logo
logo

केदारनाथ मन्दिरको शिवसँग शक्तिशाली सम्बन्ध

केदारनाथ ज्योतिर्लिङ्ग मन्दिरको आध्यात्मिक महत्व र शिवसँग यस मन्दिरको सम्बन्धबारे जान्नुहोस्, यहाँ सद्‌गुरु यस प्राचीन शक्तिशाली मन्दिरको थोरैमात्र थाहा भएका पक्षहरू केलाउँदै हुनुहुन्छ ।

केदारनाथ ज्योतिर्लिङ्ग र शिवसँगको सम्बन्ध

सद्‌गुरु: केदारनाथ एक अत्यन्तै ठूलो महत्व भएको स्थान हो । यहाँ “शिव" ध्वनिको उच्चारणले बिलकुलै नयाँ आयाम र अलग्गै अर्थ भेटाउँछ । यो यस्तो स्थान हो जुन विशेषरूपले यही ध्वनिका लागि भनेर तयार गरिएको छ । जब हामी "शिव" शब्दको उच्चारण गर्छौं, यो अनिर्मितको स्वतन्त्रता हो, जसको सृजना भएको छैन उसको मुक्ति हो । यो भन्नु उचित त होइन, तर करिब-करिब यस्तो लाग्छ कि यस ग्रहमा "शिव" ध्वनि केदारनाथबाट उत्पन्न हुन्छ । हजारौं वर्षदेखि मानिसहरूले त्यस स्थानलाई त्यो ध्वनिको गुन्जनका रूपमा अनुभव गरेका छन्।

जब हामी "शिव" भन्दछौं, यो अर्को एउटा मूर्ति वा देउता बनाउनेबारे होइन जोसँग हामीले जीवनमा अझै धेरै समृद्धि वा राम्रा चीजहरू माग्न सकौँ । "शिव" शब्दको अर्थ हो "त्यो जुन छैन" । आज, आधुनिक विज्ञानले हामीलाई यो प्रमाणित गरिरहेको छ कि सबैकुरा शून्यबाट आउँछ र शून्यमै फर्किन्छ । अस्तित्वको आधार र ब्रह्माण्डको मूलभूत गुण विशाल शून्यता हो । आकाशगंगाहरू एउटा सानो घटना मात्र हुन् - एक थोपा छर्किए झैँ । बाँकी सबै विशाल खाली ठाउँ छ, जसलाई शिव भनिन्छ ।

केदारनाथ ज्योतिर्लिङ्ग र पञ्चकेदारको कथा

एउटा पौराणिक कथाअनुसार कुरुक्षेत्रको युद्धपछि पाण्डवहरू निकै दुखी भएका थिए किनभने उनीहरूले आफ्नै नातागोताहरूलाई मारेका थिए - उनीहरूका आफ्नै दाजुभाइ र आफन्तहरूलाई । यसलाई गोत्रवध भनिन्थ्यो ।  उनीहरूले यस कार्यबाट आफूहरू दोषी र कलंकित भएको महसुस गरे र त्यसबाट आफूलाई मुक्त गर्ने बाटो खोज्दैथिए । त्यसैले उनीहरू शिवको खोजीमा निस्किए ।

शिवले उनीहरूलाई यस्तो भयानक कार्यबाट अकस्मात मुक्त हुने आनन्द दिन चाहेका थिएनन्, त्यसैले उनले आफूलाई साँढेको रूपमा परिणत गरे र भाग्ने प्रयास गरे । तर उनीहरूले शिवलाई समात्ने कोशिस गर्दै उनको पिछा गरे । शिव जमिनभित्र पसे, र जब उनी जमिनबाट बाहिर निस्के, उनको शरीरका विभिन्न अङ्गहरू विभिन्न ठाउँमा निस्किए । साँढेको जुरो केदारनाथ भयो, अगाडिका दुई खुट्टा तुङ्गनाथ भयो जुन केदार जाने बाटोमा पर्छ । नाभी हिमालयको भारतीय भूभागमा पर्ने मध्य-महेश्वर भन्ने ठाउँमा देखा पर्‍यो जुन निकै शक्तिशाली मणिपुरक लिङ्ग हो, र शिवका जटा कल्पनानाथ भनिने ठाउँमा देखापर्‍यो । यसप्रकारले शरीरका विभिन्न अङ्गहरू विभिन्न ठाउँमा देखापरे । 

शिवको शरीरका अङ्गहरूको यो वर्णन सात चक्रहरूसँग सम्बन्धित छन् । यी मन्दिरहरू मानव शरीरको रूपमा स्थापित भएका थिए । यो एक महान प्रयोग थियो - एक विशाल शरीर  बनाउने कोशिस । यस्तै एउटा शरीर भारतीय हिमालयको दिशामा बनेको थियो । यस्तैखाले अर्को शरीर पश्चिम दिशातिर प्रवाहित भयो, जहाँ उनीहरूले पूरै नेपाललाई नै एक शरीरमा परिणत गर्न खोजे ।

केदारनाथ ज्योतिर्लिङ्ग - ऊर्जाको एक मादक मिश्रण

केदारनाथ ऊर्जाहरूको एक अत्यन्त मादक मिश्रण हो । यो यस्तो ठाउँ हो, जसले हजारौं योगी र हरेक प्रकारका दिव्यदर्शीहरूलाई देखेको छ। जब म भन्छु हरेक प्रकारका, तपाईंले कल्पना पनि गर्न नसक्ने प्रकारका। यी त्यस्ता मानिसहरू हुन्, जसले कसैलाई केही सिकाउने प्रयास गरेनन्। उनीहरूले संसारलाई अर्पण गर्ने तरिका भनेको आफ्ना ऊर्जाहरू, आफ्नो मार्ग, आफ्नो कार्य - सबै कुराहरूलाई  - यस ठाउँमा एक विशेष तरिकाले छोड्नु थियो।

जब तपाईं आध्यात्मिक मार्गमा रहेको कसैको बारेमा सोच्नुहुन्छ, तपाईंले सम्भवतः उनीहरूको व्यवहार, पोशाक वा बोलीको कुनै निश्चित ढाँचामा सोच्नुहुन्छ। तर यो केवल त्यस प्रकारको आध्यात्मिक व्यक्तिको भूमि होइन। तपाईंको बुझाइ अनुसार फिट हुने खालका मानिसहरू पनि यहाँ थिए। तर यहाँ अरू यस्ता थुप्रै व्यक्ति थिए जो पूर्णतया जंगली थिए, जसलाई तपाईंले कहिल्यै आध्यात्मिक व्यक्तिको रूपमा पहिचान गर्न सक्नुहुन्न। तर यी त्यस्ता मानिसहरू हुन् जसले अस्तित्वको शिखरलाई छोएका छन्! जब हामी "एक योगी" भन्छौं, हामीले कुनै निश्चित व्यवहार वा नैतिकता भएको व्यक्तिलाई भन्दैनौं। एक योगी जीवनसँग पूर्ण रूपमा तालमेलमा हुन्छ - यस हदसम्म कि उसले जीवनलाई पूर्णतया विघटित गरी, फेरि जोड्न सक्छ। आधारभूत जीवन जो तपाईं हुनुहुन्छ, यदि तपाईंले त्यसलाई पूर्णतया विघटित गरी, फेरि जोड्न सक्नुहुन्छ भने मात्र तपाईं एक योगी हुबन्नुहुन्छ। यस्ता धेरै अद्भुत मनुष्यहरू रहेका छन्।

केदारनाथको तीर्थयात्रा

कुनै प्रकारको आध्यात्मिक उत्थानको खोजीमा भएको व्यक्तिका लागि केदारनाथ एक वरदान हो जसको विशालता तपाईले कल्पना पनि गर्न सक्नुहुन्न । यसले के अर्थ राख्छ भनेर व्याख्या गर्न धेरै गाह्रो छ । आखिर यो चट्टानको बाहिर उछिट्टिएको एक भाग मात्र न हो । तर यहाँ हजारौँ वर्ष देखी बसोबास गर्दै आएका मानिसहरूद्वारा यस ठाउँमा जे गरिएको छ, त्यसले निकै ठूलो फरक पारेको छ । यो त्यस्तो ठाउँ हो, जहाँ धेरै योगीहरूले आफ्नो शरीर त्यागेका छन् । यो यस्तो कुरा हो, जुन तपाईंले अनुभव गर्नैपर्छ । यस भूमीमा जन्म लिइसकेपछि तपाईं धेरै बुढो भएर केही काम गर्न नसक्ने हुनुभन्दा अगाडि तपाईंले एक पटक हिमालयमा पुग्नैपर्छ ।

केदारनाथ ज्योतिर्लिङ्ग मन्दिर र आदि शंकराचार्य

आदि शंकराचार्य एक दिग्गज बौद्धिक व्यक्तित्व थिए, जो भाषाविज्ञानमा निपूर्ण थिए । आफ्नो छोटो जीवन अवधिमा उनले भारतको कुना कुना भ्रमण गरे । शंकराचार्य कालाडी भन्ने गाउँबाट आएका थिए, जसको शाब्दिक अर्थ "खुट्टा मुनि" हो । दक्षिण भारतमा हामी भारत माताको चरणमा छौं । भारत भन्नुको अर्थ हामीले सधैं दैवी वा चैतन्यको चरणमा कसरी बस्ने भनेर सिकेका छौं ।  चैतन्यको चरणमा रहेर हामी विकसित भयौँ र फुल्यौँ। यो देखावटीपना र आडम्बरको संस्कृति होइन, बरू स्वाभाविक भक्तिको संस्कृति हो ।

आदि शंकराचार्यले भने, "”सबै माया हो ।” मायाको अर्थ भ्रम हो, यस अर्थमा कि तपाईंले यो जस्तो छ, ठीक त्यस्तै देखिरहनुभएको छैन । यहाँ तपाईं यो ठोस झैँ लाग्ने शरीरको साथमा हुनुहुन्छ, तर तपाईंले खाने खाना, तपाईंले पिउने पानी, र तपाईंले श्वास फेर्ने हावासँगै तपाईंको शरीरका कोशिकाहरू दैनिक रूपमा फेरिइरहेका हुन्छन् । यसको अर्थ केही समयको अन्तरालमा तपाईंसँग पूरै नयाँ शरीर हुन्छ । तर तपाईंको अनुभवमा यस्तो देखिन्छ कि यो उही पुरानो शरीर हो – यही माया हो । त्यसैप्रकारले,  तपाईंको पाँच इन्द्रियहरूमार्फत् अस्तित्वलाई बुझ्ने जुन तरिका छ, त्यो पूर्ण रूपमा गलत छ - यो नै भ्रम हो, माया हो, जसको बारेमा शंकाराचार्यले कुरा गरेका थिए ।

एउटा कथाअनुसार एकपटक काशीमा शंकराचार्य एकाबिहानै स्नान गरिसकेपछि एउटा मन्दिरमा प्रवेश  गर्दैथिए । त्यसबेला एउटा चाण्डाल उनको बाटोमा आयो । चाण्डलहरू मसानघाटको रेखदेख गर्ने एक विशेष जाति थिए । उनीहरूलाई तल्लो भन्दा पनि तल्लो र अशुभ जातको मानिन्थ्यो । चाण्डाललाई देखेमा मृत्यु आउँछ भन्ने विश्वास गरिन्थ्यो । तिनीहरूसँग कसैले कुनै सरोकार राख्न चाहँदैनथे र तिनीहरूलाई अछुतको व्यवहार गरिन्थ्यो ।

त्यसैले जब त्यो मानिस उनको अगाडि आयो, शंकराचार्यले भने, "पर हट ।" त्यो मानिस त्यहीँ उभिइरह्यो र उसले सोध्यो, “को हट्नुपर्ने – म वा मेरो शरीर ?” यो कुराले शंकराचार्यलाई एकदमै गहिरो आघात पुर्यायो । उनी सबैलाई ‘यो शरीर तिमी होइन, यो सबै माया हो’ भनेर सिकाउँदै हिँडेका थिए ।  अहिले आएर जब यो मान्छेले यस्तो प्रश्न सोध्यो, त्यसले उनलाई प्रहार गर्यो । त्यसपश्चात् उनले कहिल्यै एक शब्द पनि बोलेनन्, कहिल्यै शिक्षा दिएनन् । उनी बस् हिमालयतिर लागे । केदारनाथमा आज पनि उनको एउटा स्मारक छ - मार्बलमा केवल उनको हात र उनले बोक्ने लट्ठी कुँदिएको छ, जुन पर्खालबाट बाहिर निस्किरहेको झैँ देखिन्छ । यही स्थान हो जहाँ उनलाई अन्तिम पटक देखिएको थियो । कथाका अनुसार उनी हिँड्दै गएर शिवमा विलिन भएका थिए ।

यो हाम्रो राष्ट्र र संस्कृतिको मौलिक स्वभाव हो–हामी अरूलाई धकेलेर अघि बढ्दैनौँ, बरू हामी झुकेर नमन गरी अघि बढ्छौँ । चाहे त्यो देवता होस्, पुरुष होस्, महिला होस्, बच्चा होस्, जनावर होस्, रुख होस् वा ढुङ्गा होस् - हामीले सबै कुराप्रति झुकेर नमन गर्न सिकेका छौं । यही हाम्रो तागत रहिआएको छ, यही हाम्रो मार्ग रहिआएको छ, यही हाम्रो विकासक्रम र बोधको प्रक्रिया र विधि रहिआएको छ ।

शिव किन बद्रीनाथबाट केदारनाथमा सरे

बद्रीनाथ मन्दिर हिमालयको करिब १३७०० फिट उचाइमा रहेको एउटा भव्य स्थान हो। बद्रीनाथको बारेमा एउटा पौराणिक कथा छ । यही ठाउँमा शिव र पार्वती बस्थे । एक दिन शिव र पार्वती घुम्न गए । फर्केर आउँदा घरको ढोकामा एउटा सानो बच्चा रोइरहेको थियो । त्यो बच्चा पीडामा रोइरहेको देखेर, पार्वतीको मातृत्व भावना जागृत भयो र उनले बच्चालाई बोक्न खोजिन् । शिवले उनलाई रोके र भने, "त्यो बच्चालाई नछोउ ।" पार्वतीले जवाफ दिइन्, “कस्तो निर्दयी । तपाईं कसरी यस्तो भन्न सक्नुहुन्छ ?”

शिवले भने, "यो राम्रो बच्चा होइन । यो बच्चा कसरी आफैँ हाम्रो ढोका बाहिर आइपुग्यो? वरपर कोही  छैनन्, हिउँमा आमाबुवाको पाइलाको छाप छैन । यो कुनै बच्चा होइन ।" तर पार्वतीले भनिन्, “ मलाई केही थाहा छैन ! म भित्रको मातृत्वले यो बच्चालाई यस्तो अवस्थामा छोड्न दिँदैन।’ र उनले बच्चालाई  घरभित्र लगिन् । बच्चा उनको काखमा निकै सहज भएर बसिरहेको थियो र शिवलाई निकै दङ्ग परेर हेर्दै  थियो । शिवलाई यसको परिणाम थाहा थियो तर उनले भने, "ठीकै छ, हेरौं के हुन्छ ।"

पार्वतीले बच्चालाई शान्त गराइन् र  खानपिन गराइन्, अनि उसलाई घरमा छोडेर शिवसँगै नजिकैको तातो पानीको मुहानमा नुहाउन गइन् । उनीहरू फर्केर आउँदा ढोका भित्रबाट बन्द गरिएको पाए । पार्वती स्तब्ध भइन् । "ढोका कसले बन्द गर्यो ?" शिवले भने, "मैले तिमीलाई भनेकै थिएँ, यो बच्चालाई नबोक । तिमीले त्यो बच्चालाई घरमा ल्यायौ र अहिले उसले ढोका भित्रबाट बन्द गरेको छ ।

”पार्वतीले भनिन्, “अब हामीले के गर्ने ?”

शिवसँग दुईवटा विकल्प थिए: एउटा थियो, उनको अगाडि भएका सबै चीजहरू जलाएर भष्म गरिदिनु । र दोस्रो  थियो, बस् अर्को बाटो खोजेर हिँड्नु । त्यसैले उनले भने, “हिँड, अन्त कतै जाऔँ । किनकि यो तिम्रो प्रिय बच्चा हो, म यसलाई हानी पुर्‌याउन सक्दिन ।"

यसरी शिवले आफ्नो घर गुमाए अनि शिव - पार्वती "अवैध विदेशी" भए ! उनीहरू बस्नका लागि उपयुक्त ठाउँ खोज्दै हिँडे र अन्ततः केदारनाथमा बसे । तपाईंले प्रश्न गर्न सक्नुहुन्छ कि के उनलाई थाहा थिएन र ? तपाईलाई धेरै कुराहरू थाहा हुन्छ, तर  थाहा हुँदाहुँदै पनि तपाईं ती कुराहरू हुन दिनुहुन्छ ।  

शिवलाई सँधै एकदम शक्तिशाली व्यक्तिको रूपमा हेरिन्छ, र साथसाथै संसारसँग त्यति छलकपट नगर्ने व्यक्तिको रूपमा पनि । त्यसैले शिवको एक स्वरूपलाई भोलेनाथ भनेर चिनिन्छ, किनभने उनी  केटाकेटीजस्तै छन् । यस्तो होइन कि उनी मूर्ख छन्, तर उनी त्यस्ता झिनामसिना तरिकाले बुद्धिको उपयोग गर्ने रूचि राख्दैनन् । 

चतुर र निम्नस्तरको बुद्धि भएकाले मात्र अरू कोहीभन्दा राम्रो कसरी गर्ने भनेर निरन्तर सोचिरहेको हुन्छ । बुद्धिमानी हुनु र “स्मार्ट" वा धुर्त हुनु दुई फरक चीजहरू हुन् । स्मार्ट हुन सधैं अरू कसैसँग तुलना गर्नुपर्छ । बुद्धिमानी हुन कसैसँग तुलना गर्नुपर्दैन, यो बस् आफ्नै स्वभावले हुन्छ । बुद्धिमत्ता महत्त्वपूर्ण छ किनभने बुद्धिमत्ता कहिल्यै प्रतिस्पर्धामा हुँदैन, यो केवल जीवनको अभिव्यक्ति हो ।

केदारनाथ ज्योतिर्लिङ्ग र कान्तिसरोवर – कृपाको ताल

एक किंवदन्तीअनुसार शिव र पार्वती कान्तिसरोवरको किनारमा बस्थे, अनि केदारमा चाहिँ थुप्रै योगीहरू बस्ने गर्दथे जसलाई उनीहरू भेटिरहन्थे । कान्तिसरोवर त्यही ताल हो जुन सन् २०१३ मा फुटेको कारण केदारमा बाढी आएको थियो । आजकल यसलाई गान्धी सरोवर भनिन्छ । यो वास्तवमा कान्तिसरोवर हो । कान्तिको अर्थ कृपा हो, सरोवर भनेको ताल हो । यो कृपाको ताल हो । योग संस्कृतिमा शिवलाई भगवानको रूपमा हेरिएको छैन । उनी एक व्यक्ति हुन्, जसले यस भूमिमा भ्रमण गरेका थिए र जो योग परम्पराका स्रोत हुन् । उनी आदियोगी अर्थात् प्रथम योगी हुन्, र आदि गुरु अर्थात् प्रथम गुरु पनि हुन् । योग विज्ञानको पहिलो संचार कान्तिसरोवरको किनारमा भएको थियो जहाँ आदियोगीले आफ्ना प्रथम सात शिष्यहरूलाई विधिपूर्वक, यो पद्धति हस्तान्तरण गर्नुभएको थियो । ति सात शिष्यहरूलाई आज सप्तऋषिका रूपमा चिनिन्छन् ।

धेरै वर्ष पहिले, म हरेक वर्ष एक वा दुई महिनाका लागि हिमालयतिर एक्लै यात्रा गर्थेँ । त्यतिबेला म एक्लै लोकल बसमा चढेर जान्थेँ । प्रायःजसो म बसको छतमा बसेर जान्थेँ किनभने म हिमालका दृश्य छुटाउन चाहन्नथेँ । ती पागल बसहरू थिए ! तिनीहरू बिहान ४ वा ४:३० बजे हरद्वारबाट सुरू भएर सिधै गौरीकुण्डमा वा बद्रीनाथमा पुगेपछि मात्र रोकिन्थे । मानिसहरू बसमा चढाउन र झार्न बाहेक तिनीहरू कतै रोकिदैँनथे - यहाँसम्म कि खाना खानलाई समेत । तिनीहरूलाई भोक हडताल बस भनिन्थ्यो । ड्राइभरसँग उसको बेरेको रोटी हुन्थ्यो, जुन ऊ गाडी चलाउँदै खाने गर्थ्यो जबकि यात्रुहरू भने त्यहाँ बसेर दिउँसोको खानाबारेमा सोच्दै बस्नुपर्थ्यो !

गौरीकुण्डबाट लामो पदयात्रा गरेर केदार पुग्दाखेरी मैले कान्तिसरोवरको बारेमा सुनेँ । त्यसैले म एक दिन दिउँसो २ वा २:३० बजेतिर त्यसतर्फ निस्किएँ  र एक घण्टा भन्दा केही बढी समयमा त्यहाँ पुगेँ । त्यहाँ ताल थियो र तालको वरिपरि हिउँले ढाकिएका हिमालहरू थिए । प्रकृतिको हिसाबले यो अद्‌भूत थियो - पूर्णतः निश्चल पानीको यो विशाल ताल, कुनै बोटबिरूवा नभएको ठाउँ, अनि हिउँले ढाकिएका चुचुराहरू पूर्णरूपमा स्थिर पानीमा प्रतिबिम्बित भइरहेका हुन्थे। यो एक आश्चर्यजनक ठाउँ थियो ।

म बस् त्यहीँ बसे, अनि त्यहाँको शान्ति, मौनता र पवित्रता मेरो चेतनामा प्रवेश गर्यो । त्यहाँसम्मको उकालो हिँडाइ, त्यहाँको उचाइ /अल्टिच्युड र त्यस स्थानको निर्जन सौन्दर्यले मेरो सास नै अड्कियो । त्यो शान्त वातावरणमा म आँखा खुला राखेर एउटा सानो चट्टानमाथि बसेँ र मेरो वरिपरिको हरेक स्वरूपहरूलाई आत्मसात गर्न थालेँ । वरपरको परिवेशले बिस्तारै आफ्नो स्वरूप गुमाउन थाल्यो र त्यहाँ केवल नाद– अर्थात् ध्वनि –मात्र बाँकी रह्यो । हिमाल, ताल, त्यहाँको सम्पूर्ण परिवेश, र मेरो शरीरसमेत आफ्नो सामान्य स्वरूपमा थिएनन् । सबैथोक ध्वनी वा आवाज मात्र थियो । म भित्र एउटा गीत उत्पन्न भयो : "नाद ब्रह्म विश्वस्वरूपा ।"

नाद ब्रह्मा विश्वस्वरूप
नाद हि सकल जीवरूप
नाद ही कर्म नाद ही धर्म
नाद ही बन्धन नाद हि मुक्ति
नाद हि शंकर नाद हि शक्ति
नादम् नादम् सर्वम नादम्
नादम् नादम् नादम् नादम्

म त्यस्तो व्यक्ति हुँ, जो सधैं संस्कृत भाषा सिक्नबाट टाढै रहेँ । मलाई यो भाषा धेरै मनपर्छ र मलाई यो भाषाको गहिराइ थाहा छ, तैपनि मैले यसलाई सिक्नबाट टाढै रहेँ किनभने संस्कृत सिक्नासाथ तपाईंले निश्चित रूपमा ग्रन्थहरू पढ्न थाल्नुहुन्छ । मेरो आफ्नै दृष्टिले मलाई एक पलको लागि पनि कुनै कुरामा निराश पारेको छैन, त्यसैले म आफूलाई ग्रन्थहरू र यी सबै परम्पराहरूले अस्तव्यस्त पार्न चाहन्नथेँ । त्यसैले मैले संस्कृतसँग दुरी बनाएँ ।

जब म त्यहाँ बसिरहेको थिएँ, मेरो मुख निश्चित रूपमा बन्द थियो र मेरा आँखा खुल्ला थिए, अनि मैले यो गीत मेरै आवाजमा ठूलो स्वरमा सुनें । त्यो मेरो स्वरले गाइरहेको थियो, र त्यो संस्कृत गीत थियो । मैले यो प्रष्टै र ठूलो स्वरमा सुनेँ । निकै ठूलो स्वरमा, यस्तो लाग्थ्यो कि सिङ्गो हिमालले गाइरहेको छ । मेरो अनुभवमा सबैथोक ध्वनीमा परिणत भएको थियो । त्यही बेला मैले यो गीतलाई अनुभव गरेँ  । मैले यसलाई बनाएको होइन, मैले यो लेखेको होइन - यो केवल ममा ओर्लिएको हो । पूरै गीत संस्कृतमा प्रवाहित भइरहेको थियो । त्यो अनुभव अत्याधिक प्रबल थियो । 

बिस्तारै केही समय पछि सबैथोक आफ्नै पुरानो रूपमा फर्कियो । मेरो चेतना तल झर्दा  - नादबाट रूपमा झर्दा - मेरो आँखा आँसुले भरियो ।

नाद ब्रह्मको अर्थ यही हो कि संसारलाई ध्वनिको रूपमा अनुभव गर्नु, कुनै स्वरूपमा होइन । आधुनिक विज्ञानले पनि भन्छ कि प्रत्येक ध्वनिसँग एउटा आकार जोडिएको हुन्छ, र प्रत्येक आकारसँग एक ध्वनि जोडिएको हुन्छ । यो एक वैज्ञानिक यथार्थ हो । र आज हामीलाई यो पनि थाहा छ कि जहाँसम्म विज्ञानको सरोकार छ, पदार्थ भन्ने कुनै कुरा नै छैन । जहाँ कम्पन हुन्छ, त्यहाँ ध्वनि अवश्य नै हुन्छ। त्यसैले योगमा हामी भन्छौं कि सम्पूर्ण अस्तित्व नै ध्वनि हो ।

यदि तपाइँले आफूलाई त्यो गीतमा समर्पण गर्नुहुन्छ भने यसमा एक प्रकारको शक्ति छ । तपाईंले  वास्तवमै आफूलाई यसमा पूर्णतः समर्पित गर्नु भयो भने यसमा मानिसलाई विलिन गराउन सक्ने क्षमता छ ।

    Share

Related Tags

शिव तत्वम् शिवका कथाहरू

Get latest blogs on Shiva

Related Content

शिव पञ्चाक्षर स्तोत्र