कर्म – जीवनको स्मृति
सद्गुरुले भन्नुहुन्छ, कर्म तपाईंले गरेको कुनै राम्रो वा नराम्रो कार्य बारे होइन। कर्म जीवनको स्मृति हो।

सद्गुरु: कर्म शब्दले मानिसहरूको मनमा विभिन्न प्रकारका बुझाइहरू उत्पन्न गर्छ। कर्म भनेको कार्य हो। कार्य धेरै स्तरहरुमा हुन्छ। शारीरिक, मानसिक, भावनात्मक र ऊर्जाको स्तरमा हुने कार्यलाई हामी कर्म भन्छौँ। यदि कार्य यी चार आयामहरु भन्दा गहिरो अवस्थामा पुग्छ भने, त्यसलाई क्रिया भनिन्छ। त्यसैले कर्म र क्रिया दुवैले कार्यलाई जनाउँछन्, तर कर्म त्यो प्रकारको कार्य हो जसले प्रणालीमा एक प्रकारको छाप वा प्रभाव छोड्छ। यसको मतलब त्यस कार्यको स्मृति र chemistry प्रणालीमा रहन्छ। क्रिया भनेको त्यस्तो प्रकारको कार्य हो जसले एकदमै भिन्न आयाममा आफ्नो छाप छोड्छ र प्रणालीमा जम्मा भएको कर्मको अवशेषलाई भत्काउन थाल्छ।
कर्म धेरै प्रकार, तह र आयामको हुन्छ। तपाईंका बुवाले गर्नुभएका कार्यहरुले तपाईं भित्र विभिन्न तरिकाले काम गरिरहेका छन्, केवल तपाईंको परिस्थितिमा मात्र होइन, तपाईंको शरीरका हरेक कोशिकामा। तपाईंहरु धेरैले देख्नुभएको हुनसक्छ, जब तपाईं अठार या बीस वर्षका हुनुहुन्थ्यो, तपाईंले आफ्नो आमा वा बुवाको पूर्ण रूपमा विद्रोह गर्नुभयो, तर चालीस या पैंतालिस वर्षको हुँदा, तपाईंले उनीहरूजस्तै व्यवहार गर्न थाल्नुभयो। तपाईं उनीहरूजस्तै बोल्नुहुन्छ र क्रियाकलाप गर्नुहुन्छ। यो बाँच्ने निराशाजनक तरिका हो, किनकि यदि जीवनले आफूलाई दोहोर्याउने हो भने, यदि यो पुस्ताले पनि अघिल्लो पुस्ताले जस्तै व्यवहार गर्ने, जीवन जिउने र अनुभव गर्ने हो भने, यो एउटा व्यर्थ गएको पुस्ता हो।
यस पुस्ताले अघिल्लो पुस्ताले कल्पना पनि नगरेको तरिकाले जीवनको अनुभव गर्नुपर्छ। कुनै पागलपन गरेर होइन, तर तपाईंको जीवनको अनुभवलाई अर्को स्तरमा लैजानुपर्छ।
जीवनको स्मृति
तर कर्म केवल तपाईंको या तपाईंका पुर्खाहरूको मात्र होइन। जीवनको पहिलो एकल-कोशीय अंश, त्यो ब्याक्टेरिया या भाइरसको कर्म पनि आज तपाईंभित्र क्रियाशील छ। सामान्य आकारको शरीरमा तपाईंको लगभग १०/दश ट्रिलियन मानव कोशिका छन्। तर तपाईंको शरीरमा, एक सय ट्रिलियनभन्दा बढी ब्याक्टेरिया छन् – तपाईंको संख्या दसमा एक मात्र छ! तपाईंको अनुहारको छालामा मात्र १८/अठार बिलियन ब्याक्टेरिया छन्। के तपाईं खुसी हुनुहुन्न कि तपाईंले तिनीहरूलाई देख्नुपरेको छैन?
तपाईंको एक महत्वपूर्ण प्रतिशत वास्तवमा ब्याक्टेरिया हो। र तपाईंको भित्र भएका ब्याक्टेरियाले तपाईंका पुर्खाहरूमा भएका ब्याक्टेरियाको प्रकार अनुसार विशेष व्यवहारको ढाँचा बोकेका छन्। तपाईंको शरीरमा ब्याक्टेरियाले जसरी व्यवहार गर्छन् र अन्य शरीरमा जसरी व्यवहार गर्छन्, त्यो धेरै फरक छ र यो स्मृतिमा निर्भर गर्दछ।
त्यसैले तपाईंले ब्याक्टेरिया पनि एक विशेष गुणका साथ पाउनुभएको छ । तिनीहरूले बोकेको एक निश्चित कर्मको सामग्री र गरेको व्यवहारले तपाईंको जीवनको गुणलाई निश्चित किसिमको बनाउँछ । त्यसैले कर्म तपाईंले गरेको कुनै राम्रो वा नराम्रो कार्य बारे होइन। कर्म भनेको जीवनको स्मृति हो। शरीरको संरचना यसरी बनेको छ किनभने एकल-कोशीय जीवबाट लिएर अन्य सबै रूपहरूमा जीवनको स्मृति छ। यो चिकित्सकिय/medical तथ्य हो कि तपाईंको मस्तिष्कमा एक सर्पीय/reptilian मस्तिष्क छ जुन लगभग गोहीको मस्तिष्कको आकारको छ। अब तपाईंले थाहा पाउनुभयो कि किन तपाईं सबै प्रति यति आक्रमक हुनुहुन्छ?
तपाईंका बारेमा भएका सबै ठूला विचारहरू धेरै गलत छन्। यही कारण हो कि हामीले भनेका थियौं, “यो सबै माया हो,” किनकि तपाईंको भित्र भइरहेका घटनाहरू यसप्रकारका छन् कि लगभग तपाईंले गर्ने सबै कुरा विगतको जानकारीद्वारा नियन्त्रित छ।
"के यसको मतलब म आशाहीन रूपमा अल्झिएको छु?" पक्कै अल्झिएको हो, तर आशाहीन रुपमा होइन। पशुपत हुने बाट - पशु प्रकृतिको एक समग्र अभिव्यक्ति, त्यो एककोषीय जीवबाट लिएर सबैभन्दा माथिल्लोसम्म - त्यहाँ पशुपति बन्न सक्ने सम्मको सम्भावना छ। "पशु" को अर्थ जीवन हो, "पति" को अर्थ प्रभु हो, सबै जीवनहरुको प्रभु - यो सबैलाई पछाडि छोडेर माथि उठ्न सकिन्छ।
मानव प्रणाली भित्र, प्रणालीको आधारभूत अस्तिपञ्जर – आर्थोपेडिक अस्तिपञ्जर होइन, तर ऊर्जा अस्तिपञ्जर – वा ऊर्जा को आधारभूत blueprintमा ११२ चक्र वा junction points छन् जहाँ यो एकसाथ राखिएको छ।
यी सबै चक्रहरू कर्मको अवशेष या अघिल्लो स्मृतिको प्रभावअनुसार काम गर्छन्, जसले यो जीवन प्रक्रियालाई चलायमान राख्दछ। तर शरीरको भौतिक ढाँचाबाहिर दुई अन्य चक्रहरू छन्, जुन सामान्यतया अधिकांश मानिसहरूमा धेरै कम वा लगभग निष्क्रिय रहन्छन्। तर यदि तपाईंले पर्याप्त साधना गर्नुभयो भने, तिनीहरू सक्रिय हुन्छन्।
११४ औं चक्र एक विशेष तरिकामा धड्किन्छ जसलाई प्राचीन समयमा ओरोबोरोस/Ouroborosको रूपमा वर्णन गरिएको छ – आफ्नै पुच्छर निल्दै गरेको सर्पको प्रतीक। तपाईं यो प्रतीक लगभग हरेक प्राचीन संस्कृतिमा देख्न सक्नुहुन्छ। भारतमा तपाईं यसलाई मन्दिरहरूमा देख्न सक्नुहुन्छ, ग्रीस, इजिप्ट र मेसोपोटामियाली मन्दिरहरूमा पनि – लगभग सबै ठाउँमा। तपाईं ओरोबोरोस/Ouroborosलाई सबै प्राचीन संस्कृतिहरूमा देख्न सक्नुहुन्छ जुन यहाँभन्दा परको कुरामा बढी ध्यान केन्द्रित गरिरहेका थिए।
आजको आधुनिक गणितले Ouroboros/ओरोबोरोसलाई अनन्तता/infinity को चिन्हको रूपमा प्रयोग गर्दछ। त्यसैले ११४ औं चक्र अनन्तको रूपमा धड्किन्छ। र यदि कसैको ऊर्जाले तपाईंको भित्रको यस आयामलाई छुन्छ भने, तब तपाईंले गर्ने प्रत्येक कार्य, जुनसुकै होस् , मुक्ति प्रक्रियाको रूपमा हुन्छ किनकि कार्य अब तपाईंको होइन, यो अनन्त स्वभावको हो। यदि कसैको ऊर्जा ११२ भित्र छ भने, तपाईंले गर्ने प्रत्येक कार्यमा एक अवशेष हुन्छ, त्यसैले यो राम्रो हुन्छ कि तपाईंले यस्ता कार्यहरू गर्नुहोस् जसले तपाईंमा एक सुखद अवशेष छोड्छ।
मुलभूत चिच्याहट
क्रियाकलापले तपाईंलाई अल्झाउँछ या यो मुक्ति को प्रक्रिया हुन्छ भन्ने कुरा मूलतः साधनाको स्तर र कार्य गर्ने तरिका र इच्छामा निर्भर गर्दछ। यदि मानिसहरूले जीवनमा आवश्यक कार्यहरू नगरी साधना गर्न खोज्छन् भने, साधना एक ठूलो संघर्ष हुनेछ।
यदि तपाईंले दिनमा बाह्र घण्टा ध्यान गर्न खोज्नुभयो भने, सुरुमा यो ठूलो सौभाग्य जस्तो लाग्नेछ, तर एक महिनामै तपाईं पागल हुनुहुनेछ। यदि तपाईंले त्यो पागलपन पार गर्नुभयो भने, तपाईंले सबै कुरा पार गर्नुहुनेछ, तर अधिकांश मानिसहरू पागलपन उठ्दा हार मान्छन्, किनकि यो सजिलो छैन।यो तपाईंका बुबा, तपाईंका हजुरबुबा, तपाईंका पुर्खाहरू र त्यो बेवकुफ ब्याक्टेरियाको मुलभूत चिच्याहट हो। तिनीहरू सबैले अभिव्यक्तिको खोजीमा चिच्याउनेछन्। तिनीहरू चुप बस्नेवाला छैनन्। तपाईं तिनीहरूलाई सबैलाई मेटाउन सक्नुहुन्छ, तर यो एक कठिन बाटो हो जसलाई धेरै साधनाको आवश्यकता पर्छ। या तपाईं तिनीहरूबाट दुरी बनाउन सक्नुहुन्छ – तिनीहरूले चिच्याउन, तर तपाईंलाई परवाह छैन किनकि तपाईंले सुन्नुहुन्न। यी दुई भिन्न तरिकाहरू छन्, तर तपाईं तिनीहरूलाई बेवास्ता गर्न सक्नुहुन्न किनकि तिनीहरू तपाईंको शरीरका हरेक कोशिकामा धड्किरहेका छन्।
यी सबैबाट टाढा हुनको लागि निकै संघर्ष गर्नुपर्छ, या यसको लागि केवल भक्ति चाहिन्छ। यदि तपाईंले यो आफैं गर्नुपर्यो भने, निकै संघर्ष गर्नुपर्छ। यदि तपाईं कृपा सँगै जानुहुन्छ भने, कुनै संघर्ष हुदैँन तर तपाईं चालकको सिटमा हुनुहुन्न। त्यसैले तपाईंले कसरी गाडी चलाउने भनेर सिख्नुपर्छ – जसले धेरै जोखिमहरू समावेश गर्छ – या त एक सिपालु ड्राइभर ले गाडी चलाउनेछ र तपाईं पछाडि बसेर सुत्न सक्नुहुन्छ। जब तपाईं जसै त्यहाँ पुग्नुभयो भने, कसरी पुग्नुभयो भन्नेले के फरक पार्छ र?
(सद्गुरुको पुस्तक "मिस्टिक्स एण्ड मिस्टेक्स" बाट उद्धृत)।


