना गरे । जब शिव उनीसामु प्रकट भए, गजेन्द्रले भने, “तपाईं मभित्रै बस्नुपर्छ । तपाईं कतै जान पाउनुहुन्न ।” आफ्नो भोलापनमा शिवले स्वीकार गरे अनि लिङ्गको रूपमा गजेन्द्रभित्र प्रवेश गरी त्यहीँ रहन थाले ।

त्यसपछि, जसैजसै समय बित्दै गयो, पूरै ब्रह्माण्डले शिवको अभाव महसुस गर्न थाल्यो । उनी कहाँ छन् भनेर कसैलाई थाहा थिएन । सबै देवता र गणहरूले शिवलाई खोज्न थाले । निकै खोजी गर्दा पनि उनी कहाँ छन् भन्ने पत्ता लगाउन नसकेपछि, समाधानको लागि सबैजना विष्णुसमक्ष पुगे । विष्णुले उनीहरूको कुरा सनेपछि भने, “शिव गजेन्द्रको भित्र हुनुहुन्छ ।” तब देवताहरूले कसरी शिवलाई गजेन्द्रबाट बाहिर निकाल्न सकिन्छ भनेर सोधे, किनकि शिवलाई आफूभित्र राखेर गजेन्द्र अमर भएका थिए ।

सदाझैँ, विष्णुले सही उपाय निकाले । देवगणहरू शिव–भक्तको रूप धारण गरी गजेन्द्रको राज्यमा गए अनि पूरै भक्तिभावमा शिवको भजन गाउन थाले । गजेन्द्र समेत शिवका महान भक्त भएकाले, उनले ती मानिसहरूलाई आफ्नो दरबारमा आएर भजन–कीर्तन र नाचगान गर्न निम्तो दिए । शिवका भक्तहरूको भेषमा आएका देवताहरूको समूहले पूरै भक्तिभावमा शिवका लागि भजन, पूजा आराधना र नृत्य गरे । शिव, जो गजेन्द्रको भित्र रहेका थिए, उनले आफूलाई थामिरहन सकेनन् । उनले भक्तहरूको पुकारलाई जवाफ दिनैपर्ने भयो । अत: उनले गजेन्द्रलाई टुक्राटुक्रा पारी बाहिर निस्किए ।

शिवप्रति विष्णुको भक्ति

शिवलाई देवता र राक्षस, सुर र असुर, श्रेष्ठ र अधम दुवै थरीले पूज्दछन्— सबैका लागि उनी महादेव हुन् । स्वयं विष्णुले पनि उनको पूजा गर्दथे । शिवप्रति विष्णुको भक्ति बताउने सुन्दर कथा प्रस्तुत गरिएको छः

एकपटक विष्णुले शिवलाई १००८ वटा कमलको फूल अर्पण गर्ने सङ्कल्प गरे । उनी कमलको फूल खोज्न हिँडे । पूरै संसारमा खोज्दा पनि उनले केवल १००७ वटा कमलको फूल पाए । एउटा फूल अझै कम थियो । उनले सबै फूलहरू शिवसामु चढाए । शिवले आफ्ना आँखा खोलेनन् । उनी यत्तिकै मुस्कुराइरहे, किनकि एउटा कमल कम थियो । तब विष्णुले भने, “मलाई कमलनयन भनेर चिनिन्छ, जसको अर्थ हो कमलको फूल जस्तो आँखा भएको । मेरा आँखा कमलको फूलझैँ सुन्दर छन् । त्यसैले, म आफ्नो एउटा आँखा चढाउँछु ।” यति भनेर उनले तत्कालै आफ्नो दायाँ आँखा निकालेर लिङ्गमा अर्पण गरे । यस किसिमको अर्पणबाट प्रसन्न भएर शिवले विष्णुलाई सुदर्शन चक्र प्रदान गरे ।

सम्पादकीय: आदियोगी शिवको बारेमा रोचक कथाहरू पढ्नको लागि यहाँ जानुहोस्

Dont want to miss anything?

Get the monthly Newsletter with exclusive shiva articles, pictures, sharings, tips
and more in your inbox. Subscribe now!