के तपाईंलाई बद्रीनाथको कथा थाहा छ ? बद्रीनाथको बारेमा एउटा किंवदन्ती छ । यही स्थानमा शिव र पार्वती बास गर्दथे । यो समुद्री सतहबाट १० हजार फिटको उचाईंमा हिमालय पर्वतमा अवस्थित अद्भुत स्थान हो । एकदिन नारदमुनि विष्णुसामु गए र भने, "तपाईं मानवजातिको लागि खराब उदाहरण बन्नुभएको छ । तपाईं जतिबेला पनि आदिशेष (शेषनाग) माथि सुतिरहनु हुन्छ । तपाईंकी अर्धाङ्गिनी लक्ष्मी लगातार तपाईंको सेवा गरिरहनु हुन्छ । उनले तपाईंलाई टाउकोमा चढाउनुभएको छ । तपाईं सृष्टिका अन्य प्राणीहरूको लागि राम्रो उदाहरण बन्नुभएको छैन । सृष्टिका सबै प्राणीहरूको लागि तपाईंले केही अर्थपूर्ण काम गर्नुपर्छ ।"
यो आलोचनाबाट बच्न अनि आफ्नो उत्थानको लागि काम गर्न भनेर विष्णु तपस्या र साधना गर्नको लागि सही स्थान खोज्दै तल हिमालयतर्फ गए— देवताहरूले समेत यस्तो गर्नुपर्ने हुन्छ ! उनले बद्रीनाथ फेला पारे, जहाँ एउटा सानो चिटिक्क परेको घर थियो, जुन उनले चाहेकै जस्तो थियो । उनलाई त्यो ठाउँ साधनाको लागि अति उपयुक्त लाग्यो । उनी घरभित्र पसे । भित्र छिर्नेबित्तिकै उनले थाहा पाए कि त्यो शिवको निवास थियो— थाहै छ, शिव खतरनाक छन् ! यदि उनी क्रोधित भए भने, उनले तपाईंको मात्र नभई आफ्नै घाँटी समेत काट्न सक्छन् । शिव त्यति भयानक छन् ।
त्यसैले, विष्णुले सानो बच्चाको रूप लिए अनि घरको अगाडि बसे । त्यसबेला, शिव र पार्वती कतै बाहिर घुम्न गएका थिए । फर्किएर आउँदा दुवैले आफ्नो घरको आँगनमा सानो बच्चा जोडले रोइरहेको देखे । बच्चा त्यसरी रोइरहेको देखेर पार्वतीमा मातृसुलभ गुण उर्लियो । पार्वतीले बच्चा बोक्न जानै लाग्दा, शिवले उनलाई रोक्दै भने, "त्यो बच्चालाई नछोऊ ।" पार्वतीले भनिन्, "तपाईं कस्तो निर्दयी ! त्यस्तो कसरी भन्न सक्नुहुन्छ ? हेर्नु त कसरी रोइरहेको छ । म बच्चालई उठाएर ल्याउँछु ।" शिवले भने, "तिमीले जे देखिरहेकी छौ, त्यसमा भरोसा नगर । मैले भनिरहेको छु कि त्यो बच्चालाई नछोऊ । यो ठीक खाले बच्चा होइन । ऊ हाम्रो घरको आँगनमा कसरी आफैँ आइपुग्यो ? यहाँ वरपर अरू कोही छैनन्, हिउँमा उसका आमाबुबाको पाइलाको छाप पनि छैन । यो बच्चा नै होइन ।" तर, बच्चाको लागि पार्वतीको मातृसुलभ भावनाले गर्दा उनले शिवको कुरा पत्याइनन् अनि भनिन्, "तपाईंले जेसुकै भनेपनि मलाई फरक पर्दैन । म भित्रको आमाले बच्चालाई यसरी रोइरहेको हेर्न दिँदैन । म बच्चालाई उठाउँछु ।" यति भनेर उनले बच्चालाई उठाएर काखमा राखिन् । बच्चा उनको काखमा आरामसँग बसेर शिवतर्फ मुस्कुराउँदै हेरिरह्यो । शिवलाई यसको नतिजा के हुनेछ भनेर थाहा थियो, तैपनि के नै गर्न सकिन्थ्यो र ? उनले भने, "ठीक छ । हेरौँ अब के हुन्छ ।"
पार्वतीले बच्चालाई थपथपाउँदै शान्त पारिन् र खुवाइ–पिलाइ गरिन् । अनि उसलाई घरमै छोडेर शिवसँग नजिकैको तातोपानी भएको कुण्डमा नुहाउन गइन् । नुहाएर फर्किँदा घर भित्रबाट थुनिएको थियो । अब खेल शुरु भयो भन्ने कुरा शिवलाई प्रष्टै थाहा थियो । पार्वतीले चकित पर्दै भनिन्, "कसले ढोका थुन्यो ?" शिवले भने, "मैले तिमीलाई भनेकै थिएँ कि त्यो बच्चालाई नउठाऊ । तिमीले उसलाई घरभित्र ल्यायौ, अब उसैले बन्द गरिदियो ।" पार्वतीले भनिन्, "अब के गर्ने ?"
पार्वतीले भनिन्, "अब के गर्ने ?"
शिवसामु दुईवटा विकल्पहरू थिए: एउटा, आफ्नो अगाडि भएको सबैथोक भष्म गरिदिने । अर्को, त्यहाँबाट निस्किएर केही अरू उपाय खोज्ने । उनले भने, "हिँड, अन्त कतै जाऔँ । त्यो तिम्रो प्यारो बच्चा भएकोले मैले त्यसलाई केही गर्न सक्दिनँ ।"
यसरी शिव र पार्वतीलाई अवैध रूपमा त्यहाँबाट निष्काषित गरियो । उनीहरू बासस्थान खोज्दै यताउति डुल्न थाले अनि अन्तत: केदारनाथमा आएर बस्न थाले । यसरी शिवले आफ्नै घर गुमाए । तपाईंमा यो प्रश्न उब्जिएको होला— के उनलाई थाहा थिएन ? तपाईंलाई धेरै कुराहरू थाहा हुन्छ, तैपनि तपाईं तिनलाई हुन दिनुहुन्छ ।
योग–कथामा यस्ता थुप्रै कथाहरू छन्, जसमा बताइएको छ कि शिवले सबैप्रति समान करुणा–भाव व्यक्त गर्थे अनि जोसुकैको इच्छाप्रति बच्चाले जसरी भोलापन देखाउँथे । गजेन्द्र नाम गरेका एउटा असुर थिए । गजेन्द्रले निकै कठोर तपस्या गरे अनि जुनसकै समयमा बोलाउँदा शिव उनीसमक्ष उपस्थित हुनेछन् भनेर शिवबाट वरदान पाए । गजेन्द्रले स-साना कुराहरूको लागि पनि शिवलाई पुकार गरेको देखेर तीनै लोकमा उट्पट्याङ गर्न माहिर ऋषि नारदमुनिले गजेन्द्रसँग ठट्टा गर्ने विचार गरे ।
उनले गजेन्द्रलाई भने, "तिमी किन शिवलाई बारम्बार बोलाइरहन्छौ ? उहाँ तिम्रो हरेक पुकारमा आइरहनु परेको छ । बरु, तिमी उहाँलाई तिमीभित्रै प्रवेश गरेर सधैँभरि त्यहीँ बसिरहन किन भन्दैनौँ ? यसो गर्दा उहाँ सधैँ तिमी भित्रै रहनुहुनेछ ।" गजेन्द्रलाई यो विचार राम्रो लाग्यो अनि उनले शिवको प्रार्थना गरे । जब शिव उनीसामु प्रकट भए, गजेन्द्रले भने, "तपाईं मभित्रै बस्नुपर्छ । तपाईं कतै जान पाउनुहुन्न ।" आफ्नो भोलापनमा शिवले स्वीकार गरे अनि लिङ्गको रूपमा गजेन्द्रभित्र प्रवेश गरी त्यहीँ रहन थाले ।
त्यसपछि, जसैजसै समय बित्दै गयो, पूरै ब्रह्माण्डले शिवको अभाव महसुस गर्न थाल्यो । उनी कहाँ छन् भनेर कसैलाई थाहा थिएन । सबै देवता र गणहरूले शिवलाई खोज्न थाले । निकै खोजी गर्दा पनि उनी कहाँ छन् भन्ने पत्ता लगाउन नसकेपछि, समाधानको लागि सबैजना विष्णुसमक्ष पुगे । विष्णुले उनीहरूको कुरा सनेपछि भने, "शिव गजेन्द्रको भित्र हुनुहुन्छ ।" तब देवताहरूले कसरी शिवलाई गजेन्द्रबाट बाहिर निकाल्न सकिन्छ भनेर सोधे, किनकि शिवलाई आफूभित्र राखेर गजेन्द्र अमर भएका थिए ।
सदाझैँ, विष्णुले सही उपाय निकाले । देवगणहरू शिव–भक्तको रूप धारण गरी गजेन्द्रको राज्यमा गए अनि पूरै भक्तिभावमा शिवको भजन गाउन थाले । गजेन्द्र समेत शिवका महान भक्त भएकाले, उनले ती मानिसहरूलाई आफ्नो दरबारमा आएर भजन–कीर्तन र नाचगान गर्न निम्तो दिए । शिवका भक्तहरूको भेषमा आएका देवताहरूको समूहले पूरै भक्तिभावमा शिवका लागि भजन, पूजा आराधना र नृत्य गरे । शिव, जो गजेन्द्रको भित्र रहेका थिए, उनले आफूलाई थामिरहन सकेनन् । उनले भक्तहरूको पुकारलाई जवाफ दिनैपर्ने भयो । अत: उनले गजेन्द्रलाई टुक्राटुक्रा पारी बाहिर निस्किए ।
शिवलाई देवता र राक्षस, सुर र असुर, श्रेष्ठ र अधम दुवै थरीले पूज्दछन्— सबैका लागि उनी महादेव हुन् । स्वयं विष्णुले पनि उनको पूजा गर्दथे । शिवप्रति विष्णुको भक्ति बताउने सुन्दर कथा प्रस्तुत गरिएको छः
एकपटक विष्णुले शिवलाई १००८ वटा कमलको फूल अर्पण गर्ने सङ्कल्प गरे । उनी कमलको फूल खोज्न हिँडे । पूरै संसारमा खोज्दा पनि उनले केवल १००७ वटा कमलको फूल पाए । एउटा फूल अझै कम थियो । उनले सबै फूलहरू शिवसामु चढाए । शिवले आफ्ना आँखा खोलेनन् । उनी यत्तिकै मुस्कुराइरहे, किनकि एउटा कमल कम थियो । तब विष्णुले भने, "मलाई कमलनयन भनेर चिनिन्छ, जसको अर्थ हो कमलको फूल जस्तो आँखा भएको । मेरा आँखा कमलको फूलझैँ सुन्दर छन् । त्यसैले, म आफ्नो एउटा आँखा चढाउँछु ।" यति भनेर उनले तत्कालै आफ्नो दायाँ आँखा निकालेर लिङ्गमा अर्पण गरे । यस किसिमको अर्पणबाट प्रसन्न भएर शिवले विष्णुलाई सुदर्शन चक्र प्रदान गरे ।
सम्पादकीय: आदियोगी शिवको बारेमा रोचक कथाहरू पढ्नको लागि यहाँ जानुहोस्