ieco
ieco

शिवको तेस्रो नेत्र— यसको प्रतीकात्मक अर्थको कथा

article शिव–कथाहरू
सद्‌गुरुले शिवको तेस्रो नेत्रको प्रतीकात्मक अर्थ बताउँदै हुनुहुन्छ । साथै, तेस्रो नेत्र खुलेपछि कसरी स्पष्टता र बोध उदय हुन्छ भन्नेबारे वर्णन गर्दै हुनुहुन्छ । सोहीक्रममा, शिवले आफ्नो तेस्रो नेत्रले कामदेवलाई भष्म पारेको कथा उल्लेख गर्दै हुनुहुन्छ ।

जब शिवले आफ्नो तेस्रो नेत्र खोले

शिवले आफ्नो तेस्रो नेत्र खोलेको बारेमा एउटा कथा छ । यहाँ प्रेम र वासनाका पनि देवता छन्, जसलाई कामदेव भनिन्छ । काम अर्थात् वासना । वासना यस्तो कुरा हो, जसलाई धेरैजसो मानिसहरूले सोझै सामना गर्न रुचाउँदैनन् । तपाईं त्यसको वरपर केही सुन्दर तानाबाना बुन्न चाहनुहुन्छ, त्यसैले तपाईं त्यसलाई प्रेम बनाउनुहुन्छ ! कथा यस प्रकार छः कामदेवले रूखको पछाडि लुकेर शिवको हृदयमा वाण प्रहार गरे । शिव अलिकति विचलित भए । तब, उनले आफ्नो तेस्रो नेत्र खोले, जुन प्रचण्ड नेत्र हो, अनि उनले कामदेवलाई भष्म बनाए । सामान्यतया, मानिसहरूमाझ यसरी कथा प्रस्तुत गरिएको छ ।

तर, कृपया आफैँलाई सोध्नुहोस्, के तपाईंको वासना तपाईंभित्र उत्पन्न हुन्छ वा रूखको पछाडि ? अवश्य पनि यो तपाईंभित्र उत्पन्न हुन्छ । वासना विपरीत लिङ्गबिच मात्र हुने होइन । हरेक कामना वासना हो, चाहे त्यो कामुकताको लागि होस्, वा शक्ति वा पदको लागि । मूल रूपमा वासनाको अर्थ यो हो कि तपाईंभित्र अपूर्णताको भावना छ— कुनै चीजप्रति यस्तो तीव्र चाहना छ, जसले तपाईंलाई यो महसुस गराउँछ कि “यदि मसँग त्यो भएन भने, म पूर्ण हुँदिनँ ।”

शिवको तेस्रो नेत्र: योगको दृष्टिकोण

यसैको आधारमा, शिव र कामदेवको यो कथा योगको आयामसँग जोडिएको छ । शिव योग–मार्गमा काम गरिरहेका थिए । अर्थात्, उनी पूर्ण हुनका लागि मात्र नभई, असीमित हुनका लागि समेत काम गरिरहेका थिए । उनले आफ्नो तेस्रो नेत्र खोले अनि आफ्नै कामवासना जाग्दै गरेको देखेपछि त्यसलाई जलाइदिए । बिस्तारै उनको शरीरबाट खरानी बाहिर निस्कियो, जसले यो दर्शाउँछ कि उनीभित्र सबैथोक शान्त भएको थियो । तेस्रो नेत्र खोलेपछि उनले आफूभित्र भौतिकभन्दा परको आयाम देखे, अनि भौतिक पक्षका सम्पूर्ण विवशताहरू बिलाए ।

शिवको तेस्रो नेत्र— प्रतीकको अर्थ

तेस्रो नेत्र भन्नाले त्यो आँखालाई जनाउँछ, जसले अभौतिक देख्न सक्छ । यदि तपाईंले आफ्नो हातलाई हेर्नुभयो भने, तपाईंले यसलाई देख्न सक्नुहुन्छ किनकि यसले प्रकाशलाई रोक्छ र प्रतिबिम्बित गर्छ । तपाईंले हावालाई देख्न सक्नुहुन्न, किनकि त्यसले प्रकाशलाई रोक्दैन । तर, यदि हावामा थोरै धुवाँ हुने हो भने, तपाईं त्यसलाई देख्न सक्नुहुनेछ— किनकि तपाईं त्यसलाई मात्र देख्न सक्नुहुन्छ, जसले प्रकाशलाई रोक्छ । जुन कुराबाट प्रकाश वारपार हुन सक्दैन, तपाईं त्यसलाई देख्न सक्नुहुन्न । यही यी दुई संवेदी आँखाको प्रकृति हो ।

संवेदी आँखाले केवल भौतिकलाई देख्न सक्छ । जब तपाईं भौतिक प्रकृतिबाट परको कुरा देख्न चाहनुहुन्छ, तब त्यसलाई देख्ने एकमात्र तरिका भनेको आफूभित्र हेर्नु हो । जब हामी “तेस्रो नेत्र” भन्छौँ, हामी प्रतीकको माध्यमले केही यस्तो देख्नेबारे कुरा गरिरहेका छौँ, जसलाई यी दुई संवेदी आँखाहरूले देख्न सक्दैनन् ।

संवेदी आँखाहरू बाहिरतिर उन्मुख हुन्छन् । तेस्रो नेत्र आफ्नो भित्री आयाममा हेर्नको लागि हो— आफू र आफ्नो अस्तित्वको प्रकृति हेर्न । तेस्रो नेत्र भनेको तपाईंको निधारमा केही थपिनु वा चिरा पर्नु होइन । तेस्रो नेत्र बोधको यस्तो आयाम हो, जसमार्फत तपाईंले भौतिकभन्दा परको आयाम जान्न सक्नुहुन्छ ।

जीवनलाई तेस्रो नेत्रले हेर्ने

अर्को पक्ष यो हो कि संवेदी आँखाहरू कर्मले गर्दा गहिरो रूपमा दूषित भएका हुन्छन् । कर्म भनेको विगतमा गरिएका कामहरूको अवशेषको रूपमा रहेको स्मृति हो । तपाईंले देख्ने हरेक कुरामा यो कर्मको स्मृतिले गहिरो प्रभाव पारेको हुन्छ । तपाईंमा त्यो आइहाल्छ । तपाईंले कसैलाई हेर्नुभयो भने, तपाईं सोच्नुहुन्छ, “ऊ राम्रो छ, ऊ राम्रो छैन, ऊ असल छ, ऊ खराब छ ।” तपाईंले कुनै पनि चीजलाई त्यसको मूल रूपमा देख्न सक्नुहुन्न, किनकि कर्मको स्मृतिले यो दृष्टि र तपाईंको देख्ने क्षमतामा प्रभाव पार्छ । तपाईंको कर्म जस्तो छ वा तपाईंको विगतका स्मृतिहरू जस्ता छन्, सोहीअनुसार हरेक कुरा तपाईंसामु प्रस्तुत हुन्छन् ।

चीजहरू जस्ता छन्, तिनलाई त्यसरी नै देख्न सक्षम बन्नको लागि पूरै गहिराइमा देख्न सक्ने आँखा खोलिनुपर्छ, जसमा स्मृतिको अवशेष हुनुहुँदैन । यस संस्कृतिमा परम्परागत रूपमा, जान्नुको अर्थ किताबहरू पढ्नु, कसैको कुरा सुन्नु वा जानकारी बटुल्नु भन्ने हुँदैनथ्यो । जान्नु भनेको जीवनप्रति नयाँ दृष्टि वा भित्री दृष्टि खोल्नु हो । जतिसुकै सोचेपनि वा दार्शनिक चिन्तन गरेपनि, त्यसले तपाईंको दिमागमा स्पष्टता ल्याउन सक्दैन । तपाईं तार्किक रूपमा जतिसुकै स्पष्ट बनेपनि, त्यसलाई सजिलै बङ्ग्याउन सकिन्छ । कठिन परिस्थितिहरूले यसलाई पूर्ण रूपमा खल्बल्याउन सक्छन् ।

तपाईंको भित्री दृष्टि खुल्यो भनेमात्र पूर्ण रूपमा स्पष्टता उदय हुन्छ । तपाईंभित्रको यो स्पष्टतालाई कुनै पनि परिस्थिति वा व्यक्तिले बङ्ग्याउन वा तोडमोड गर्न सक्दैन । सही अर्थमा ज्ञान उदय हुनको लागि तपाईंको तेस्रो नेत्र खुल्नुपर्ने हुन्छ ।