शिव— पूर्ण तपस्वी र उत्तम गृहस्थ

article शिव–विशेष
आदियोगी शिव एक भयङ्कर तपस्वी थिए, जो आफूले जानेको र अनुभव गरेको कुरालाई संसारमा सबैसामु बाँड्न र ज्ञानको मेरुद्दण्ड निर्माण गर्नको लागि गृहस्थ बने— सोही ज्ञानको भण्डारलाई आज योग भनिन्छ ।

सद्‌गुरु: शिव पुराणमा उल्लेख गरिएअनुसार आदियोगी शिव एक सन्यासी र घोर तपस्वी थिए, जो खोपडीहरूको माला लगाएर चिहानमा घुमिरहन्थे । उनी असाध्यै भयानक थिए, जसकारण कसैले पनि उनको नजिक जाने आँट गरेनन् । तब, सबै देवताहरूले उनको अवस्थालाई हेरे र सोचे, “यदि शिव यही अवस्थामा रहने हो भने, बिस्तारै उनको ऊर्जा र कम्पनले सारा संसारलाई प्रभावित गर्नेछ अनि सबैजना तपस्वी बन्न थाल्ने छन् । यो बोध र मुक्तिको सन्दर्भमा त उचित छ, तर हाम्रो के हाल हुने हो ? हाम्रो खेल समाप्त हुनेछ । हामीले चाहेका कुराहरूमा मानिसहरूको कुनै चासो हुने छैन । तब हामी आफ्नो खेल खेल्न सक्दैनौँ, तसर्थ हामीले केही गर्नैपर्छ ।”

अनेक पटक विन्तिभाउ र अनुनय–विनय गरेपछि, जसोतसो उनीहरूले सतीसँग शिवको विवाह गराइदिए । यो विवाहपछि, उनी आंशिक रूपमा गृहस्थ बने । केही यस्ता क्षणहरू हुन्थे, जब उनी एकदमै जिम्मेवार गृहस्थ बन्दथे; केही यस्ता क्षणहरू हुन्थे, जब उनी एक गैर–जिम्मेवार तरिकाले नशामा मदमत्त रहन्थे; केही यस्ता क्षणहरू हुन्थे, जब उनी यति क्रुद्ध बन्दथे कि मानौँ उनको आक्रोशको ज्वालाले अस्तित्व नै जलाउन सक्थ्यो; केही यस्ता क्षणहरू पनि हुन्थे, जब उनी सम्पूर्ण अस्तित्वको निम्ति असाध्यै शान्त र सुखदायक बन्दथे । उनी फरक–फरक अवस्थाहरूमा हुन्थे ।

सती उनलाई पूर्ण रूपमा सम्हाल्न असमर्थ थिइन् । केही समयपछि परिस्थितिले यस्तो मोड लियो, जहाँ सतीले आफूलाई अग्निमा होमेर शरीर छोडिन् अनि शिव एकपटक पुन: अत्यन्तै भयङ्कर तपस्वी बने— पहिलेभन्दा अझ बढी भयानक र दृढ । अब सम्पूर्ण विश्व तपस्वी हुने खतरा झन् प्रबल बन्यो र देवताहरू निकै चिन्तित भए ।
देवताहरू शिवलाई फेरि पनि विवाह बन्धनमा पार्न चाहन्थे । त्यसैले, उनीहरूले देवी माताको पूजा गरे अनि पार्वतीको रूप धारण गर्न आग्रह गरे । देवीले पार्वतीको रूपमा जन्म लिइन्, जसको जीवनको एकमात्र लक्ष्य थियो— शिवसँग विवाह गर्ने । उनी हुर्किँदै गइन् अनि अनेक तरिकाहरूले शिवलाई आकर्षित गर्ने कोशिस गरिन्, तर उनी सफल भइनन् । तब देवताहरूले कामदेवको सहयोगले जसोतसो शिवलाई प्रभावमा पारे, अनि आफू अलिकति कोमल बनेको क्षणमा शिव फेरि गृहस्थ बने । त्यस समयपछि शिवले आफूभित्र अत्यन्तै तालमेल र सन्तुलन कायम गरी तपस्वी र गृहस्थ दुवैको भूमिका निर्वाह गर्न थाले ।

अनेकौँ विचित्र र अन्तर्निहीत रूपहरूमा शिवले पार्वतीलाई आत्मज्ञानको अवस्थामा पुग्ने तरिका प्रसारित गर्न थाले । पार्वती परम–आनन्दको अवस्थामा पुगिन् । तर, जस्तो कि हरेकको सन्दर्भमा यस्तो हुने गर्दछ, एकपटक जब तपाईं शिखरमा पुग्नुहुन्छ र तल हेर्नुहुन्छ, शुरुमा तपाईं परम–आनन्दले अभिभूत बन्नुहुन्छ; केही समयपछि करुणाले तपाईंलाई अभिभूत गर्दछ अनि तपाईं त्यसलाई सबैसँग बाड्न चाहनुहुन्छ । तपाईंमा कुनै न कुनै रूपमा हरेकले यो अनुभव गर्नुपर्छ भन्ने चाहना जागृत हुन्छ ।

शिव किन गृहस्थ बने ?

महाशिवरात्रि, शिव र पार्वतीको विवाह भएको दिन हो । आदियोगी एक तपस्वी थिए, जसको परम वैराग्य यसदिन कामनाले भरियो, किनकि उनमा आशक्तिको डर थिएन । र, यही कामना उनको लागि आफ्नो ज्ञान र बोधको भण्डार अरूसँग बाँड्ने साधन बन्यो ।

पार्वतीले संसारलाई हेरिन् र शिवलाई भनिन्, “तपाईंले मलाई जे प्रदान गर्नुभएको छ, त्यो साँच्चिकै अद्‌भुत छ, यो सबैमाझ पुग्नुपर्छ । तर, म यति बुझ्न सक्छु कि तपाईंले ममा जुन रूपमा यो ज्ञान प्रसारित गर्नुभएको छ, तपाईं सम्पूर्ण संसारलाई सोही तरिकाले प्रसारित गर्न सक्नुहुन्न । विश्वमाझ यसलाई प्रदान गर्न तपाईंले अर्को विधि निकाल्नुपर्ने हुन्छ ।” तब शिवले योग–प्रणालीलाई अगाडि बढाए । उनले सातजना शिष्यहरू वा सप्तऋषिहरूलाई आत्मज्ञानको विज्ञान बताए । त्यस समयदेखि, योग आत्मज्ञान प्राप्त गर्ने विज्ञान बन्यो— यो एकदमै व्यवस्थित र विज्ञानमा आधारित भएको हुनाले सबैलाई प्रदान गर्न सकिने भयो ।

अत: शिवद्वारा दुईवटा प्रणालीहरू विकास गरियो— तन्त्र र योग । उनले आफ्नी अर्धाङ्गिनी पार्वतीलाई तन्त्र सिकाए । तन्त्र अत्यन्तै आन्तरिक हुन्छ, जसलाई एकदमै निकट मानिसहरूको समूहमा मात्र गर्न सकिन्छ, जबकि योग व्यापक रूपमा सबैमाझ प्रसारित गर्न सकिन्छ । यो हाम्रो सेरोफेरोको संसारमा, विशेषगरी अहिलेको समयमा निकै बढी उपयुक्त छ । यसैकारण, आज पनि शिवलाई योगको पहिलो गुरु वा आदिगुरु भनिन्छ ।

सम्पादकीय: आदियोगी शिव बारे रोचक कथाहरू पढ्न यहाँ जानुहोस्