आफ्नो कर्मलाई नियन्त्रणमा लिनुहोस्
विभिन्न तरिकाले लामो समयदेखि प्रयोग र दुरुपयोग गरिएको शब्दको व्याख्या गर्दै, सद्गुरुले कर्मको अर्थ बताउनुहुन्छ। यसका प्रभावहरूले कति गहिरो जरा गाडेको छ भन्ने कुरा बताउँदै, उहाँले यस्तो जटिल संरचनामाथि "नियन्त्रण" पाउने तरिका पनि देखाउनुहुन्छ ।

Pre-order Sadhguru's new book - Karma: A Yogi's Guide to Crafting Your Destiny
एपिजेनेटिक्स/Epigenetics, जीवविज्ञानको एउटा शाखा हो जसले कसरी मानिसको व्यवहार र जीवनका अनुभवहरूले उसको डीएनएमा प्रभाव पार्दछ भन्ने बारे अध्ययन गर्दछ, र त्यसैले यो एउटा पुस्ता देखी अर्को पुस्ता सम्म हस्तान्तरण हुन सक्छ भनि आज वैज्ञानिकहरूले अन्वेषण गरिरहेका छन्। तथापि, योगको दृष्टिकोणमा, बितेको समयको प्रभाव हाम्रा पुर्खाहरूभन्दा धेरै पर, यस ग्रहमा उत्पन्न भएको पहिलो जीवनरुप सम्म जान्छ। यस लेखमा, सद्गुरुले कर्मको अर्थ बताउनुहुन्छ, जुन शब्द विभिन्न सन्दर्भमा लामो समयदेखि प्रयोग र दुरुपयोग हुँदै आएको छ। यसका प्रभावहरूले कति गहिरो जरा गाडेको छ भन्ने कुरा बताउँदै, उहाँले यस्तो जटिल संरचनामाथि "नियन्त्रण" पाउने तरिका पनि देखाउनुहुन्छ।.
सद्गुरु: कर्म भनेको कार्य वा कार्यको छाप हो जुन हामीभित्र रहन्छ। तपाईंको बुबाले गरेका कामहरूले तपाईंको परिस्थितिमा मात्र होइन, तपाईंको शरीरको प्रत्येक कोषमा काम गरिरहेका छन् र प्रभाव पारिरहेका छन्। आफ्ना आमाबुबाबाट मुक्त हुन त्यति सजिलो छैन! तपाईंले ध्यान दिनुभएको होला कि जब तपाईं अठार वा बीस वर्षको हुनुहुन्थ्यो, तपाईंले आफ्ना बुबा वा आमाको विरुद्ध पूर्ण विद्रोह गर्नुभयो, तर जब तपाईं चालीस वा पैंतालीस वर्षको हुनुभयो, तपाईं उनीहरूजस्तै बोल्न, काम गर्न र देखिन थाल्नुभयो। यो जीवन जिउने निराशजनक तरिका हो किनभने यदि यो पुस्ताले अघिल्लो पुस्ताले जस्तै व्यवहार गर्ने, काम गर्ने, बाँच्ने र जीवनको अनुभव गर्ने हो भने, यो एउटा व्यर्थ गएको पुस्ता हो। यस पुस्ताले अघिल्लो पुस्ताले कल्पना पनि नगरेको तरिकाले जीवनको अनुभव गर्नुपर्छ। मैले तपाईंले सडकमा गएर केही पागलपन गर्नुपर्छ भन्न खोजेको होइन, मैले तपाईंले जीवनको अनुभव गर्ने तरिका पूर्णरूपमा परिवर्तन गर्न सकिन्छ भन्न खोजेको हो। यसलाई अनुभवको अर्को तहमा लैजान सकिन्छ।
मुलभूत चिच्याहट
तर कर्म केवल तपाईंको, तपाईंका बुबाको वा तपाईंका हजुरबुबाको मात्र होइन। पहिलो जीवन रूप, त्यो ब्याक्टेरिया वा भाइरस, त्यो एककोषीय जीवको कर्म पनि आज तपाईंभित्र क्रियाशील छ। तपाईंको शरीरमा भएका ब्याक्टेरियाको प्रकार पनि तपाईंका आमाबुबा वा हजुरबुबाआमामा कस्तो किसिमको ब्याक्टेरिया थियो भन्ने कुरामा भर पर्दछ र यसले एउटा खास व्यवहारिक ढाँचा बोकेको हुन्छ। त्यसैले, तपाईंले आफ्नो बारेमा राख्नुभएका सबै महान् विचारहरू, तपाईंले आफ्नो व्यक्तित्वको बारेमा राख्नुभएका सबै महान् विचारहरू एकदमै गलत छन्। यसैकारण हामीले तपाईंलाई भन्यौं, यो सबै माया हो, किनभने तपाईंभित्र कुराहरू खेलिरहेको तरिका यस्तो छ कि तपाईंले गर्ने लगभग हरेक काम बितेको जानकारीद्वारा नियन्त्रित छ।

यदि मैले तपाईंलाई यस्तो भन्छु कि, "तपाईंले केही गर्नु पर्दैन, हामी तपाईंको हेरचाह गर्छौं। केवल बस्नुहोस् र दिनको बाह्र घण्टा ध्यान गर्नुहोस्," सुरुमा यो ठूलो सौभाग्य जस्तो लाग्न सक्छ, तर एक महिनापछि, तपाईं पागल हुनुहुनेछ। यदि तपाईंले त्यो पागलपन पार गर्नुभयो भने, तपाईंले सबै कुरा पार गर्नुहुनेछ, तर धेरैजसो मानिसहरूले पागलपन उत्पन्न हुँदा नै हार मान्छन् । उनीहरू आत्तिन्छन् र भाग्ने प्रयास गर्छन् किनभने यो सजिलो हुनेवाला छैन। यो तपाईंका बुबा, तपाईंका हजुरबुबा, तपाईंका पुर्खाहरू र त्यो बेवकुफ ब्याक्टेरियाको मुलभूत चिच्याहट हो। लाखौं जीवनहरू, ती सबैले अभिव्यक्तिको लागि चिच्याउने छन्। उनीहरूले आफ्नो कुरा राख्न खोज्नेछन्। उनीहरूले तपाईंलाई यत्तिकै मुक्त हुन दिनेछैनन्। तपाईंले उनीहरूलाई बेवास्ता गर्न सक्नुहुन्न किनभने उनीहरू तपाईंको शरीरको प्रत्येक कोषमा धड्किन्छन्।
"के यसको मतलब म आशाहीन रूपमा अल्झिएको छु?" पक्कै अल्झिएको हो, तर आशाहीन रुपमा होइन। पशुपत हुने बाट - पशु प्रकृतिको एक समग्र अभिव्यक्ति, त्यो एककोषीय जीवबाट लिएर सबैभन्दा माथिल्लोसम्म - त्यहाँ पशुपति बन्न सक्ने सम्मको सम्भावना छ। "पशु" को अर्थ जीवन हो, "पति" को अर्थ प्रभु हो, सबै जीवनहरुको प्रभु - यो सबैलाई पछाडि छोडेर माथि उठ्न सकिन्छ।
कुराहरुलाई नियन्त्रणमा लिनुहोस्
यसलाई बुझ्नुपर्छ, कर्म तपाईंको शत्रु होइन। कुन कुरा के हो भन्ने प्रति तपाईंको अचेतना नै तपाईंको शत्रु हो। कर्म जीवनको स्मृति हो। त्यो एककोषीय जीवदेखि हरेक अन्य रूपसम्मको स्मृति भएका कारणले मात्र तपाईंले यो शरीरलाई यसरी निर्माण गर्न सक्नुभएको हो। तपाईंको कर्म नै अहिले तपाईंको भौतिक शरीर अस्तित्वमा रहनु को मूल आधार हो। यदि तपाईंको सबै कर्म हटाइयो भने, यसै क्षण तपाईंले आफ्नो शरीर त्याग्नुहुनेछ। यो तपाईंको प्लग तान्नु जस्तै हो। कर्म ग्लु(glue) हो, कर्म त्यो हो जसले तपाईंलाई शरीरसँग जोडेको छ।
तपाईंले आफ्नो शरीर वा दिमाग परिवर्तन गर्नु पर्दैन, तपाईंले गर्नुपर्ने कुरा भनेको ह्यान्डल कहाँ छ भनेर पत्ता लगाउनु हो। अहिले, यदि तपाईं कारमा बस्नुहुन्छ भने, तपाईंले सिट-बेल्ट लगाउनुहुन्छ। सिट-बेल्ट राम्रो कुरा हो, यसले तपाईंको ज्यान बचाउन सक्छ। तर मानौं तपाईंले आफूलाई यसरी सिट-बेल्ट लगाउनुभयो कि तपाईंले यसलाई चाहिँदा पनि खोल्न सक्नुहुन्न भने, यो तपाईंको कारागार बन्नेछ। जब तपाईं कारभित्र बस्नुहुन्छ, तपाईं ढोका बन्द गर्नुहुन्छ। यो राम्रो कुरा हो। तर मानौं तपाईं कारभित्र बस्नुभयो र ढोका खोल्न सक्नुभएन भने, यो भयानक हुनेछ। तपाईंले केवल ह्यान्डल कहाँ छ भनेर थाहा पाउनुपर्छ। त्यसपछि, तपाईंसँग कर्मको पहाड नै भए पनि कुनै समस्या हुदैँन।
समस्या कर्मको कारणले आएको होइन, समस्या त तपाईं त्यसमा अल्झिनुभएको कारणले आएको हो, तपाईं त्यसमा फस्नुभएको कारणले आएको हो। यदि तपाईं र तपाईंको शरीरबीच, तपाईं र तपाईंको मनबीच अलिकति दूरी आउँछ भने, जस्तोसुकै कर्म भए पनि, त्यसले तपाईंमाथि कुनै प्रभाव पार्दैन। तपाईं अझै पनि शरीरधारण गरि जीवित रहन यसको उपयोग गर्न सक्नुहुन्छ, तपाईंले अझै पनि एक निश्चित व्यक्तिगत चरित्र कायम राख्न सक्नुहुन्छ तर त्यो बन्धन बन्दैन, यो खुड्किलो बन्नेछ।
ईशा ब्लगबाट नवीनतम अपडेट पाउनुहोस् . Youtube, facebook, Instagram or browser extensions, take your pick.



