logo
logo

शिव र गङ्गा— किंवदन्ती र त्यसको अर्थ

सद्‌गुरुले शिवको जटाबाट गङ्गा बग्नुको कथा उल्लेख गर्दै उक्त कथाले प्रतीकको माध्यमबाट के बुझाउने प्रयास गरिरहेको छ भनेर बताउँदै हुनुहुन्छ ।

शिव र गङ्गा— किंवदन्ती र त्यसको अर्थ


सद्‌गुरु: तपाईंलाई थाहै होला, शिवको जटाबाट गङ्गा बगेकी छिन् भनिन्छ । हिमालयहरूमा यस्तो भनाइ रहेको छ कि हरेक शिखर स्वयं शिव हुन् । हिमालयको चुचुरोहरूलाई हिउँले ढाकेको हुन्छ अनि यी हिमशिखरबाट बग्ने थुप्रै स–साना खोल्सोहरू बिस्तारै एकअर्कामा मिसिएर धारा र त्यसपछि नदीहरू बन्छन् । त्यसैले गर्दा, यो भनियो कि पर्वत शिव हुन्, अनि तलतर्फ बगिरहेका धाराहरू उनका जटा हुन् । यिनै धाराहरू बग्दै गङ्गा नदीको रूप लिन्छन्, जसलाई आकाशबाट प्रकट भएको भनिन्छ— यो सत्य हो, किनकी हिउँ आकाशबाट नै झर्छ ।

यही प्रतीकले गङ्गाको कथालाई जन्म दिएको हो । गङ्गालाई सबैभन्दा शुद्ध जल मानिन्छ, किनकी यो आकाशबाट झरेको हो । अझ महत्त्वपूर्ण कुरा, विशेष भू-भागबाट बगेको हुनाले यसले आफूमा विशेष गुण समाहित गरेको छ । १९ वर्षको उमेरदेखि मैले हरेक वर्ष एक्लै हिमालयमा यात्रा गरेको छु । मलाई जतिबेला पनि जाडो लागिरहन्थ्यो र भोकाइरहन्थेँ, किनकी म धेरै सामग्री नलिकन जान्थेँ । मसँग केही डेनिमको जिन्स पाइन्ट र बाक्लो टी-सर्ट मात्र हुन्थ्यो । मैले थुप्रै पटक यो अनुभव गरेको छु कि केही अञ्जुली गङ्गाजल पिएपछि अर्को ४८ घण्टासम्म कुनै थकान महसुस नगरी हिँडिरहन सक्थेँ । साथै, थुप्रै मानिसहरूबाट यो प्रत्यक्ष सुनेको छु कि गङ्गाजल पिएकै भरमा उनीहरूको रोग निको भएको थियो । तपाईंलाई थाहै होला, भारतमा मृत्युको अन्तिम क्षणमा मानिसहरूको मुखमा अलिकती गङ्गाजल हाल्ने गरिन्छ ।

गङ्गाजल निकै विशेष हुन सक्छ— तपाईंले केही कुरा विश्वास गर्नाले हुने होइन, बरु गङ्गाजलको गुण नै विशेष भएकोले त्यसो हुने हो । हिमालयले यो जललाई विशेष बनाएको छ ।

नदी जीवन हो


किंवदन्तीमा भनिएअनुसार, गङ्गा अलौकिक नदी हो, जो धरतीमा अवतरित भयो । यसको तीव्र प्रवाहले संसारलाई हानि गर्न सक्थ्यो । त्यसैले, शिवले गङ्गालाई आफ्नो शिरमा धारण गरे अनि आफ्नो जटा हुँदै हिमालयबाट बिस्तारै–बिस्तारै बग्न दिए । मानिसहरूको लागि गङ्गाको महत्त्व र यसको पवित्रता दर्शाउने यो प्रतीकात्मक अभिव्यक्ति हो । यदि तपाईं नदीहरूसँग संलग्न रहनुभएको छ भने, तपाईंलाई थाहा हुनेछ कि हरेक नदीको आफ्नै जीवन हुन्छ । यो संसारमा जुहाँसुकै सत्य रहेको छ— चाहे त्यो इजिप्टको नाईल नदी होस्, युरोपको डान्युब, रुस र मध्य-एशियन राष्ट्रहरूबाट बग्ने वोल्गा, अमेरिकाको मिसीसिपी वा दक्षिण अमेरिकाको अमेजोन । तिनलाई जलस्रोतको रूपमा मात्र हेरिँदैन । हामीलाई थाहै छ, स्पष्ट कारणहरूले गर्दा अधिकांश संस्कृति नदीको किनारमा विकसित भएका छन् । तर, नदीहरूसँग नजिकबाट जोडिएका मानिसहरूको लागि, नदी एक जीवन बन्दछ ।

नदी एक जीवित प्रक्रिया हो, अनि गङ्गा नदीको सन्दर्भमा पनि यो सत्य हो । मैले गङ्गाको किनारै–किनार यसको उद्‌गम स्थल रहेको गोमुखसम्म यात्रा गर्ने सौभाग्य पाएको थिएँ । साथै, मैले लगभग यसको सबै ठूला उप–नदीहरूमा पनि यात्रा गरेको छु— जस्तै कि मन्दाकिनी, अलकानन्दा, त्यसैगरी भागीरथी, जुन गङ्गाको मुख्य भाग हो । माथि हिमालयमा गङ्गा निर्मलता र पवित्रताको प्रतीक हो । तर, जसैजसै यो तल समथल भूभागमा बग्दै जान्छ, यो भारतीय उप–महाद्वीपको उत्तरी भूभागको जीवनरेखा बन्छ । गङ्गा नदीले थुप्रै राजवंशहरूको उत्थान र पतन देखेको छ । त्यस भागमा रहेका मानिसहरूको लागि गङ्गा शक्ति र समृद्धिको सतत स्रोत रहेको छ ।

अब यस्तो समय आएको छ, जहाँ हामी यसलाई स्रोत–साधनको रूपमा हेरिरहेका छौँ । साथै, हामीले माथि हिमालयमा बाँध बनाएका छौँ, जसले गर्दा गङ्गालाई जीवित माता वा देवीको रूप मान्ने थुप्रै मानिसहरूको चित्त दुखेको छ । अनि तल समथल भूभागमा यो निकै प्रदुषित भएको छ । गङ्गालाई पुनः पहिलेकै भव्य स्वरूपमा फर्काउन केही सम्बन्धित मानिसहरूले कुनै न कुनै तरिकाले प्रयासहरू गरिरहेका छन् । मैले ३० वर्षदेखि हिमालयको यात्रा गरिरहेको छु अनि मैले त्यहाँ हिउँको परिमाणमा ठूलो भिन्नता देखेको छु । थुप्रै हिउँको टाकुराहरूमा अब हिउँ छैन । तिनीहरू खाली, चुच्चे र धारिलो टाकुरा भएका छन् । नदीको रूपमा गङ्गामाथि गम्भीर खतरा मडारिँदै छ । अनि, हिमनदी तीव्र रूपमा घटिरहेको छ, जुन हामीले गोमुखको मुख्यद्वारमा प्रष्ट देख्न सक्छौँ । गाईको मुख जस्तो देखिने भएकोले यसलाई गोमुख भनिएको हो । मलाई याद छ कि १९८१ को अगष्ट महिनामा जब म पहिलो पटक त्यहाँ गएको थिएँ, त्यो केवल १५-२० फिटको मुख थियो जहाँबाट पानी बग्दथ्यो । त्यो धेरै हदसम्म गाईको मुख जस्तै देखिन्थ्यो । आज त्यो २०० फिट चौडा गुफा बनेको छ, जहाँ तपाईं लगभग एक किलोमिटर जति भित्रसम्म हिँड्न सक्नुहुन्छ ।

गङ्गाको जीवनमा जलवायु परिवर्तनले विशाल प्रभाव परेको छ । यदि कुनै बिन्दुमा यसले नदीको अस्तित्वलाई जोखिममा पाऱ्यो भने, त्यसको अर्थ भारतको उत्तरी भागमा भयङ्कर विध्वंस हुनेछ । गङ्गा त्यहाँका मानिसहरूको लागि सधैँ जीवनरेखाको रूपमा रहेको छ ।

गङ्गालाई जोगाउनुको महत्त्व



हरेक संस्कृति, हरेक मानिस, हरेक सभ्यतालाई कुनै प्रतीकको आवश्यकता हुन्छ, जसले उनीहरूको जीवनमा फरक स्तरको पवित्रता ल्याउनको लागि उनीहरूलाई प्रेरित गरोस् । गङ्गाले सधैँ यो गरिरहेकी छिन् । अनि, कुम्भमेलाको समयमा गङ्गाको किनारमा लगभग ८–१० करोड मानिसहरूको विशाल जनसमुदाय भेला हुन्छन् । धरतीको अरू कुनै पनि कुनामा यति विशाल सङ्ख्यामा मानिसहरू जम्मा हुँदैनन् । मानिसहरूको निम्ति यो प्रेरणाको आधार भनेको गङ्गा नदी र त्यसले इङ्गित गर्ने पवित्रता हो । यो प्रतीक अत्यन्त जरूरी छ । गङ्गा नदीलाई जोगाउनु र यसलाई शुद्ध राख्नु हाम्रो अस्तित्व र हाम्रो आवश्यकताको लागि मात्र नभई, मानिसहरूको उत्साहलाई माथि उठाउनको लागि समेत हो ।

Editor’s note: In this video, Sadhguru explains why rivers are worshipped in India.

    Share

Related Tags

शिव र उनको परिवार

Get latest blogs on Shiva

Related Content

आदियोगी— प्रथम योगी: एक व्यक्तिभन्दा बढी