प्रश्न: मलाई लागेको थियो कि योगको सम्पूर्ण उद्देश्य मुक्ति हो, तर फेरि आदियोगी शिवलाई किन विनाशक भनिन्छ ? शिवले के विनाश गर्न खोज्नुभएको हो ?
सद्गुरु: मानौँ तपाईंलाई कसैले यो भनिदियो कि अर्को ग्रहबाट अर्कै प्रकारको जीव आइरहेको छ । तब तपाईंले के सोच्नुहुनेछ ? "सायद ८ वटा हात–खुट्टाहरू छन् होला । ऊ कुकुर जस्तो देखिन्छ होला कि हात्ती जस्तो ?" तपाईंका सबै विचार प्रक्रियाहरू तपाईंले अहिलेसम्म अनुभव गर्नुभएका कुराहरूबाट नै उत्पन्न हुन्छन् । तसर्थ, मुक्ति वा मोक्ष भनेको के हो भनेर बुझ्ने प्रयास नगरौँ, किनकि हामीले जे कुरा अहिलेसम्म अनुभव गरेका छैनौँ, त्यसलाई हामी जान्न सक्दैनौँ ।
पहिला यो बुझौँ कि बन्धन के हो, हामीलाई कुन कुराले बाँधेको छ ? जब तपाईंले कुन कुरा बन्धन हो भनेर बुझ्नुहुन्छ अनि त्यसलाई मेटाउनेतर्फ काम गर्नुहुन्छ, त्यही मुक्ति हो । एक प्रकारले भन्नुपर्दा, आध्यात्मिक प्रक्रिया नकारात्मक काम हो । त्यसैकारण, यस संस्कृतिमा हामी शिवलाई सदैव विनाशकको रूपमा पुज्दछौँ, किनकि यो आफैँलाई नाश गराउने वा मेटाउने माध्यम हो । तपाईं यतिखेर आफूलाई जेजे ठान्नुहुन्छ, एक व्यक्तिको रूपमा रहेको तपाईंको सीमित पहिचानलाई तपाईंले पूर्ण रूपमा विनाश गर्न सक्नुभयो भने, त्यही मुक्ति हो ।
तपाईंको सम्पूर्ण व्यक्तित्व, तपाईं आफ्नो बारेमा जे–जति सोच्नुहुन्छ अनि तपाईं आफूलाई जे ठान्नुहुन्छ, ती सबैथोक तपाईंले आफ्नो शरीर र मनसँग गहिरो पहिचान गाँस्नुभएको हुनाले तपाईंमा आएका हुन् । यो पहिचान यति प्रबल हुनुको कारण के हो भने, तपाईंले जीवनलाई पाँच इन्द्रियहरूद्वारा मात्रै अनुभव गर्नुभएको छ । यदि यी पाँच इन्द्रियहरू निदाए भने, तपाईंको अनुभवमा न तपाईं रहनुहुन्छ, न त यो संसारको अस्तित्व रहन्छ ।
यतिखेर, इन्द्रियहरू मार्फत तपाईंले सीमित रूपमा जे–जति अनुभव गर्नुभएको छ, त्यसको आधारमा मात्रै तपाईंले आफू वरपरको संसार अनि तपाईंभित्र जे छ, त्यसलाई अनुभव गर्न सकिरहनु भएको छ । त्यसैले, तपाईंको पहिलो काम भनेको भौतिक शरीर र मनसँग रहेको पहिचानबाट आफू अलग हुनु हो— योगमा मूलत: यही हुन्छ । योगको पहिलो पाइला जहिल्यै पनि इन्द्रियजन्य अनुभवबाट कसरी पर जाने भन्नेबारे केन्द्रित हुन्छ । जब तपाईंले इन्द्रियजन्य अनुभवबाट पर गएर मूल जीवनलाई अनुभव गर्न थाल्नुहुन्छ, शरीर र मनसँग रहेको पहिचान स्वतः कम हुँदै जान्छ अनि बिस्तारै हराउँछ ।
आदियोगी (प्रथम योगी) एवं आदिगुरु (प्रथम गुरु) शिवलाई विनाशकको रूपमा वर्णन गरिन्छ, किनभने जबसम्म तपाईं यो पहिचानलाई नष्ट गर्नुहुन्न, तपाईंको निम्ति अहिले अनमोल रहेका कुराहरूलाई तपाईं जबसम्म नष्ट गर्नुहुन्न, तपाईंमा भौतिकभन्दा परको आयाम घटित हुन सक्दैन— यही सबैभन्दा ठूलो बाधक हो । तपाईं त्यो फोकाबाट बाहिर निस्किन इच्छुक हुनुहुन्न, किनकि तपाईंलाई त्यो नष्ट हुन्छ कि भन्ने डर छ । तर साथसाथै, तपाईंभित्र यस्तो केही छ, जो असीमित हुन लालायित छ ।
सम्भवत: तपाईंले आध्यात्मिकता भनेको असीम फोका हुनु भनेर सोच्नुभएको हुन सक्छ । तर वास्तवमा, असीम फोका भन्ने हुँदैन । एउटै तरिका भनेको यो फोका फुटाउनु हो । तपाईंले यो फोकालाई पूरै अस्तित्व समेट्नको लागि त्यति विशाल बनाउनुपर्दैन । तपाईंले फोका फुटाउनुभयो भने, तपाईं असीम बन्नुहुन्छ । सम्पूर्ण सीमा मेटिनेछन् ।
मानिसहरू सोच्छन् कि शरीर र मनसँग पहिचान नजोड्नु भनेको थोत्रा लुगा लगाउनु, स्नान नगर्नु र दुर्गन्धित भएर आफू वरपर सबैको निम्ति समस्या सृजना गर्नु हो । त्यसो होइन । पहिचान नजोड्नु एउटा कुरा हो; जबकि यसको हेरचार नगर्नु अर्को कुरा हो । तपाईंले शरीर र मनसँग पहिचान नजोडिकन समेत तीप्रति गर्नुपर्ने सबै कामहरू गर्न सक्नुहुन्छ । यदि तपाईं यस्तो हुनुभयो भने, तपाईं शरीर र मनको प्रक्रियाबाट मुक्त हुनुहुनेछ । तपाईंको जीवनमा यिनै दुईवटा सीमा वा बन्धनहरू छन् । यदि तपाईं यी दुवैबाट पर जानुभयो भने, तपाईं असीम (सीमामा नबाँधिएको) बन्नुहुनेछ । यदि तपाईंले आफूलाई असीम अस्तित्वको रूपमा अनुभव गर्नुभयो भने, के तपाईं आफू मुक्त भएको भन्नुहुँदैन र ?
सम्पादकीय आदियोगी शिवको बारेमा रोचक कथाहरू पढ्नको लागि यहाँ जानुहोस्