logo
logo

शिवको नीलकण्ठ रूपले के दर्शाउँछ ?

आदियोगी शिवका अनेकौँ नामहरूमध्ये एउटा महत्त्वपूर्ण नाम "नीलकण्ठ" हो । सद्‌गुरु, शिवको नीलकण्ठ रूपको प्रतिकात्मक अर्थ बताउँदै हुनुहुन्छ ।

प्रश्न: शिवको घाँटी किन निलो देखाइन्छ ?

सद्‌गुरु: योग–विद्यामा एउटा कथा छ । देवता र दानवहरूको बिचमा युद्ध चलिरहेको थियो । जब बारम्बार युद्ध भइरह्यो अनि धेरैजना मारिने क्रम चलिरह्यो, उनीहरूले समुद्रमा लुकेर रहेको अमृत निकालेर आफू–आफूबिच बाँड्ने निधो गरे— ताकि दुवै पक्ष अमर बन्न सकून् अनि आनन्दपूर्वक युद्ध लड्न सकुन् ! युद्ध यसकारण भयानक हुने गर्दछ, किनकि त्यहाँ थुप्रैको मृत्यु हुन्छ । यदि मृत्यु हुने पक्षलाई सम्हालियो भने, युद्ध समेत अद्‌भूत बन्दछ ।

उनीहरूले आपसमा साझेदारी गरे अनि समुद्र मन्थन गर्ने निर्णय गरे । किंवदन्तीअनुसार, उनीहरूले मेरु नामक पर्वत उचालेर त्यहाँ ल्याए अनि एउटा विशाल सर्पलाई मथनी वा डोरीको रूपमा प्रयोग गरी समुद्र मन्थन शुरु गरे । समुद्र मन्थन शुरु भएपछि शुरुवातमा अमृतको सट्टा समुद्रको पिँधबाट घातक विष बाहिर निस्कियो । यसलाई हलाहल भनिन्थ्यो । यो घातक विष विशाल मात्रामा निस्किन थाल्यो । सबै देवताहरू डराए, किनकि यति विशाल मात्रामा विष निस्किएको हुनाले पूरै संसार विनाश हुने खतरा थियो । अनि, त्यहाँ कसैमा पनि यसलाई रोक्ने सामर्थ्य थिएन ।

सदाझैँ, जब कुनै पनि परिस्थितिमा केही गर्नको लागि कोही पनि इच्छुक हुँदैनन्, तब सबैले शिवलाई पुकार्छन् । यो परिस्थितिलाई शिवले नै पार लगाउन सक्ने ठानेर उनीहरूले शिवलाई पुकारे अनि विशाल मात्रामा निस्किरहेको विष देखाए । "यदि यो फैलियो भने, यसले सम्पूर्ण जीवन नष्ट गरिदिन्छ । तपाईंले केही गर्नैपर्छ ।" सदाझैँ, आफ्नो हित-अहितबारे कुनै चिन्ता नै नगरी उनले सहजै विष पिइदिए । उनकी अर्धाङ्गिनी पार्वतीले यो देखिन् र तुरुन्तै गएर उनको घाँटीमा च्याप्प समाइन् । अनि, सबै विष उनको घाँटीमै रोकियो र उनको घाँटी पूरै निलो भयो ।

पूर्वाग्रहको विष र नीलकण्ठ को प्रतीक


यो कथा निकै महत्त्वपूर्ण छ । यो हरेक मानिसको सन्दर्भमा यथार्थ हो । यदि तपाईंले हरेक मानिसको भित्री गहिराइसम्म खोतल्नुभयो भने, त्यहाँ एउटै कुरा छ— निरन्तर फैलिरहेको जीवन । यदि यस पक्षसँग मानिसहरूले आफ्नो पहिचान गाँस्ने हो भने, उनीहरूको मन र भावना पनि त्यसैअनुरूप काम गर्दछ । तर, यदि तपाईंले उनीहरूलाई सतही रूपमा हेर्नुभयो भने, यो महिला, यो पुरूष, यो विदेशी, यो स्वदेशी अनि यस्तै थुप्रै कुराहरू हुन्छन् । यही पूर्वाग्रह विष हो । जब उनीहरूले सतहमा मन्थन गरे, तब सांसारिक विष बाहिर निस्किए । सबैजना भागाभाग गर्न थाले, किनकि कोही पनि विषलाई छुन चाहँदैनन् । शिवले संसारको विष पिए अनि त्यो उनको घाँटीमै रोकियो । यदि त्यो विष भित्र गएको भए, उनलाई विषले असर गर्ने थियो । तर, त्यो घाँटीमै रोकियो, जसकारण उनले चाहेको समयमा त्यसलाई थुकेर फाल्न सक्छन् । यदि त्यो तपाईंको घाँटीमा छ भने, तपाईंले त्यसलाई थुकेर फाल्न सक्नुहुन्छ । यदि त्यो तपाईंको शरीरभित्र प्रवेश गऱ्यो भने, तपाईंले त्यसलाई बाहिर निकाल्न सक्नुहुन्न ।

यतिखेर, तपाईंको राष्ट्रियता, लैङ्गिकता, परिवार, वंशाणुगत पहिचानहरू, जातिय पहिचानहरू, धर्म इत्यादि तपाईंको घाँटीमा रोकिएको छैन । ती सबैथोक तपाईंको प्रत्येक कोषिकामा घुसेका छन् । तपाईंले गर्नुपर्ने काम भनेको त्यसलाई मन्थन गर्नु हो, ताकि ती सबै बाहिर निस्किऊन् र तपाईंले त्यसलाई बाहिर थुक्न सक्नुहोस्— अनि, तपाईं यहाँ जीवनको अंशको रूपमा मात्रै रहन सक्नुहोस् !

शिवको घाँटी निलो देखाइनुको प्रतीकात्मक अर्थ यही हो । उनले संसारको विष आफ्नो घाँटीमा जम्मा गरे, ताकि त्यसलाई जब निकाल्नुपर्ने हुन्छ, तब बाहिर थुक्न सकियोस् । यदि त्यो भित्र शरीरमा गएको भए, त्यसलाई कुनै पनि तरिकाले बाहिर निकाल्न सकिँदैनथ्यो । एक तरिकाले सम्पूर्ण आध्यात्मिक प्रक्रिया पनि मन्थन गर्ने प्रक्रिया हो— ताकि, तपाईंका सबै पूर्वाग्रह र पक्षपाति धारणाहरू माथि आऊन् अनि एकदिन हामी तपाईंलाई त्यसलाई थुकेर बाहिर फाल्ने बनाउन सकौँ । यदि त्यो निकै भित्र गढेको छ भने, त्यसलाई कसरी बाहिर निकाल्ने ? यदि मैले तपाईंको एउटा पूर्वाग्रहलाई बाहिर निकाल्न खोजेँ भने, तपाईंको अनुभवमा तपाईंको जीवन नै खोसिँदैछ जस्तो महसुस हुनेछ । तपाईंले आफ्नो लैङ्गिकता, सन्तान, मातापिता वा राष्ट्रसँग जुन पहिचान जोड्नुभएको छ, यदि मैले त्यसलाई तपाईंबाट अलग गराउने कोशिस गरेँ भने, तपाईंको प्राण नै निकालिँदैछ जस्तो महसुस गर्नुहुनेछ । त्यसो होइन, पूर्वाग्रहको विषलाई मात्र बाहिर निकालिएको हो । अत: पूर्वाग्रहहरूको विषलाई बाहिर थुक्ने समय भएको छ !

    Share

Related Tags

Get latest blogs on Shiva