महाशिवरात्रि कथाहरू— तपाईंलाई रातैभरि जागा राख्नको निम्ति !

article शिव–कथाहरू
योग–परम्परामा, थुप्रै शिव–कथाहरू रहेका छन्, जसले प्रतीकात्मक तरिकाले अमूल्य ज्ञान प्रदान गर्दछन् । प्रस्तुत छ त्यस्तै केही शिव–कथाहरूः

#१ शिव र गोरुगाडा

सद्‌गुरुः यो लगभग ३०० वर्ष अगाडिको कुरा हो । भारतको कर्नाटकमा दक्षिण क्षेत्रतिर एकजना भक्त बस्दथे । उनको आमाको उमेर ढल्किँदै थियो । उनी काशी जान चाहन्थिन् र विश्वनाथको काखमा (शिवको काखमा) प्राण त्याग्न चाहन्थिन् । उनले आफ्नो जीवनमा कहिल्यै केही कुरा मागेकी थिइनन्, तर यो एउटा कुराको लागि उनले आफ्नो छोरासँग आग्रह गरिन् । उनले भनिन्, “मलाई काशी लैजाऊ । म बुढी हुँदै छु । म त्यहाँ गएर मर्न चाहन्छु ।”

उसले आफ्नी बुढी आमालाई लिएर जङ्गलको बाटो हुँदै दक्षिण कर्नाटकबाट काशीतर्फ लाग्यो— निकै लामो दुरी ! बुढी भएकीले आमा बिरामी परिन् । त्यसैले, उसले आफ्नी आमालाई काँधमा बोकेर हिँड्न थाल्यो, अनि अवश्य नै केही समयपछि उसको ऊर्जा रित्तिँदै गयो । तर, ऊ एउटै तरिकाले आफूलाई हिँडाइरहेको थियो—शिवसँग अनुनय विनय गरेर, “शिव, कृपया मलाई यो एउटा प्रयासमा असफल हुन नदिनुहोस् । मेरी आमाले मसँग यही एउटा कुरा माग्नु भएको छ, मलाई यो पूरा गर्न दिनुहोस् । म उहाँलाई काशीसम्म पुऱ्याउन चाहन्छु । हामी त्यहाँ केवल तपाईंको निम्ति आइरहेका छौँ । कृपया मलाई शक्ति दिनुहोस् ।”

त्यसपछि, जसैजसै ऊ हिँडिरहेको थियो, उसले घण्टीको आवाज सुन्यो, पछाडिबाट गोरुगाडा आउँदा सुनिने आवाज जस्तै । उसले तुवाँलो (हुस्सु) बाट गोरुगाडा आउँदै गरेको देख्यो, जुन एउटा मात्र गोरुले तानिरहेको थियो । यो विचित्रको कुरा थियो, किनकि त्यस क्षेत्रमा केवल छोटो दुरीको यात्राको लागि तपाईंले एउटा गोरुले गाडा तानेको देख्नुहुनेछ । जब जङ्गलको बाटो भएर लामो दुरीको यात्रा गर्नुपर्ने हुन्छ, तब सधैँ दुईवटा गोरुहरू प्रयोग गरिन्छ । तर, जब तपाईं त्यस हदसम्म थाक्नुहुन्छ, तब यी सबैथोक प्रति वास्ता गर्नुहुन्न । गाडा नजिकै आइपुग्यो, तर कुहिरो लागेकोले अनि चालकको अनुहार छोपिएको हुनाले उसले चालक को हो भनेर चिन्न सकेन ।

त्यस व्यक्तिले भन्यो, “मेरी आमालाई सञ्चो छैन । के हामी तपाईंको यो खाली गाडामा चढ्न सक्छौँ ?” चालकले हुन्छ भन्ने सङ्केत दियो । उनीहरू दुवैजना चढे अनि गाडा चल्न थाल्यो । केही समयपछि, उसले यो चाल पायो कि जङ्गलको बाटोमा पनि गाडा निकै आरामपूर्वक चलिरहेको थियो । उसले तल हेऱ्यो अनि देख्यो— चक्काहरू घुमिरहेका थिएनन् । ती अचल थिए, तर गाडा चलिरहेकै थियो ! त्यसपछि, उसले गोरुलाई हेऱ्यो; गोरु बसिरहेको थियो, तैपनि गाडा चलिरहेको थियो । अनि, उसले चालकतर्फ हेऱ्यो । छोप्ने कपडा मात्र देखिएको थियो, तर त्यसभित्र कोही पनि थिएन । उसले आफ्नी आमातिर हेऱ्यो । आमाले भनिन्, “अरे मूर्ख ! हामी त्यहाँ पुगिसक्यौँ । अब अन्त कतै जान जरूरी छैन । यही त्यो ठाउँ हो, मलाई जान देऊ ।” अनि, आमाले ठीक त्यहीँ आफ्नो शरीर त्यागिन् । गोरु, गाडा र चालक सबै अदृश्य भए !

ऊ गाउँ फर्कियो । मानिसहरूले सोच्न थाले, “यो यति छिटो फर्किएको छ । यसले आफ्नी आमालाई बाटोमै कतै मिल्काएर आएको हुनुपर्छ । यसले पक्कै पनि उनलाई काशी लगेन।” उनीहरूले उसलाई सोधे, “आफ्नी आमालाई कता छोडेर आइस् ?” उसले भन्यो, “होइन, हामी कतै जानै परेन, शिव स्वयं हाम्रो निम्ति आउनुभयो ।” उनीहरूले भने, “वाइयात कुरा !” उसले भन्यो, “तपाईंहरूले जेसुकै सोचे पनि त्यसले केही फरक पार्दैन । उहाँ हाम्रा लागि आउनुभयो, र त्यही सबैथोक हो । मेरो जीवन जगमग भएको छ । त्यो कुरालाई मैले आफूभित्र अनुभव गरेको छु । यदि तपाईंहरूले त्यसलाई अनुभव गर्नुभएको छैन भने, त्यो तपाईंहरूको समस्या हो ।” त्यसपछि, उनीहरूले सोधे, “ठीक छ, त्यसोभए हामीलाई केही देखाऊ । हामीलाई कुनै न कुनै तरिकाले यो प्रमाणित गर कि तिमीले साँच्चिकै शिवलाई देखेका थियौ वा उहाँ तिम्रो निम्ति आउनुभएको थियो ।” उसले भन्यो, “मलाई थाहा छैन, किनकि मैले उहाँलाई देखिनँ । मैले कपडा मात्र देखेँ, त्यसभित्र कुनै अनुहार थिएन । त्यहाँ केही पनि थिएन, त्यो खाली थियो ।”

त्यसपछि, अचानक सबैले यो चाल पाए कि त्यो व्यक्ति त्यहाँ थिएन । उनीहरूले उसको कपडाहरू मात्र देखे । पछि, त्यही व्यक्ति दक्षिण भारतको महान् सन्त बने । उनी जहाँजहाँ गए, त्यहाँका मानिसहरूले उनलाई खाली अनुहारको रूपमा चिनेँ ।

 

#२ मल्लाः शिव–भक्त साथै एक चोर पनि !

सद्‌गुरुः म तपाईंहरूलाई एउटा योगीको बारेमा बताउँछु, जो म जन्मेको ठाउँ नजिकै बस्दथे । मैले यी व्यक्तिको बारेमा सुनेको थिएँ, साथै त्यहाँ जे–जति घटेको थियो त्यसको बारेमा पनि सुनेको थिएँ— तर, युवा भएको हुँदा मैले त्यसमा खासै ध्यान दिइनँ । भलै त्यो मलाई रोचक लागेपनि, त्यसबेला मैले यसलाई खासै महत्त्व दिइनँ ।

मैसुरबाट १६ किलोमिटर पर अहिलेको प्रसिद्ध नन्जनगढको पारिपट्टी एकजना शिव-भक्त बस्ने गर्दथे । उनको नाम मल्ला थियो । मल्ला कुनै पनि परम्परा अन्तर्गत जोडिएका थिएनन्, अनि उनलाई पूजा वा ध्यानको कुनै पनि औपचारिक विधि थाहा थिएन । तर, बाल्यकालदेखि नै यदि उनले आँखा बन्द गरे भने, उनी केवल शिवको आकृति देख्ने गर्दथे । सम्भवतः उनको निम्ति भक्त शब्द त्यति उपयुक्त हुँदैन । उनी जस्तै अरू लाखौँ छन् । उनीहरू शिवका बन्दीहरू हुन् । उनीहरूसँग कुनै विकल्प हुँदैन । सायद, म पनि उनको फन्दामा परेको हुँ । हामीले उनको खोज गरेका थिएनौँ— हामी यति अभिमानी थियौँ कि केही खोज गर्नै सक्दैनथ्यौँ, यद्यपि हामी उनीबाट बन्दी बनाइएका हौँ । शिव शिकारी थिए । उनले जनावरहरूलाई मात्र नभई मानिसहरूलाई समेत जालमा पार्दथे । मल्ला तीमध्ये एक हुन् ।

मल्लालाई शिव मात्र थाहा थियो, अरू केही होइन । उनले कुनै विशेष कला–कौशल सिकेनन्, उनी बर्बर हुँदै गए । कसैलाई बाटैमा रोक्नु र उनीहरूबाट आफूलाई आवश्यक पर्ने सबै सामानहरू जफत गर्नमा उनलाई गलत लाग्दैनथ्यो । त्यसैले, उनले त्यो गतिविधि जारी राखे अनि एउटा लुटेराको रूपमा कुख्यात भए ।

जुन जङ्गलको बाटो मानिसहरू आवात-जावत गर्दथे, उनी त्यस ठाउँको नियमित लुटेरा बनेका थिए । जुन ठाउँमा बसेर उनी शुल्क उठाउने गर्दथे, त्यो स्थानलाई ‘कल्लनमूलई’ अर्थात् ‘चोरको अड्डा’ भनेर चिनिन्थ्यो । शुरु–शुरुमा मानिसहरूले उनलाई तथानाम भनेर सराप्ने गर्थे, तर जब बर्षको अन्तिम समय आउँथ्यो, आफूले लुटेको सम्पूर्ण धन महाशिवरात्रिको उत्सव मनाउन खर्च गरिन्थ्यो । उनले सबैका लागि भोजभतेर आयोजना गर्दथे ।

तसर्थ, केही वर्षपछि मानिसहरूले उनलाई महान् भक्तको रूपमा चिन्न थाले अनि स्वेच्छाले योगदान दिने गर्थे । जो–जसले स्वेच्छाले योगदान दिँदैनथे, उनीहरूलाई थर्काएर लिनमा उसलाई केही गलत लाग्दैनथ्यो !

केही वर्षपछि, दुईजना योगीहरू (जो भाइहरू थिए) त्यहाँ आए अनि यस व्यक्तिलाई देखे जो लुटेरा थिए, साथै महान् भक्त पनि थिए । उनीहरूले भने, “तिम्रो भक्ति अद्‌भुत छ, तर तिम्रा तरिकाहरूले मानिसहरूलाई आघात पुऱ्याइरहेको छ ।” उनले जवाफ दिए, “म यो सबै केवल शिवको लागि गरिरहेको छु, यसमा के समस्या छ र ? उनीहरूले मल्लालाई राम्रोसँग सम्झाए, उनलाई छुट्टै बसाले अनि निश्चित विधिहरूमा दीक्षित गरे— अनि, त्यो ठाउँलाई कल्लनमूलई बाट मल्लनमूलई मा नामाकरण गरिदिए । आज पनि त्यो ठाउँलाई मल्लनमूलई भन्ने गरिन्छ । त्यहाँ उनले शुरु गरेका महाशिवरात्रि उत्सव त्यो स्थानमा ठूलो पर्व बन्न पुग्यो ।

लुट–मारका सबै गतिविधिहरू त्यागेर योगीहरूसँग बसेको डेढ वर्षभित्रै मल्लालाई महासमाधि प्राप्त भयो । यसरी उनलाई मुक्त गराएपछि, सोही दिन ती योगीहरूले पनि त्यहीँ बसेर आफ्नो शरीर छोडे । उनीहरूको सम्झनामा आज त्यहाँ, काविनी नदीको किनारमा, एउटा सुन्दर मन्दिर निर्माण गरिएको छ जसलाई अझैपनि मल्लनमूलई भनिन्छ ।

 

#३ कुबेर, जो शिवको “महान्” भक्त बने

सद्‌गुरुः कुबेर यक्षहरूका राजा थिए । यक्षहरू मध्यवर्ती जीवन हुन्— उनीहरू न त यहाँको जीवन हुन्, न त जीवनपछि हुने अर्को स्वरूप हुन्— उनीहरू बिचको अवस्थामा हुन्छन् । कथा यसरी अघि बढ्छः रावणले कुबेरलाई लङ्काबाट निकाले, जसकराण कुबेरलाई अन्तै जान पऱ्यो । आफूले गुमाएको राज्य र त्यहाँका प्रजाहरू प्रतिको निराशामा उनले शिवलाई पुकार्न थाले अनि शिवको भक्त बने ।

शिवले, करुणाको भावले उनलाई अर्को एउटा राज्य दिए, साथै संसारभरिको सम्पति दिए— कुबेर संसारकै धनी बने । धन भन्नेबित्तिकै कुबेर भनिन्छ— यहाँ यसैगरी बुझिएको छ । कुबेर महान् भक्त बने, र जब एउटा भक्तमा आफू महान् भक्त हुँ भन्ने भाव हुन्छ, उसले सबैथोक गुमाएको हुन्छ । कुबेरले पनि आफूलाई महान् भक्त ठान्न थाले, किनकि उनी शिवलाई विशाल मात्रामा केही अर्पण गरिरहेका थिए । अवश्य पनि, शिवले केही पनि ग्रहण गरेनन्— विभूति बाहेक । तर, कुबेर चाहिँ आफूलाई महान् भक्त ठानिरहेका थिए, किनकि उनी त्यति धेरै चिजहरू अर्पण गरिरहेका थिए ।

एकदिन कुबेर शिव समक्ष आए अनि भने, “म तपाईंको लागि के गर्न सक्छु ? म तपाईंको निम्ति केही गर्न चाहन्छु ।” शिवले भने, “तिमीले मेरो लागि केही पनि गर्न सक्दैनौँ । तिमी मेरा निम्ति के नै गर्न सक्छौ र ? किनकि, मलाई केही पनि आवश्यक छैन । म यत्तिकै ठीक छु । बरु, मेरा छोरालाई लैजाऊ ।” उनले गणपतितर्फ ईशारा गरेर भने, “यो बालक जतिबेला पनि भोकाइरहन्छ । उसलाई राम्रोसँग खुवाउनू ।”

“यसमा कुनै समस्या छैन” भनेर उनले गणपतिलाई बिहानको भोजनको लागि लिएर गए । उनीहरूले खाना पस्किए, गणपतिले खाए, फेरी खाए अनि केवल खाइरहे । उनीहरूले पस्किरहे, उनले खाइरहे । कुबेरले सयौँ भान्सेहरू डाके अनि विशाल मात्रामा खाना पकाउन शुरु गरियो । उनीहरूले सबै खाना पस्किए, तैपनि गणपतिले खाइरहे ।

कुबेर भयभीत भए अनि भने, “बन्द गर यो ! यदि तिमीले यसरी खाइरह्यौ भने तिम्रो पेट फुट्नेछ ।” गणपतिले भने, “तिमी चिन्ता नगर । मसँग पेटिको रूपमा यो सर्प छ । तिमीले मेरो पेटको चिन्ता लिनु पर्दैन । म भोको छु । भोजन पस्किऊ । तिमीले नै मेरो भोकको ख्याल राख्न्छु भनेका थियौ, होइन र ?

कुबेरले आफ्नो भएजति सम्पति खर्च गरे । यस्तो भनिन्छ कि उनले अर्को संसारबाट खाना ल्याउनको लागि मानिसहरूलाई त्यहाँ पठाए । तर, गणपतिले खाइरहे अनि भने, “म अझै अघाएको छैन, खै मेरो खाना कहाँ छ ?” त्यसबेला, कुबेरले आफ्नो बुद्दिको सीमितता बुझे र शिवको अगाडि झुकेर नमन गरे, “मलाई यो बोध भयो कि मेरो सम्पत्ति धुलोको कण बराबर पनि छैन । मैले आफूलाई महान् भक्त ठान्ने गल्ती गरेँ । तपाईंले मलाई जे–जति दिइसक्नु भएको छ, मैले त्यसैबाट अलिकति मात्र दिएको हुँ ।” त्यस क्षणपछि उनको जीवन पूर्णतया फरक दिशामा अघि बढ्न थाल्यो ।

 

#४ अर्धनारीको रूपमा शिव र भृगु महर्षि

सद्‌गुरु: जब हामी योग भन्छौँ, हामी कुनै निश्चित व्यायाम वा तरिकाको बारेमा कुरा गरिरहेका छैनौँ । हामी सृष्टिको विज्ञानको बारेमा कुरा गरिरहेका छौँ, सृष्टिको यस अंशलाई कसरी यसको परम सम्भावनासम्म लैजाने भनेर कुरा गरिरहेका छाैँ । हामी विज्ञान र प्रविधिको कुरा गरिरहेका हुन्छौँ, जसद्वारा हामी आफ्नो जीवनको हरेक पक्षलाई परम सम्भावना बनाउन सक्छौँ ।

जब शिवले योग विज्ञान सञ्चारित गर्न थाले अनि यस अस्तित्वको प्रकृतिलाई सप्तऋषीहरूमाझ विस्तारमा व्याख्या गर्न थाले, एउटा सुन्दर घटना घट्यो । सप्तऋषीहरूमध्ये एकजना जो पछि भृगु महर्षिको नामले चिनिन थाले, उनी शिवका उत्कट भक्त थिए । कान्तिसरोवर (कृपाको ताल) को तटमा भइरहेको पहिलो योग कार्यक्रमको साक्षी पार्वती पनि थिइन् । भृगु सदाझैँ बिहान आए अनि उनले शिवको परिक्रमा गर्न चाहे । शिव र पार्वती नजिकै बसिरहेका थिए, तर भृगु बिचबाट गए र शिवलाई मात्र परिक्रमा गरे । उनी शिवको मात्र प्रदक्षिणा गर्न चाहन्थे, पार्वतीको होइन ।

शिव यो दृश्यले अचम्मित भए, तर पार्वती अचम्मित भइनन् । उनलाई यो राम्रो लागेन । उनले शिवतर्फ हेरिन, शिवले भने, “अलि नजिक आऊ, ऊ तिम्रो वरिपरि पनि जानेछ ।” पार्वती नजिकै गइन् । शिवको वरपर मात्र परिक्रमा गर्न पर्याप्त ठाउँ नदेखेपछि, भृगुले आफूलाई एउटा मुसामा रूपान्तरित गरे अनि केवल शिवको वरपर घुमे, पार्वतीलाई परिक्रमाभन्दा बाहिरै छोडे ।

पार्वती यो कुराले निकै क्रुद्ध भइन् । त्यसपछि उनलाई खुसी पार्नको लागि, शिवले उनलाई ताने र आफ्नो काखमा राखे । भृगुले आफूलाई एउटा सानो चरामा परिणत गरे अनि पार्वतीलाई छोडेर शिवको मात्र परिक्रमा गरे । यतिबेला सम्म पार्वती रिसले आगो भइसकेकी थिइन्, त्यसैले शिवले उनलाई आफूभित्र ताने र आफ्नै अंश बनाए, अर्थात् उनको एउटा हिस्सा पार्वतीमा बदलियो र अर्को हिस्सा शिव नै रह्यो । उनी अर्धनारी भए ।

भृगुले यो देखेर आफूलाई मौरीमा परिवर्तन गरे अनि शिवको दायाँ खुट्टाको वरिपरि मात्र घुमे । भृगुको बचपना भक्ति दङ्ग पार्ने खालको थियो, यद्यपि शिवले भृगलाई उसको भक्तिमा हराएर अस्तित्वको परम प्रकृतिबाट वञ्चित हुन दिन चाहेनन् । त्यसैले, उनी योगको एउटा आसन, सिद्धासन मा बसे, जसले गर्दा भृगुले उनको खुट्टा वा शरीर कुनै मात्रै भागलाई परिक्रमा गर्ने ठाउँ पाएनन् । यदि उनले परिक्रमा गर्नुपर्ने हो भने, उनले यी दुवै स्त्रैण र पौरुष आयामलाई परिक्रमा गर्नुपर्ने हुन्थ्यो ।

यस कथाले के सन्देश दिन खोजिरहेको छ भने, जब हामी योग भन्छौँ, हामी त्यो आयामको बारेमा कुरा गरिरहेका छौँ जुन सर्व–समावेशी छ अर्थात् सबैलाई समावेश गर्ने किसिमको छ । यो स्वास्थ राम्रो बनाउनको लागि गरिने व्यायाम वा त्यस्तै कुनै प्रक्रिया होइन । यो मनुष्यको परम खुसियाली वा कल्याणको निम्ति हो, जसमा तपाईं जीवनको कुनै पनि पक्षलाई नकार्न वा वर्जित गर्न सक्नुहुन्न । यो सम्पूर्ण आयामहरूभन्दा परको आयामको पहुँचमा पुग्ने बारे सम्बन्धित छ । यो यस्तो पद्धति हो, जसमार्फत तपाईं आफ्नो प्रणाली— शरीर, मन, भावना र ऊर्जाहरू— लाई भऱ्याङको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि दिव्यतासम्म पुग्न सकियोस् । यो एउटा विधि हो, जसमार्फत आफ्नो परम प्रकृतिसम्म पुग्नको लागि तपाईं आफूलाई सोपान (खुड्किला) बनाउन सक्नुहुन्छ ।