सद्गुरु : उज्जैनमा रहेको महाकालेश्वर मन्दिरलाई चन्द्रसेना नाम गरेका एक राजाले बनाएका थिए । उनी शिवको निकै ठूलो भक्त थिए । उज्जैन, भक्तहरू र ज्ञानको खोजी गर्दै गरेकाहरूको सहर बनेको थियो । उज्जैनको यस संस्कृतिलाई नष्ट गर्न चाहनेहरूले चन्द्रसेनामाथि आक्रमण गरे । उज्जैन भारतको दोस्रो काशी जस्तै थियो, जहाँ ज्ञान, शिक्षा र आध्यात्मिक ज्ञानको संचार सहरको मुख्य कुरा थियो । यस सहरमा मानिसहरू यही उद्देश्यका लागि आउने गर्थे । त्यस समयमा अवन्तिका भनिने उज्जैन सहर, कुनै व्यापारिक मार्गमा नभए तापनि, केवल ज्ञान र आध्यात्मिक केन्द्रको रूपमा यस सहर विकसित भयो । तर त्यहाँ यस्ता मानिसहरू पनि थिए जसले यसकुरालाई मन पराउँदैनन् थिए र शहरलाई नष्ट गर्न चाहन्थे । जब उनीहरूले आक्रमण गरे, चन्द्रसेनाले शिवलाई प्रार्थना गरे, जो महाकालको रूपमा उत्पत्ति भई शत्रुहरूलाई एक निश्चित तरिकाले समाहित गरे । त्यसपछि उनी यस संकटबाट मुक्त भए र आध्यात्मिकता र ज्ञानको प्रचार-प्रसार कायम राख्न सके ।
यद्यपि म प्राय: मन्दिर जाँदिन तर एक दिन उज्जैनको महाकालेश्वर ज्योतिर्लिङ्गमा भ्रमण गर्न पुगे । मन्दिर थुप्रै तरिकामा तहसनहस भएको थियो । आक्रमणकारीहरूले मन्दिरलाई भत्काएका थिए र त्यसको दुई-तीन पटक पुनर्निर्माण भएको थियो । तर अझै, यदि तपाईं त्यहाँ बस्नुहुन्छ भने, त्यो सानो रूप, हजारौं वर्षदेखि त्यहाँ रहेको ढुङ्गाको सानो टुक्राले तपाईंलाई पूर्ण रूपमा चकित पार्नेछ । त्यो हिजो बनेको झैँ प्रतिध्वनि भइरहेको छ । यदि तपाईँलाई थाहा छ भने तपाईँ आफ्नो प्रणालीको संरचनालाई पूर्ण तरिकामा पुनर्गठित गर्न सक्नुहुन्छ र त्यस लिङ्गको उपस्थितिमा आफ्नो प्रणालीको तारलाई आफूले चाहेको तरिकामा मिलाउन सक्नुहुन्छ । महाकाल मन्दिर र त्यहाँ प्रतिष्ठित गरिएको लिङ्ग अभूतपूर्व प्रकृतिको छ । यसले तपाईंलाई आफ्नो अस्तित्वको जराबाट हल्लाउनेछ । यो एक अविश्वसनीय प्रतिष्ठा हो, जसलाई बस् कुनै तरिकामा तपाईँलाई विलिन गराउने उद्देश्यका साथ बनाइएको थियो । यसले निकै कच्चा प्रबलताको साथमा अभिव्यक्ति पाउँछ, जुन आश्चर्यलाग्दो छ । यस मन्दिरमा जानुभन्दा अघि राम्रोसँग तयारी गर्नुपर्छ किनभने त्यहाँ अथाह शक्ति छ र यो कमजोर हृदय भएकाहरूको लागि होइन । हरेक दिन, श्मशानघाटबाट ल्याइएको ताजा खरानी महाकाललाई अर्पण गरिनुपर्छ, किनभने उनलाई त्यहि कुरा मनपर्छ र यसलाई चलायमान राख्न त्यसको आवश्यकता पर्छ । यो सांस्कृतिक पक्ष मात्र होइन । यसमा विज्ञान छ । प्रयोगात्मक रूपमा, श्मशानघाटबाट ल्याइएको खरानी र अन्य कुनै खरानी बीच अभूतपूर्व भिन्नता हुन्छ । महाकालको प्रकृतिको कारण यस प्रक्रियालाई निरन्तर कायम राख्नु अति आवश्यक छ । महाकाल रुपको उपस्थिति यस्तो छ कि त्यहाँ जाँदा सबैकुरा जलेर खरानी हुन्छन् । अर्थात् तपाईं भौतिकबाट मुक्त बन्नुहुन्छ । यसले तपाईँलाई आफ्नो परम मुक्ति तर्फ ढकेल्छ ।
यदि तपाईं यसलाई विनम्र रूपमा गर्न चाहनुहुन्छ भने, ध्यानलिंगमा महाकालको एउटा आयाम छ । तर त्यसलाई ढाकिएको छ । जसले यसको खोज गरिरहेका छन् उनीहरुलाई मात्र त्यो उपलब्ध हुन्छ । तर यदि तपाईं यसलाई बलपूर्वक गर्न चाहनुहुन्छ, तपाईं साँच्चै कडा धक्का दिन चाहनुहुन्छ र तपाईंको हृदय कमजोर छैन भने, महाकाल मन्दिर एक अभूतपूर्व प्रक्रिया हो ।
शिवको विभिन्न रूपहरूमध्ये, ‘काल’ वा ‘महाकाल’ निकै महत्वपूर्ण र उग्र रूप हो । महाकालको रूपमा उनी समयको देवता हुन् । मुक्तिको आकांक्षा राख्नेहरूका लागि यस आयाम जसलाई हामी महाकाल भनेर सम्बोधन गर्छौँ, त्यसको निकै महत्व छ ।
एक पटक यस्तो भयो, महान् ऋषि शुक्राचार्य, जो सबै असुरहरूका गुरु थिए । उनले शिवको आराधनामा अपार तपस्या गरे र शिवलाई प्रकट हुनुपर्यो । जब उनी प्रकट भए शुक्राचार्यले अमरता मागे । शिवले भने , "त्यो त सम्भव छैन । जसको जन्म हुन्छ उसको मृत्यु अवश्य हुनुपर्छ, अरू केही माग ।” तब शुक्राचार्यले भने, "मलाई कायाकल्पको शक्ति दिनुहोस् । ताकि मैले कुनै पनि घाउ वा रोगलाई निको पार्न सक्नेछु ।" परम उपचारकर्ता, सबै जडीबुटी र औषधिहरूको मालिक हुनुको कारण, शिवले शुक्राचार्यलाई सञ्जीवनी मन्त्र दिए, जुन मानिसहरूको कुनै पनि प्रकारको रोग, घाउ, वा चोटपटकबाट पुनर्जीवन्त गर्ने मन्त्र थियो ।
जब शुक्राचार्यले सञ्जीवनी मन्त्र पाए तब असुरहरू अत्याधिक साहसी भए र देवताहरूको विरुद्ध युद्धदेखि युद्ध गर्न थाले । युद्धमा कुनै पनि प्रकारको गम्भीर चोटले घाइते भएका असुरलाई, शुक्राचार्यले सञ्जीवनी मन्त्र दिएर पुन: निको पार्दिन्थे । एक व्यक्ति पनि नगुमाइ असुरहरूको सेना निरन्तर लड्न सक्थे । देवताहरू निकै चिन्तित भए र उनीहरूलाई लाग्यो यो निकै अनुचित युद्ध हो । किनभने उनीहरूले जति लडाई लडे पनि असुरहरुको मृत्यु हुँदैन थियो तर देवताहरूको भने मृत्यु हुन्थ्यो । उनीहरु ब्रह्मा कहाँ गए र ब्रह्माले शिवसँग कुरा राखे र भने “तपाईंले शुक्राचार्यलाई त्यस प्रकारको शक्ति दिनुभएको छ । तपाईंले उनलाई मार्नुपर्छ अन्यथा संसारमा पूर्ण असन्तुलन हुन्छ । असुरहरूको देवतामाथि अनुचित लाभ छ ।” शिवले भने, “उसलाई मार्ने कुनै आवश्यकता छैन । म उसलाई सीमित पार्नेछु ।”
देवता र असुर बीचको युद्धको समयमा, शुक्राचार्य मन्त्रको उच्चारण गर्दै थिए र सबै असुरहरूलाई घाउ अनि चोटबाट पुन: निको पार्दै थिए । तब क्षितिजको परबाट कृतिका नाम गरेकी एक भयानक राक्षसी, डरलाग्दो रूपमा आई । उ शिवको गणमध्यको एक थिई । उसले शुक्राचार्यलाई आफ्नो गर्भमा तानी, जहाँ उनी भ्रूणको अवस्थामा रहे । यसरी उनलाई सीमित बनाइयो र देवता अनि असुरको बीच सन्तुलन स्थापित भयो । ब्रह्मा आश्चर्यचकित भए । उनले सोचे केवल महाकालले मात्र कुनै व्यक्तिको हत्या नगरी उसको जीवनलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्छ । शुक्राचार्य कृतिकाको गर्भमा रहे र सञ्जीवनी मन्त्र निष्क्रिय भयो । अर्को शब्दमा भन्नुपर्दा महाकालले शुक्राचार्यको लागि समय एक ठाउँमा रोकिदिए ताकि ऊ अगाडि बढ्न नसकोस् ।
अङ्ग्रेजहरू भारत आएर समयलाई ग्रीनविच मीन टाइममा परिवर्तन गर्नु अगाडि, मध्य भारतमा स्थापित भएको महाकालेश्वर मन्दिर कैयौँ शताब्दीदेखि समयको केन्द्र हुने गर्थ्यो । यही संसारको औसत समय थियो, किनभने समयको सुरुवात यहीबाट भएको मानिन्थ्यो । त्यसैले उनीहरुले यहाँ एक विशेष देवताको स्थापना गरे । जसलाई महाकाल भनियो । योग विज्ञानमा हामी यसलाई यसरी हेर्छौं, हामी भन्छौं त्यहाँ अन्तरिक्ष/स्पेस छैन केवल समय छ । स्पेस समयको परिणाम हो । यदि समय नभएको भए स्पेस पनि हुने थिएन । हामी हाम्रो भौतिक प्रकृतिसँग बाँधिएको कारणले स्पेस एक भ्रमको रूपमा बनेको छ । यदि तपाईं आफ्नो भौतिक प्रकृतिबाट मुक्त बन्नुहुन्छ भने अचानक त्यहाँ कुनै समय रहँदैन र परिणाम स्वरूप स्पेस पनि रहँदैन ।
हामीसँग समय र स्पेसको लागि एउटै शब्द छ । हामी दुवैलाई काल भन्छौं । काल अर्थात् समय । कालको अर्थ शून्यता वा खालीपन पनि हो । खालीपन भनेको स्पेस हो । जब हामी भन्छौं यो हल खाली छ, हामी भनिरहेका छौँ कि त्यहाँ भित्र ठाउँ छ र जब हल भरिन्छ हामी भन्छौं त्यहाँ कुनै ठाउँ छैन । त्यसको सरल तरिकामा अर्थ यही नै हो । समय र स्पेसको लागि एउटै शब्द प्रयोग भएको छ किनभने स्पेस समयको कारणले बन्दछ । यदि समय छैन भने स्पेस पनि रहँदैन ।
योगमा हामी समयलाई दुई भिन्न आयाममा हेर्छौं; काल र महाकाल । महाकाल विशाल समय हो । दैनिक जीवनमा, हाम्रो समयको बुझाइ चक्रीय गतिको रूपमा हुन्छ । ग्रहको घुमाइलाई एक दिन, चन्द्रमाको परिक्रमालाई एक महिना, पृथ्वीको परिक्रमालाई एक वर्ष र यस्तै । तर महाकाल वा विशाल समयमा कुनै चक्रीय गति हुँदैन ।
चक्रिय गति केवल भौतिक प्रकृतिको कारणले हुन्छ । भौतिक प्रकृतिको कारणले, हरेक घटनाको समय– जन्म र मृत्यु, आरम्भ र समाप्तिको सन्दर्भमा हुन्छ । प्रत्येक परमाणु, इलेक्ट्रोन वा प्रोटोनको आयु हुन्छ । यहाँसम्म कि प्रत्येक ग्रहहरू सूर्य मण्डल र सूर्यको समेत आयु हुन्छ । एक समयमा उनीहरूको सुरुवात भएको थियो र एक समय उनीहरूको अन्त्य हुनेछ । के यो विस्फोटको साथ हुन्छ वा बिस्तारै हुन्छ भन्ने कुरामा हामी तर्क गर्न सक्छौ तर भौतिकता शाश्वत छैन । यसको सुरुवात हुन्छ र अन्त्य पनि हुन्छ । यसकारणले, हामी साधारणतया समयलाई यस दृष्टिकोणबाट हेर्छौं । तर त्यहाँ चक्रिय प्रकृतिभन्दा पर रहेको समय छ । जसलाई हामी महाकाल भन्छौँ ।
आध्यात्मिक साधकको सम्पूर्ण आकांक्षा भनेको मुक्ति वा मोक्ष प्राप्त गर्नु हो । जसको अर्थ हो तपाईं भौतिकको तरिकाबाट पर जान चाहानुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा तपाईँ अस्तित्वको चक्रिय प्रकृतिबाट पर जान चाहनुहुन्छ । अस्तित्वको चक्रिय प्रकृतिबाट पर जानु, अर्थात् जीवनको दोहोरिने प्रक्रियाबाट पर जानु हो । जीवनको दोहोरिने प्रक्रियाबाट पर जानुको अर्थ हो, आफ्नो बाध्यताबाट पर जानु । यो यात्रा बाध्यात्मकबाट जागरूकता तर्फको हो
यदि तपाईँ बाध्यताबाट जागरूकता तर्फ बढ्न चाहनुहुन्छ भने भौतिक अस्तित्वको चक्रिय गतिविधिबाट अभिव्यक्त भएको समयको सीमित अनुभवबाट तपाईं माथि उठ्नुपर्छ । यदि तपाईँ भौतिकताको आधार बिना वा भौतिकताको सीमितता बिना समयको अनुभव गर्नुहुन्छ भने हामी त्यस समयलाई ‘महाकाल’ भन्छौँ । महाकालको कोखमा, थुप्रै चीजहरूको समूहको रूपमा ब्रह्माण्ड रहेको छ । आकाशगंगाहरू विशाल भएता पनि उनीहरू सृष्टिमा साना कणहरू मात्र हुन्; बाँकी सबै ठाउँ खाली छ । परमाणुको ९९ % भन्दा धेरै ठाउँ खाली हुन्छ । त्यहि महाकाल हो ।
परमाणु चक्रिय गतिमा भएता पनि, ९९ % भन्दा धेरै ठाउँ खाली छ । विशाल ब्रह्माण्डमा ९९ % भन्दा धेरै ठाउँ खाली छ । विशाल आकाशगङ्गा चक्रिय गतिमा छ तर ९९ % भन्दा धेरै ठाउँ खाली छ । त्यसैले महाकालको काखमा सृष्टिको सृजना हुन्छ । यदि तपाईँ सृष्टिको सीमित अङ्गसँग संलग्न हुनुहुन्छ भने तपाईँले समयलाई चक्रिय गतिको रुपमा अनुभव गर्नुहुन्छ । जुन आयामलाई संसार भनेर चिनिन्छ जसको अर्थ हो चक्रिय गतिविधि ।
यदि तपाईँ यसबाट माथि उठ्नुहुन्छ भने हामी त्यसलाई ‘वैराग्य’ भन्छौँ अर्थात् तपाईं पारदर्शी बन्नुभएको छ । यदि तपाईँ पारदर्शी बन्नुहुन्छ भने तपाईं प्रकाशलाई रोक्नुहुन्न । यदि तपाईं प्रकाशलाई रोक्नुहुन्न भने यसको अर्थ हो तपाईं जीवनको बाध्यात्मक प्रकृति वा जीवनको चक्रिय गतिबाट मुक्त हुनुभएको छ । यदि तपाईं जीवनको चक्रिय गतिबाट मुक्त हुनुहुन्छ भने तब हामी भन्छौ तपाईँ मुक्तिमा वा परम मुक्तिमा हुनुहुन्छ । मुक्ति वा परम मुक्तिको आकांक्षा राख्ने मानिसहरूको लागी, त्यस आयामको अत्यन्तै महत्वपूर्ण बन्न पुग्छ जसलाई हामी महाकाल भन्छौँ ।