शिवलाई किन महादेव भनिन्छ ?

article शिव–विशेष
किन आदियोगी शिवलाई देवहरूका पनि देव, महादेव भनिन्छ ? आउनुहोस् जानौँ...

 

सद्‌गुरु: केही समयअघि कसैले मलाई सोधेका थिए कि के म आदियोगी शिवको फ्यान हुँ ? फ्यान क्लब त्यतिखेर शुरु हुन्छ, जब मानिसहरू भावनात्मक रूपमा कसैप्रति आशक्त हुन्छन् । म निश्चय पनि उनको फ्यान होइन । त्यसोभए के हो त ? वास्तविक कुरा अर्कै छ, तर म तपाईंको निम्ति सहज रूपमा प्रस्तुत गर्छु ।
कुनै पनि पिँढीमा कोही व्यक्तिले त्यस पिँढीको लागि वा आउने पिँढीहरूको लागि दिएको योगदानको आधारमा उसलाई महत्त्व दिइने गरिन्छ । यस धरतीमा कयौँ अद्‌भुत मानिसहरू आएका थिए, जसले अरू मानिसहरूको जीवनमा विभिन्न तरिकाले योगदान गरेका छन् । समयको आवश्यकता अनुसार कसैले प्रेमको लहर ल्याए, कसैले ध्यानको लहर ल्याए, कसैले आर्थिक समृद्धिको लहर ल्याए ।

यदि तपाईंले इतिहास हेर्नुभयो भने, थुप्रै महापुरुषहरूले यस धरतीमा पाइला चालेका थिए । तर, त्यस समयको उथलपुथल, त्यस समयको आवश्यकता वा त्यस समयमा व्याप्त दुराचारको कारण उनीहरू महत्त्वपूर्ण बनेका हुन् । यदि तपाईंले गौतम बुद्धको सन्दर्भमा हेर्नुभयो भने, त्यसबेलाको समाज कर्मकाण्ड र अनुष्ठानको प्रक्रियाहरूमा जकडिएको हुनाले, जब उनले कुनैपनि कर्मकाण्ड र अनुष्ठान संलग्न नरहेको आध्यात्मिक प्रक्रिया प्रस्तुत गरे, त्यो अत्यन्तै लोकप्रिय भयो । यदि त्यस समाजमा खासै कर्मकाण्ड र अनुष्ठानको प्रक्रियाहरू नभएको भए, उनको प्रक्रिया नौलो कुरा हुने थिएन र त्यस हदसम्म महत्त्वपूर्ण बन्ने थिएन ।

कयौँ रूपहरूमा कृष्णको महत्त्व अत्यन्तै विशाल थियो । यद्यपि, यदि त्यस समाजमा कुनै कलह नभएको भए, यदि पाण्डव र कौरवहरूको बिचमा युद्ध नभएको भए उनको प्रभाव अत्यन्तै सामान्य हुने थियो । उनी यति विशाल बन्ने थिएनन् । अथवा, रामको सन्दर्भमा हेर्ने हो भने सीताको अपहरण नभएको भए, उनी पनि त्यो राज्यको सामान्य राजा हुने थिए, सायद एकदमै राम्रो राजाको रूपमा सम्झिइन्थे, वा केही समयपछि मानिसहरूले उनलाई बिर्सिन्थे होला । यदि त्यो सम्पूर्ण युद्ध र लङ्कादहन नभएको भए उनको जीवन त्यति धेरै सान्दर्भिक हुने थिएन ।

आदियोगी को महत्त्व

आदियोगी शिवको महत्त्व यही हो— त्यस्ता कुनै घटनाहरू भएका थिएनन् । न झैझगडा, न त युद्ध । त्यस समयको आवश्यकताप्रति उनको कुनै चासो थिएन । मानव चेतनालाई माथि उठाउनको लागि उनले यस्ता साधन र विधिहरू प्रदान गरे, जुन सधैँभरी सान्दर्भिक र महत्त्वपूर्ण रहनेछन् । जब मानिसहरू खाना, प्रेम वा शान्तिबाट वञ्चित हुन्छन् अनि जब तपाईं उनीहरूको अभावलाई पूरा गरिदिनुहुन्छ, तब तपाईं अद्‌भुत मानिस बन्नुहुन्छ । तर, जब त्यस्ता अभावहरू हुँदैनन्, आफूलाई कसरी माथि उठाउँदै लैजाने भन्ने कुरा नै अन्तत: मनुष्यको निम्ति सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।

हामी शिवलाई मात्र महादेव भन्छौँ, किनकि उनले मानवताको लागि जे प्रदान गरेका छन्, त्यसको बुद्धिमत्ता, दुरदर्शिता र ज्ञान सर्वोत्कृष्ट छ । तपाईं कहाँ जन्मिनुभयो, तपाईंको धर्म, जाति वा सम्प्रदाय के हो, तपाईं महिला हो वा पुरुष भन्ने कुराले केही फरक पार्दैन— यी विधिहरूलाई सदैव प्रयोग गर्न सकिन्छ । यदि मानिसहरूले उनलाई बिर्सिए भनेपनि, उनीहरूले यही विधिहरू प्रयोग गर्नुपर्ने हुन्छ किनकि उनले मानव संयन्त्रभित्रको कुनै पनि चीजलाई अछुतो छाडेका छैनन् । उनले कुनै शिक्षा दिएनन् । उनले त्यस समयको लागि भनेर कुनै समाधानहरू दिएनन् । जब मानिसहरू आफ्ना अनेकथरीका समस्याहरू लिएर उनी समक्ष पुग्दथे, अलिकति पनि सरोकार नराखी उनी आँखा चिम्लिएर बस्दथे ।

मनुष्यको प्रकृतिलाई जान्ने वा बोध गर्ने सन्दर्भमा, हरेक किसिमको मानिसको निम्ति एउटा मार्ग प्रदान गर्ने सन्दर्भमा यो वास्तवमै शाश्वत (सधैँभरीको लागि) योगदान हो— यो निश्चित समयको लागि वा अर्को समयको लागि भनेर गरिएको योगदान होइन । सृष्टि अर्थात् जे केही पनि थिएन, त्यो कुनै चीजमा जेलिँदै गयो । आदियोगी शिवले जेलिएको गाँठो फुकाएर सृष्टिलाई सृष्टिविहीन अवस्थामा फर्काउने तरिका पत्ता लगाए ।

आदियोगीलाई किन शिव भनिएको हो ?

यसैकारण हामी आदियोगीलाई शि-व भन्छौँ— शिव अर्थात् “त्यो जुन छैन ।” जब “त्यो जुन छैन” केही बन्यो वा “त्यो जुन छ” बन्यो, हामीले त्यस आयामलाई ब्रह्मा भन्यौँ । परम–मुक्ति सम्म पुग्नको लागि वा भनौँ ‘केही हुनु’ बाट ‘केही नहुनु’ को अवस्थामा पुग्नको लागि शिवले एउटा मात्र नभई सम्भव भएजति सबै विधि र तरिकाहरू प्रदान गरेका थिए ।

शिव कुनै नाम होइन; यो परिभाषा हो । कसैलाई डाक्टर, वकिल वा इन्जिनियर भने जस्तै हामी भन्छौँ कि उनी शिव हुन्, अर्थात् जसले जीवन विघटन गर्छन् । यसलाई अलिकति गलत व्याख्या गरिएर जीवन विनाश गर्ने भनेर चित्रण गरियो । यद्यपि, एक प्रकारले त्यो पनि सही हो । कुरा यत्ति हो कि जब तपाईं “विनाशक” शब्द प्रयोग गर्नुहुन्छ, मानिसहरू यसलाई नकारात्मक रूपमा लिन्छन् । यदि “मुक्तिदाता” भनिएको भए, यसलाई सकारात्मक रूपमा लिइने थियो । बिस्तारै, “विघटन गर्ने” लाई “विनाश गर्ने” भनियो, अनि मानिसहरूले उनी नकारात्मक हुन् भनेर सोच्न थाले । तपाईं चाहे जेसुकै भन्नुहोस्, उनलाई त्यसप्रति चासो छैन— किनकि, प्रज्ञाको प्रकृति यस्तै हुन्छ ।

यदि तपाईंको बुद्धिमत्ता निश्चित उचाइमा पुग्यो भने, तपाईंलाई कुनै पनि नैतिकता जरूरी हुँदैन । बुद्धिमत्ता अभाव भयो भनेमात्र, तपाईंले मानिसहरूलाई यो नगर्नू, त्यो नगर्नू भन्नुपर्छ । यदि कसैको बुद्धिमत्ताको स्तर माथि उठेको छ भने, उनीहरूलाई के गर्नुपर्छ र के गर्नुहुँदैन भनेर भन्नुपर्दैन । के गर्नुपर्छ अनि के गर्नुहुँदैन भन्नेबारे शिवले एक शब्द पनि बोलेका छैनन् । योग पद्धतिमा उल्लेखित यम र नियमहरू पतञ्जलिले बनाएका हुन्, आदियोगीले होइन । पतञ्जलि निकै पछि आएका हुन् । पतञ्जलि हाम्रा लागि यसकारण महत्त्वपूर्ण छन्, किनकि त्यसबेला योगमा यति धेरै शाखा र उप–शाखाहरू थिए कि त्यो हास्यास्पद थियो । जस्तै कि २५-३० वर्षअघि तपाईंलाई मेडिकल जाँच गराउनु परेको भए, एकजना मात्र डाक्टर भए पुग्थ्यो । अहिले तपाईंलाई १२-१५ जना डाक्टरहरू चाहिन्छन्— एकजना हड्डीको लागि, अर्का मांसपेशीको लागि, अर्का रगतको लागि, अर्का मुटुको लागि, अर्का आँखाका लागि । यो यसरी नै बाँडिदै जानेछ ।

मानौँ अर्को सय वर्षमा हरेक कुरालाई छुट्टाछुट्टै विशेषज्ञहरूले हेर्न थाले भने, एउटा मेडिकल जाँच गराउन तपाईंलाई १५० जना डाक्टरहरू चाहिने हुन्छ । तब तपाईं त्यहाँ जान चाहनुहुन्न, किनकि १५० जना डाक्टरहरूसँग समय लिएर, जाँच गराएर, १५० वटा धारणाहरू व्यवहारमा लागू गरुन्जेल त्यसले केही अर्थ राख्दैन । तब कसैले यी सबैलाई एकै ठाउँमा समेट्ने अनि एउटा पारिवारिक डाक्टर राख्ने कुरा अघि सार्न सक्छन् । पतञ्जलीले त्यसै गरेका हुन् ।

यस्तो भनिन्छ कि त्यस समयमा योगका १८०० वटा शाखाहरू थिए । तपाईंले सम्पूर्ण प्रक्रियाहरू सिक्न चाहेको खण्डमा तपाईं १८०० वटा योग पाठशालाहरूमा गएर १८०० किसिमका योगहरू गर्नुपर्थ्यो । त्यो असाध्यै अव्यवहारिक र हास्यास्पद बन्न पुग्यो । त्यसैले, पतञ्जलीले अष्टाङ्ग योग अर्थात् योगका आठवटा अङ्गहरू अभ्यास गर्नको लागि सबैथरीका योगलाई समेटेर २०० वटा सुत्रहरू निर्माण गरे, जसलाई पतञ्जली योग सूत्र भनिन्छ । तर, यदि त्यस समयमा त्यस्तो स्थिति नभएको भए पतञ्जलीको महत्त्व हुने थिएन । आदियोगी शिवको सन्दर्भमा त्यस्तो भएको छैन, किनकि जीवनमा जस्तोसुकै परिस्थितिहरू भएपनि शिव सदैव सान्दर्भिक छन्, हाम्रो लागि महत्त्वपूर्ण छन् । अत: उनी महादेव हुन् ।

सम्पादकीय: आदियोगी शिवको बारेमा रोचक कथाहरू पढ्नको लागि यहाँ जानुहोस्