शिव–पार्वतीको विचित्र विवाह !

article शिव–कथाहरू
शिव र पार्वतीको विवाह राजकीय विषय थियो, किनकि पार्वती राजकुमारी थिइन् । तर, विवाह समारोहमा शिव जटा फिजाउँदै आफ्ना गणहरूसँग मण्डपमा प्रवेश गर्छन्...

सद्‌गुरुः योग–परम्परामा एउटा सुन्दर कथा छ । आदियोगी शिव र पार्वतीको विवाह भव्य रूपमा आयोजना गर्न लागिएको थियो । पार्वती एक राजकुमारी थिइन्, त्यसैले त्यस क्षेत्रका सबै आफन्त, नातेदार र मान्यजनहरू आमन्त्रित थिए— राजाहरू, रानीहरू, देवी-देवताहरू सबैजना पूरै सजिएर झकिझकाउ भएर उपस्थित भएका थिए, जहाँ एकभन्दा अर्को बढी सुन्दर देखिन्थे ।

त्यसपछि, वरको आगमन भयो— शिव आफ्नो लट्टा र जटा फिजाउँदै, शिरदेखि पैतलासम्म खरानी धसेर, रगत चुहिँदै गरेको हात्तीको ताजा छाला ओढेर त्यहाँ उपस्थित भएका थिए । उनी नशाले पूरै मदमत्त थिए अनि परम–आनन्दमा चुर्लुम्म डुबेका थिए । उनका साथी–सङ्गीहरू सबै विक्षिप्त र विकृत प्राणीहरू थिए— मान्छेको रूप होइन ! उनीहरू सबैजना आफू–आफूमा अनेक प्रकारका आवाजहरूमा हल्लाखल्ला गरिरहेका थिए । उनीहरू यस्तो भाषामा बोलिरहेका थिए, जुन अरू कसैले बुझ्न सक्दैनथे ।

पार्वतीकी माता, मीनाले वरलाई हेरिन् अनि बेहोश भइन् ! पार्वती शिव भएतिर गइन् र अनुरोध गरिन्, “तपाईं जस्तो हुनुहुन्छ, त्यसमा मलाई कुनै आपत्ति छैन । मलाई केवल तपाईं चाहिएको हो— तपाईं जस्तो हुनुहुन्छ, त्यही चाहिएको हो । तर, कम्तीमा पनि मेरी माताको निम्ति कृपया अलिकति मोहक रूपमा प्रस्तुत भइदिनु होस् ।”

शिवले स्वीकार गरे अनि एकदमै सुन्दर रूप धारण गरे, आफूलाई सुन्दर वस्त्रहरूले सुशोभित गरे र उनी फेरि विवाह स्थलमा आए । जब अरू मानिसहरूले उनलाई यो रूपान्तरित स्वरूपमा देखे, उनीहरूले शिवलाई सुन्दरमुर्ति भनेर बोलाए । उनी सबैभन्दा सुन्दर पुरुष थिए; अरूहरूले त्यति सुन्दर पुरुष पहिला कहिल्यै देखेका थिएनन् । उनी नौ फिट अग्ला थिए । यस्तो भनिन्छ कि जब उनी उभिए, उनको उचाइ घोडाको टाउकोसम्म पुगेको थियो । साथै, यो पनि भनिन्छ कि जब उनी दक्षिण भारतमा आए, त्यहाँका महिलाहरूको औसत उचाइभन्दा उनको उचाइ दोब्बर थियो । साधारणतया, त्यहाँका महिलाहरूको उचाइ साढे चार फिट जति हुने गर्थ्यो । उनी लगभग नौ फिट अग्ला थिए— सबैभन्दा सुन्दर पुरुष, जसको उपस्थितिले हरेक कोही अक्कनबक्क परेका थिए ।

शिव र पार्वतीः जब तपस्वीले राजकुमारीलाई विवाह गरे

शिव विवाहको लागि बसे । हाम्रो संस्कृतिमा, विशेषगरी यस प्रकारको विवाहमा, वर–वधुको पूर्वजहरूका नाम निकै गर्वले उल्लेख गरिन्छ । उनीहरू आफ्नो कुलको बारेमा बताउँछन्, उनीहरू कहाँबाट आएका हुन् र उनीहरूको रगत कति पवित्र छ जस्ता कुराहरू बताउँछन्, अनि परिवारको पूरै हाँगाबिँगा खोतल्छन् ।

वधुको सन्दर्भमा, पार्वतीका पिता हिमावत हिमालय पर्वतका राजा थिए । वधुको वंशावलीको बारेमा गौरवान्वित हुने थुप्रै कुराहरू बताइए । त्यसपछि, उनीहरूले सोधे, “वरको वंशको बारेमा नि ?”

शिव यत्तिकै चुप बसे, मौन रहिरहे । उनी केही बोलेनन् । उनीसँग आएका मित्र–गणहरूमध्ये कसैले पनि बुझ्न सकिने भाषा बोल्न सक्दैनथे । उनीहरू कर्कश ध्वनिमा होहल्ला मच्चाइरहेका थिए । बधुको पिताले यसबाट अपमानित महसुस गर्दै भने, “पूर्वज नै नभएको यस्तो मानिसले कसरी मेरी छोरीसँग विवाह गर्न सक्छ ? ऊ कहाँबाट आएको हो, उसको माता-पिता को हुन्, उसको वंश के हो भन्नेबारे कसैलाई पनि थाहा छैन । म यस्तो मान्छेलाई आफ्नी छोरी कसरी सुम्पिन सक्छु र ?” उनी रिसले आगो भए ।

त्यसैबेला, विवाहमा पाहुनाको रूपमा आएका ऋषिमुनि नारद, एकतारा (एउटा मात्रै तार भएको बाजा) लिएर अगाडि गए । उनले एकतारा बजाए ‘ट्याङ, ट्याङ, ट्याङ’

राजा अझ आक्रोशित भए । “तपाईं केको लागि एकतारा बजाइरहनु भएको छ ?”

नारदले भने, “यही उनको वंश हो । शिवका न त पिता छन्, न त माता नै छिन् ।”

“त्यसोभए, उसको उत्पत्तिको आधार के हो ?”

ट्याङ… ध्वनि वा कम्पन नै शिवको अस्तित्वको आधार हो । उनी कम्पन वा स्पन्दन मार्फत जन्मिएका हुन् । उनका माता-पिता छैनन्, पूर्वजहरू छैनन्, वंशजहरू छैनन् । उनी स्वयम्भू हुन्— आफैँ सृजित भएका, यस्तो अस्तित्व जसको अतीत छैन ।”

राजा यो सुनेर पागल जस्तै भए— यद्यपि जसोतसो विवाह सम्पन्न भयो !

शिव–पार्वतीको विवाहः कथाको प्रतीक

यो कथाले हामीलाई यो स्मरण गराइरहेको छ कि जब हामी आदियोगी शिवको बारेमा कुरा गर्छौँ, हामी कुनै भद्र र सभ्य मानिसको बारेमा कुरा गरिरहेका छैनौँ, बरु एउटा आदिम स्वरूपको कुरा गरिरहेका छौँ, जसले पूर्ण रूपमा जीवनसँग एकत्व अनुभव गरेका थिए । शिव विशुद्ध चेतना हुन्, रत्तीभर ढोँग नभएका, कहिल्यै नदोहोरिने, सधैँ स्वतःस्फूर्त प्रकट हुने, सदैव मौलिक, निरन्तर सृजनशील— उनी मूल जीवन हुन् ।

यही चीज आध्यात्मिक प्रक्रियाको आधारभूत आवश्यकता हो । यदि तपाईं यहाँ आफ्ना विचारहरू, विश्वासहरू र धारणाहरू बोकेर रहनुभयो अर्थात् बाहिरबाट सङ्ग्रहित स्मृतिको थुप्रोको रूपमा रहनुभयो भने, तब तपाईं मनोवैज्ञानिक प्रक्रियाहरूको दास बन्नुहुन्छ । तर, यदि तपाईं यहाँ केवल जीवनको अंशको रूपमा रहनुभयो भने, तपाईं अस्तित्वगत प्रक्रियासँग एक बन्नुहुन्छ । यदि तपाईं इच्छुक हुनुहुन्छ भने, तपाईं पूरै ब्रम्हाण्डलाई अनुभूति गर्न सक्नुहुन्छ ।

जीवनले तपाईंको निम्ति सबैथोक खुला छोडिदिएको छ । अस्तित्वले कसैका लागि केही पनि छेकेको छैन । भनिन्छ कि “ढकढक्याउ, र यो खुल्नेछ ।” तपाईंले त ढकढक समेत गर्नुपर्दैन, किनकि वास्तवमा त्यहाँ कुनै ढोका नै छैन । यदि तपाईंले स्मृति र पुनरावृत्तिले गाँजिएको जीवनलाई एकातिर राख्न (बेवास्ता गर्न) जान्नुभयो भने, तपाईं सरासर हिँड्न सक्नुहुन्छ । बुद्धत्त्व वा आत्मज्ञानको बाटो पूरै खुला छ ।