Satsang with Sadhguru
Satsang with Sadhguru

शिवका अनेक रूपहरू, अनेक नामहरू !

article शिव–विशेष
शिव एक योगी हुन्, जसलाई कुनै नाम दिइनु हुँदैन । नाम थोपर्नु भनेको सीमित र सङ्कुचित गर्नु हो । यद्यपि, उनका ती सम्पूर्ण नामहरूको समजोडले पूरै ब्रह्माण्डको जटिलतालाई अभिव्यक्त गर्दछ । उनी अस्तित्वको सम्पूर्ण अथाह रहस्यहरूको प्रतिबिम्ब हुन् ।

 

सद्‌गुरु: आदियोगी शिव थुप्रै रूपहरूका समष्टी हुन् — सबैभन्दा भयानक भैरव, सबैलाई मोहित गर्ने सुन्दरमूर्ति, आफ्नो नृत्यले सृष्टिको मूल प्रक्रियालाई नै संहार गरिदिने ताण्डवमूर्ति, पूर्णतया अचल रहने अचलेश्वर, स्वयं प्रकट भएका स्वयम्भू, नशामा उन्मत्त रहने सोमेश्वर ! यदि तपाईंले शिवलाई स्वीकार गर्न सक्नुभयो भने, यस धर्तीमा पाउन सक्ने सम्पूर्ण विशेषताहरूले भरिपूर्ण स्वरूप भएका शिवलाई आत्मसात् गर्न सक्नुभयो भने, तपाईंले स्वयं जीवनलाई नै पार गर्नुभएको हुन्छ ।

शिवका पाँच आधारभूत रूपहरू

योग योग योगेश्वराय

भूत भूत भूतेश्वराय

काल काल कालेश्वराय

शिव शिव सर्वेश्वराय

शम्भो शम्भो महादेवाय

योगेश्वर

योगको पथमा हुनुको अर्थ यो हो कि तपाईं आफ्नो जीवनमा यस्तो घडी वा चरणमा आइपुग्नु भएको हुन्छ, जहाँ तपाईंले भौतिक हुँदाको सीमितताहरू महसुस गर्नुभएको हुन्छ, तपाईंले भौतिकताबाट पर जाने आवश्यकता महसुस गर्नुभएको हुन्छ— यहाँसम्म कि तपाईंले आफूलाई यो विशाल ब्रह्माण्डले समेत सङ्कुचित गरेको महसुस गर्नुभएको हुन्छ । तपाईंले यो बुझ्न सक्नुभएको हुन्छ कि यदि तपाईंलाई कुनै सानो घेराले सङ्कुचित गर्न सक्छ भने, कुनैबेला तपाईंलाई त्योभन्दा विशाल घेराले समेत सङ्कुचित गर्न सक्दछ ।

तपाईंले यो कुरा बुझ्नको लागि ब्रह्माण्डमा वारपार गर्नैपर्दैन । तपाईं यहीँ बसेर यो जान्न सक्नुहुन्छ कि यदि यो सीमाले तपाईंलाई रोक्दछ भने, यदि तपाईंले पुरै ब्रह्माण्ड नै वारपार गर्नुभयो भने पनि केही समयपछि त्यो पनि अवरोध बन्दछ— यो कुरा तपाईं कति टाढासम्म यात्रा गर्न सक्नुहुन्छ भन्नेमा निर्भर गर्दछ । जब तपाईंको यात्रा गर्ने वा छलाङ्ग लगाउने क्षमता बढ्दछ, जस्तोसुकै घेरा पनि तपाईंको लागि अवरोध बन्नेछ । जब तपाईं यसलाई बुझ्नुहुन्छ र जान्नुहुन्छ, जब तपाईं आफूभित्र यस्तो प्रबल इच्छा वा चाहना महसुस गर्नुहुन्छ, जसलाई भौतिक सृष्टिमाथि महारथ पाएर समेत मेटाउन सकिँदैन— त्यसबेला, तपाईं योगको पथमा हिँड्नुहुन्छ ।

योग अर्थात् भौतिक सृष्टिका अवरोधहरूबाट मुक्त हुनु । तपाईंका सम्पूर्ण प्रयासहरूको लक्ष्य अस्तित्वको भौतिक आयाममाथि मात्रि प्रभुत्व पाउने नभई यसको सीमालाई तोडेर अर्को आयामलाई स्पर्श गर्नु हो— जुन भौतिक प्रकृतिको होइन । त्यो, जुन सीमाभित्र छ, अनि त्यो, जुन असीम (सीमाहीन) छ— ती दुवैलाई तपाईं जोड्न चाहनुहुन्छ, । तपाईं सीमाहरूलाई अस्तित्वको असीम प्रकृतिमा विलिन गर्न चाहनुहुन्छ । अतः शिवको एउटा रूप योगेश्वर हो !

भूतेश्वर

भौतिक सृष्टि, ती सबैथोक जसलाई हामी देख्न, सुन्न, सुँघ्न, चाख्न र छुन सक्छौँ— हाम्रो शरीर, यो पृथ्वी, जगत्, पूरै ब्रह्माण्ड— यी सबै पाँच तत्त्वहरूको खेल मात्र हुन् । जम्मा पाँचवटा तत्त्वहरूबाट कस्तो गज्जबको छल रचिएको छ, जसलाई “सृष्टि” भनिन्छ ! एउटै हातमा गन्न सकिने केवल पाँचवटा तत्त्वहरूबाट कति धेरै चीजहरू सृजना गरिएका छन् ! सृष्टि, योभन्दा बढी करूणामयी हुनै सक्दैन । यदि त्यहाँ पाँच करोड तत्त्वहरू भएका भए, तपाईं कता हो कता हराउनु हुने थियो ।
यी पाँच तत्त्वहरूलाई पञ्च–भूत पनि भनिन्छ । यी तत्त्वहरूमाथि महारथ प्राप्त गर्नाले सबैथोकको ख्याल राखिनेछ— तपाईंको स्वास्थ, तपाईंको कल्याण, विश्वमा तपाईंको शक्ति अनि तपाईंले चाहनुभएको कुरा सृजना गर्ने सामर्थ्य । जानेर वा नजानिकन, होशपूर्वक वा बेहोशीमा, प्रत्येक व्यक्तिले यी विभिन्न तत्त्वहरूमाथि केही हदसम्म नियन्त्रण पाएका हुन्छन् । यी तत्त्वहरूमाथि तपाईंको नियन्त्रण कति छ भन्ने कुराले सबैथोक निर्धारित गर्दछ— तपाईंको शरीरको प्रकृति, तपाईंको मनको प्रकृति, तपाईं के गर्नुहुन्छ र त्यसलाई कति सफलतापूर्वक गर्नुहुन्छ, अनि तपाईं कति दुरदर्शी हुनुहुन्छ जस्ता कुराहरू । भूत भूत भूतेश्वराय अर्थात् जसले यी पञ्च–भूत (पञ्च–तत्त्व) हरूमाथि महराथ प्राप्त गरेको हुन्छ, उसले कम्तीमा पनि भौतिक जगत्‌मा आफ्नो जीवनको नियती वा भाग्य निर्धारित गर्दछ ।

कालेश्वर

काल अर्थात् समय । भलै, तपाईंले पञ्च–तत्त्वहरूलाई आफ्नो अधीनमा लिए तापनि, तपाईं अनन्तसँग एक हुनु भएपनि वा तपाईंले विलिन हुन जाने तापनि— जबसम्म तपाईं यहाँ रहनुहुन्छ, समय बितिरहेको हुन्छ । समयलाई नै आफ्नो अधीनमा लिनु पूर्णतया फरक आयामको कुरा हो । काल भनेको समय मात्र होइन, अन्धकार पनि हो । समय अन्धकार हो । समय प्रकाश हुन सक्दैन, किनकि प्रकाश समयभित्र एउटा बिन्दुबाट अर्को बिन्दुमा यात्रा गर्दछ । प्रकाश, समयको दास हो । प्रकाश यस्तो तत्त्व हो, जसको शुरु र अन्त्य हुन्छ । तर, समय त्यस किसिमको तत्त्व होइन । हिन्दू जीवनशैलीमा, समयलाई ६ वटा विभिन्न आयामहरू अन्तर्गत निकै गहिराइमा र जटिल रूपमा बुझिएको छ । तपाईंले यो एउटा कुरा जान्नुैपर्छ— तपाईं जसै यहाँ बसिरहनु भएको छ, तपाईंको समय बितिरहेको छ । मृत्युको लागि तमिल भाषामा निकै सटीक अभिव्यक्ति रहेको छ— “कालम आयिटाङ्गा” अर्थात् “उसको समय सकियो !”

अंग्रेजीमा पनि हामी पहिले यस्तो भनाइ प्रयोग गर्थ्याैँ— “एक्सपायर्ड” अर्थात् “उसको म्याद सकियो !” कुनै औषधि वा अरू वस्तु जस्तै, मानिसले पनि म्याद लिएर आएको हुन्छ । तपाईं सायद यो सोच्नुहुन्छ कि तपाईं थुप्रै ठाउँहरूमा गइरहनु भएको छ । होइन, जहाँसम्म तपाईंको शरीरको कुरा छ, एक क्षणको लागि पनि बाटो नबिराइकन यो सिधै चिहान वा चितातर्फ गइरहेको हुन्छ । तपाईं यो प्रक्रियालाई अलिकति ढिलो बनाउन त सक्नुहुन्छ, तर यसले दिशा परिवर्तन गर्ने छैन । जसै तपाईंको उमेर ढल्किँदै जान्छ, तपाईंले यो महसुस गर्न सक्नुहुन्छ कि धरतीले तपाईंलाई निल्ने कोशिस गर्दछ । तब, जीवनले आफ्नो चक्र पूरा गर्दछ ।

समय, जीवनको एउटा विशेष आयाम हो— यो अरू तीनवटा आयामहरूसँग मेल खाँदैन । र, ब्रह्माण्डमा जे–जति छन्, ती सबैमध्ये समय अति रहस्यमयी छ । तपाईं यसको बारेमा पत्ता लगाउन सक्नुहुन्न, किनकि यो छैन । तपाईंले अस्तित्वमा जे–जति स्वरूपहरू जान्नुभएको छ, समय तीमध्ये कुनैपनि स्वरूपमा रहँदैन । यो सृष्टिको सबैभन्दा शक्तिशाली आयाम हो, जसले पूरै ब्रह्माण्डलाई एकसाथ राख्दछ । यसैकारण, गुरुत्वाकर्षणले कसरी काम गर्दछ भन्ने बारेमा आधुनिक भौतिक विज्ञानलाई कुनै सुँइको छैन । वास्तवमा, गुरुत्वाकर्षण हुँदैन; समयले नै सबैथोकलाई एकसाथ थामेर राख्दछ ।

शिव-सर्वेश्वर-शम्भो

शिव अर्थात् “त्यो जुन छैन; त्यो जुन विलीन भइसकेको छ ।” “त्यो जुन छैन”, सबैथोकको आधार हो, र त्यही असीम सर्वेश्वर हो । शम्भो, एउटा साँचो मात्र हो, एउटा मार्ग मात्र हो । यदि तपाईंले यसलाई निश्चित तरिकाले उच्चारण गर्न सक्नुभयो भने, यसरी कि मानौँ यसको उच्चारणले तपाईंको शरीर नै छियाछिया भयो भने, त्यसबेला यो एउटा मार्ग बन्नेछ । यदि तपाईं यी सबै पक्षहरूमाथि महारथ पाएर त्यहाँ पुग्न चाहनुहुन्छ भने, त्यसको लागि निकै लामो समय लाग्नेछ । यदि तपाईं गल्लीको बाटो भएर जान चाहनुहुन्छ भने, तीमाथि महारथ पाएर नभई सुटुक्क भित्र छिरेर तपाईं ती पक्षहरूलाई पार गर्न सक्नुहुन्छ ।

जब म सानो थिएँ, मैसूर चिडियाखानामा मेरा साथीहरू थिए । प्रत्येक आइतबार बिहान, आफ्नो दुई रूपियाँ पकेट मनी लिएर म माछा बजारमा जान्थेँ— भित्रैसम्म, जहाँ आधा कुहिएका माछाहरू बेचिन्थ्यो । दुई रूपियाँमा, कहिलेकाहीँ २–३ किलोसम्म माछा पाइन्थ्यो । त्यसलाई झोलामा हालेर म मैसूर चिडियाखाना जान्थेँ । मसँग थप पैसा हुँदैनथ्यो । त्यो समयमा टिकटको मूल्य एक रूपियाँ हुन्थ्यो— तपाईं सिधा बाटो गेटबाट जानुभयो भने ! त्यहाँ एउटा बार पनि हुन्थ्यो, जुन भुइँबाट दुई फिट जति माथि थियो । यदि तपाईं घिस्रिएर जान इच्छुक भएमा सित्तैमा भित्र जान सक्नुहुन्थ्यो । त्यो मेरो निम्ति समस्या थिएन— म घिस्रिएर भित्र पस्थेँ । म आफ्ना साथीहरूलाई कुहिएको माछा खुवाएर पूरै दिन त्यहीँ बिताउँथेँ ।

यदि तपाईं सिधा बाटो जान चाहनुहुन्छ भने, बाटो कठिन छ अनि अनेक किसिमका कामहरू गर्नुपर्ने हुन्छ । यदि तपाईं घिस्रिन इच्छुक हुनुहुन्छ भने, त्यहाँ सजिला तरिकाहरू छन् । जो घिस्रिने खालका हुन्छन्, उनीहरूले कुनै पनि चीजमा महारथ पाउने चिन्ता गर्नुपर्दैन । जतिन्जेल बाँच्नुहुन्छ, बाँच्नुहोस् । जब तपाईं मर्नुहुन्छ, तपाईं परमसम्म पुग्नुहुन्छ ।

कुनै पनि कुरामा, यहाँ सम्म कि सामान्य कुरामा निपुण हुनुमा समेत एक प्रकारको सुन्दरता हुन्छ, व्याख्या गर्नै नसकिने सौन्दर्य हुन्छ । जस्तै कि लात्ताले बल हिर्काउने काम एउटा सानो बच्चाले समेत गर्न सक्छ । तर, त्यसमा जब कोही निपुण वा पोख्त बन्दछन्, एकाएक त्यसमा सौन्दर्य बोध हुन्छ— जसले, आधा विश्वलाई नै जागा बसेर हेर्न बाध्य बनाउँछ । यदि तपाईं महारथ पाएर त्यसको आनन्द लिन चाहनुहुन्छ भने, गर्नुपर्ने थुप्रै कामहरू छन् । तर, यदि तपाईं घिस्रिन इच्छुक हुनुहुन्छ भने, त्यसको एउटै तरिका हो— शम्भो !

योग परम्परा अनुसार शिवका रूपहरू

भोलेनाथ

शिवलाई सदैव अत्यन्तै शक्तिशाली रूपमा हेरिन्छ । साथै, त्यस रूपमा पनि हेरिन्छ, जो सांसारिक पक्षमा खासै चलाख वा कपटी छैनन् । त्यसैले, शिवको एउटा रूपलाई भोलेनाथ भनिन्छ, किनकि उनी बच्चा जस्तै छन् । ‘भोलेनाथ’ अर्थात् साह्रै सोझो, वा अज्ञानी पनि भन्न सकिन्छ । तपाईं देख्न सक्नुहुन्छ कि सबैभन्दा बुद्धिमान् मानिसहरूको निकै सजिलैसँग फाइदा उठाइएको हुन्छ, किनकि उनीहरू झिना–मसिना चीजहरूमा आफ्नो बुद्धि लगाउन सक्दैनन् । विश्वमा, कम बुद्धि भएको चलाख र धूर्त व्यक्तिले सजिलैसँग बुद्धिमान् व्यक्तिलाई पछार्न सक्दछ । यसले धन–सम्पत्ति वा समाजको सन्दर्भमा केही अर्थ राख्न सक्ला, तर जीवनको सन्दर्भमा, यसको अलिकति पनि महत्त्व हुँदैन ।

जब हामी बुद्धिमता (प्रज्ञा) भन्छौँ, हाम्रो आशय केवल चलाख वा स्मार्ट हुने बारेमा होइन । बरु, त्यो आयाम जसले जीवन चलाइरहेको छ, त्यसलाई कसरी पूर्ण रूपमा सञ्चालित हुन दिने भनेर हेरिरहेका हुन्छौँ । शिव पनि यस्तै छन् । शिव मूर्ख छन् भन्न खोजिएको होइन, तर वास्तवमा कुरा के हो भने, शिवले झिना–मसिना कुराहरूमा आफ्नो बुद्धि लगाउन खासै रुचि राख्दैनन् ।

नटराज

नृत्यको देवता नाटेश वा नटराज, शिवको सबैभन्दा महत्त्वपूर्ण रूपहरूमध्ये एक हो । जब मैले स्विटजरल्यान्डमा रहेको भौतिक विज्ञानको प्रयोगशाला (CERN) को भ्रमण गरेको थिएँ, जहाँ परमाणुहरूको तोडफोड गरिन्छ, मैले त्यहाँको प्रवेशद्वारमा नटराजको मूर्ति देखेको थिएँ । किनकि, उनीहरूले यो पहिचान गरे कि मानव संस्कृतिमा उनीहरूको कामसँग मिल्दोजुल्दो वा त्यसको निकट जे रहेको छ, त्यो नटराजबाहेक अरू हुन सक्देन ।

नटराज रूपले सृष्टिको नृत्य अर्थात् कम्पन र उल्लास दर्शाउँछ, जसले शाश्वत निश्चलता र निःशब्दताबाट आफैँलाई सृजना गरेको हो । चिदम्बरम मन्दिरमा स्थापित नटराजको प्रतिमा निकै प्रतीकात्मक छ । किनकि, चिदम्बरम भनकै पूर्णतया निश्चलता हो । यसैलाई मन्दिरको रूपमा प्रतिस्थापन गरिएको हो । शास्त्रीय कलाहरूको अभिप्राय नै मानिसमा पूर्ण निश्चलता (स्तिरता) ल्याउनु हो । निश्चलताबिना साँचो कला व्यक्त हुनै सक्दैन ।

अर्धनारीश्वर

साधारणतया, शिवलाई परम-पुरुष भनिन्छ । तर, अर्धनारीश्वर रूपमा, उनको आधा भाग पूर्ण विकसित नारी हो । के भनिएको छ भने, यदि आफूभित्र पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) को मिलन भयो भने, तपाईं परम–आनन्दको चिरस्थायी अवस्थामा रहनुहुन्छ । यदि तपाईंले बाहिरी संसारमा त्यसो गर्न खोज्नुभयो भने, यो कहिल्यै टिक्दैन । साथै, त्योसँगै आउने अनेक समस्याहरू यस्तो नाटक बन्दछ, जुन कहिल्यै रोकिँदैन । पौरुष र स्त्रैण भनेको पुरुष र स्त्री होइन । यी निश्चित गुणहरू हुन् । मूलतः यो दुईजना व्यक्तिहरूको मिलनको चाहना होइन, बरु जीवनका दुई आयामहरूको मिलनको तीव्र चाहना हो, जो बाहिर साथसाथै भित्रसमेत एक हुन चाहन्छन् । यदि यसलाई तपाईंले आफूभित्र प्राप्त गर्नुभयो भने, बाहिरी मिलन शत–प्रतिशत तपाईंको रोजाइ अनुसार हुनेछ । अन्यथा, बाहिरी मिलन भयानक रूपमा बाध्यात्मक बन्नेछ ।

अर्धनारीश्वर एउटा प्रतीक हो, जसले यो दर्शाउँछ कि यदि तपाईं आफ्नो चरम रूपमा विकसित हुनुभयो भने, तपाईं आधा पुरुष र आधा नारी हुनुहुनेछ— नपुंसक होइन, बरु पूर्ण विकसित पुरुष र पूर्ण विकसित स्त्री बन्नुहुनेछ ! र त्यसबेला मात्रै, तपाईं पूर्ण विकसित मानव बन्नुहुन्छ ।

कालभैरव

कालभैरव, शिवको निकै डरलाग्दो वा घातक रूप हो— जुन, उनले समयलाई नै नष्ट गर्ने रीति अपनाउँदा प्रकट भएको हो । भौतिक आयामसँग सम्बन्धित सम्पूर्ण यथार्थहरू समयको सीमाभित्र रहन्छन् । यदि मैले तपाईंको समय नष्ट गरिदिएँ भने, सबैथोक समाप्त हुन्छ ।

“भैरवी यातना” सृजना गर्नको लागि सही किसिमको वस्त्र धारण गरी शिव कालभैरव बने । “यातना” अर्थात् चरम पीडा । जब मृत्युको क्षण आउँछ, कैयौँ जीवनकालहरू निकै तिव्रताले देखिन थाल्छन् । तपाईंलाई जे–जति दुःख–कष्ट र पीडा हुनुपर्ने हो, त्यो माईक्रोसेकेण्ड (एक सेकेण्डको अति सूक्ष्म भाग) मा हुन्छ । त्यसपछि, तपाईंमा अतीतको कुनै पनि कुरा बाँकी रहँदैन । आफ्नो “सफ्टवेयर” लाई नष्ट गर्नु पीडादायक हुन्छ । तर, यो मृत्युको क्षणमा हुन्छ, त्यसैले तपाईंसँग कुनै विकल्प हुँदैन । उनले यसलाई सम्भव भएसम्म छोटोभन्दा छोटो प्रक्रिया बनाउँछन्, किनकि पीडा जतिसक्दो चाँडो समाप्त हुनुपर्छ । त्यो तबमात्र हुन्छ, जब यसलाई अति नै तीव्र बनाइन्छ । यदि यो बिस्तारै भयो भने, यो सँधैभरी चलिरहन्छ ।

आदियोगी

योग परम्परामा, शिवलाई भगवानको रूपमा पूजा गरिँदैन । उनी आदियोगी (पहिलो योगी) हुन्, साथै आदिगुरु (पहिलो गुरु) हुन्, जसमार्फत योग–विज्ञानहरूको उत्पत्ति भएको थियो । दक्षिणायनको पहिलो पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ— यसैदिन आदियोगीले आफ्ना सातजना शिष्यहरू (सप्तऋषि ) लाई योगका विज्ञानहरू सञ्चार गरेका थिए ।

यो विज्ञान सम्पूर्ण धर्महरूभन्दा पहिल्यै रहेको थियो । मानिसहरूले मानवतालाई विभिन्न चरणहरूमा अपाङ्ग बनाउने युक्तिहरू निकाल्नु अघि नै मनुष्यको चेतनालाई माथि उकास्नको लागि जरूरी रहेका शक्तिशाली साधनहरू जानिएको थियो अनि प्रसारित गरिएको थियो । यसको गहनता र जटिलता अविश्वसनिय छ । त्यसबेलाका मानिसहरू सुसंस्कृत र बौद्धिक थिए कि थिएनन् भन्ने प्रश्नले कुनै अर्थ राख्दैन, किनकि यो कुनै निश्चित सभ्यता वा वैचारिक प्रकियाबाट जन्मिएको होइन । यो अन्तर्ज्ञानबाट प्रकट भएको थियो । यो स्वयं आदियोगीको उद्‌गार हो, उद्वलेन हो । आजको दिनसम्म, तपाईं एउटा पनि कुरालाई बदल्न सक्नुहुन्न, किनकि जे–जति कुरा भन्न सकिन्थ्यो, उनले ती सबैलाई निकै सुन्दर र बुद्धिमानी तरिकाले बताएका थिए । तपाईं केवल त्यसको अर्थ पत्ता लगाउने प्रयासमा आफ्नो पूरै जीवन बिताउन सक्नुहुन्छ ।

त्रैयम्बक

शिवलाई सदैव त्रयम्बक भन्ने गरिएको छ, किनकि उनीसँग तेस्रो नेत्र छ । तेस्रो नेत्र (आँखा) हुनु भनेको निधारको बिचमा चिरा परेको भन्ने होइन । यसको अर्थ के हो भने, उनको बोध वा अनुभूति चरम सम्भावनासम्म पुगेको छ । तेस्रो आँखा अन्तर्दृष्टिको आँखा हो । दुवै आँखाहरू तपाईंका इन्द्रियहरू मात्र हुन् । तिनले तपाईंको दिमागमा सबैथरिका वाहियात चीजहरू भर्छन्, किनकि तपाईं जे देख्नुहुन्छ, त्यो सत्य होइन । तपाईं यो व्यक्ति वा अर्को व्यक्तिलाई हेर्नुहुन्छ अनि उसको बारेमा केही धारणा बनाउनुहुन्छ, तर तपाईं ऊभित्रको शिवलाई देख्न सकिरहनु भएको हुँदैन । अतः तेस्रो नेत्र खोल्न जरूरी छ— अझ गहिराइमा र स्पष्ट रूपमा देख्न सक्ने आँखा खोल्न आवश्यक छ ।

जतिसुकै सोचे पनि वा दार्शनिक चिन्तन गरे पनि, यसले कहिल्यै तपाईंको दिमागमा स्पष्टता ल्याउँदैन । तपाईंले सृजना गर्नुभएको तार्किक स्पष्टतालाई जोसुकैले अपभ्रंश वा अपव्याख्या गरिदिन सक्छन्; अप्ठ्यारा परिस्थितिहरूले तिनलाई पूर्णतया भद्रगोल बनाइदिन सक्छन् । जब भित्री नेत्र खुल्छ, जब तपाईंमा भित्री दृष्टि हुन्छ, त्यसबेला मात्र तपाईंमा पूर्णतया स्पष्टता उदय हुन्छ ।

जसलाई हामी शिव भन्छौँ, त्यो अरू केही नभएर परम‍ बोधको मूर्त रूप हो । यही सन्दर्भमा, ईशा योग केन्द्रमा महाशिवरात्रि मनाइने गरिन्छ । महाशिवरात्रि, सबैका निम्ति एउटा अवसर र सम्भावना हो— ताकि, आफ्नो बोधलाई कम्तीमा पनि एक स्तर बढाउन सकियोस् । वास्तवमा, शिव यसकै लागि हुन्, योग यसकै लागि हो । यो कुनै धर्म होइन, बरु आफूभित्र विकसित हुने विज्ञान हो ।