सद्गुरुः मलाई मानिसहरूसँग एउटा मात्र समस्या छ, त्यो के हो भने उनीहरूमा आवश्यक तीव्रता छैन । यदि उनीहरूमा पर्याप्त रूपमा तीव्रता भएको भए, हामीले परम लक्ष्यलाई पाउनको लागि जीवनभरि परिश्रम गर्नु पर्दैनथ्यो— आजै त्यो काम गर्न सकिन्थ्यो । अधिकांश मानिसहरूको जीवनमा मृत्युको क्षण वा सम्भावित मृत्युको क्षण नै सबैभन्दा गहन अनुभव बन्दछ । अधिकांशले आफ्नो पूरै जीवनकालमा त्यस स्तरको तीव्रता सायद कहिल्यै महसुस गरेका हुँदैनन् । प्रेममा, हाँसोमा, हर्षमा, परम–आनन्दमा वा दुःख–पीडामा हुँदा समेत त्यस हदसम्मको तीव्रता महसुस गरेका हुँदैनन् । मृत्युको क्षणमा मात्र त्यसो हुन्छ ।
शिव श्मशान वा कायान्त मा बस्दछन्, उनी पर्खिरहन्छन् । काया अर्थात् "देह" वा "शरीर" र अन्त अर्थात् "अन्त्य हुनु ।" कायान्त अर्थात्,जहाँ "शरीर अन्त्य हुन्छ"— "जीवन अन्त्य हुने होइन" । अत: कायान्त वा देहान्त भनिन्छ, जीवान्त होइन— देहको अन्त्य हुन्छ, जीवनको होइन । तपाईंले यस धर्तीबाट जे–जति जम्मा गर्नुभएको छ, ती सबै तपाईंले यहीँ छोडेर जानुपर्छ । यदि तपाईंले यसरी जीवन बाँच्नुभएको छ कि तपाईंले आफूलाई केवल शरीरको रूपमा जान्नुभएको छ भने, तब जुन क्षण तपाईं शरीर छोड्नुहुन्छ, त्यो तपाईंको जीवनमा अत्यन्तै तीव्रताले भरिएको क्षण हुनेछ । यदि तपाईंले आफ्नो शरीरभन्दा पर केही जान्नुभएको छ भने, शरीर छोड्नु कुनै ठूलो कुरा हुँदैन । जसमा आफू को हुँ र के हुँ भन्ने कुराको बोध भएको हुन्छ, उसको लागि कायान्त त्यस हदसम्मको ठूलो क्षण हुँदैन । यो जीवनको एउटा अर्को क्षण मात्रै हो, त्यति मात्र ! तर, जो-जसले स्थूल शरीरको रूपमा मात्रै जीवन बाँचेका हुन्छन्— जब ती सबैथोक छोड्नुपर्छ, जसलाई तपाईंले आफू भनेर जान्नुभएको छ— त्यो क्षण निकै तीव्रताले भरिनेछ ।
यदि काया मात्र रहनुको सट्टा, तपाईं जीव बन्नुभयो, यदि तपाईं जीवित शरीर मात्र नभई जीवित जीव बन्नुभयो भने, तब तपाईंको निम्ति अमरता स्वाभाविक स्थिति हुन्छ ।
अमरता, प्रत्येक व्यक्तिको लागि स्वाभाविक स्थिति हो । नश्वरता (मरणशीलता), तपाईंले गर्नुभएको गल्ती हो । यो जीवन प्रतिको गलत बुझाइ हो । कायान्त वा भौतिक शरीरको अन्त्य हुने निश्चित छ । तर, यदि काया मात्र रहनुको सट्टा, तपाईं जीव बन्नुभयो, यदि तपाईं जीवित शरीर मात्र नभई जीवित जीव बन्नुभयो भने, तब तपाईंको निम्ति अमरता स्वाभाविक स्थिति हुन्छ । तपाईं नश्वर हुनुहुन्छ वा अमर हुनुहुन्छ भन्ने कुरा तपाईंको बोध वा बुझाइमा मात्र निहित हुन्छ— यसको लागि अस्तित्वमा कुनै प्रकारको परिवर्तन हुन जरूरी छैन ।
शिवले श्मशानलाई आफ्नो निवास बनाएका छन् । "श्म" अर्थात् शव वा लास अनि "शान" अर्थात् शयन वा बस्ने ठाउँ । जहाँ शव हुन्छ, त्यहीँ शिव हुन्छन् ।
त्यसैले, बुद्धत्व वा आत्म-ज्ञानलाई आत्म–अनुभूतिको रूपमा हेरिन्छ— कुनै उपलब्धि वा प्राप्तिको रूपमा होइन । तपाईंले देख्ने हो भने, त्यो तपाईको लागि उपलब्ध छ । तपाईंले देख्नुभएन भने, त्यो तपाईंको लागि उपलब्ध छैन । प्रश्न यत्ति हो कि तपाईंमा त्यसलाई बोध गर्ने क्षमता कति छ— यसको लागि कुनै मूलभूत वा अस्तित्वगत परिवर्तन आवश्यक छैन । यदि तपाईं आफ्ना इन्द्रियहरूसँग मात्र नभई, आफ्नो प्रज्ञा को सम्पर्कमा आउनुभयो भने, तब तपाईंले काया (शरीर) मात्र नभई जीव समेत जान्नुहुन्छ— अनि, तपाईं स्वतः अमर बन्नुहुन्छ, शाश्वत बन्नुहुन्छ । तपाईंले आफू अमर रहनको लागि प्रयास गर्नुपर्दैन । तपाईंमा यो बोध हुनुपर्छ कि यो यसैगरी हुन्छ ।
तसर्थ, शिवले श्मशानलाई आफ्नो निवास बनाएका छन् । "श्म" अर्थात् शव वा लास अनि "शान" अर्थात् शयन वा बस्ने ठाउँ । जहाँ शव हुन्छ, त्यहीँ शिव हुन्छन् । किनकि, उनले यो बुझेका छन् कि जीवित मानिसहरूसँग काम गर्नु भनेको समय बर्बाद गर्नु हो ! तपाईंहरूलाई त्यस हदसम्मको तीव्रतामा लैजान सकिँदैन, जुन जरूरी हुन्छ । मानिसहरूलाई अलिकति बढी तीव्र बनाउनको लागि अनेक किसिमका युक्तिहरू लगाउनु पर्ने हुन्छ ।
तीव्रता यसकारण भइरहेको छैन, किनकि तपाईंले आफूभित्र जीवित रहने भावनालाई सबैभन्दा बढी महत्त्व दिनुभएको छ । यो शरीरमा दुईवटा मूलभूत इच्छाहरू हुन्छन् । एउटा जीवित रहने भावना, जबकि अर्को असिमित बन्ने चाहना । यदि तपाईंले जीवित रहने भावनालाई प्रबल बनाउनुभयो भने, जीवनको गति मन्द हुन्छ— किनकि, जीविका भनेकै जोखिमबिना सुरक्षित रूपमा जिउनु हो । यदि तपाईं अनन्त हुने अभिलाषालाई प्रबल बनाउनुहुन्छ, यदि तपाईं असीमित रूपमा फैलिन खोजिरहनु भएको छ वा यदि तपाईंका सबै ऊर्जाहरू त्यसमै केन्द्रित छन् भने, तपाईंको जीवनमा पूर्ण तीव्रता हुनेछ ।
शरीरमा दुईवटा मूलभूत इच्छाहरू हुन्छन् । एउटा जीवित रहने भावना, जबकि अर्को असिमित बन्ने चाहना ।
तीव्रता यसकारण भइरहेको छैन, किनकि तपाईंले आफूभित्र जीवित रहने भावनालाई सबैभन्दा बढी महत्त्व दिनुभएको छ । यो शरीरमा दुईवटा मूलभूत इच्छाहरू हुन्छन् । एउटा जीवित रहने भावना, जबकि अर्को असिमित बन्ने चाहना । यदि तपाईंले जीवित रहने भावनालाई प्रबल बनाउनुभयो भने, जीवनको गति मन्द हुन्छ— किनकि, जीविका भनेकै जोखिमबिना सुरक्षित रूपमा जिउनु हो । यदि तपाईं अनन्त हुने अभिलाषालाई प्रबल बनाउनुहुन्छ, यदि तपाईं असीमित रूपमा फैलिन खोजिरहनु भएको छ वा यदि तपाईंका सबै ऊर्जाहरू त्यसमै केन्द्रित छन् भने, तपाईंको जीवनमा पूर्ण तीव्रता हुनेछ ।
अरू सबै प्राणीहरूमा जीवित रहने भावना प्रबल हुन्छ । विकासका चरणहरू पार गर्दै अहिले जब हामी मनुष्य भएका छौँ, हाम्रो जीवनमा चेतना र प्रज्ञा (बुद्धिमत्ता) को स्तर उच्च भएको छ— र, यसै समयमा केवल जीवित रहने भावनालाई न्यून बनाउन सकिन्छ अनि असीम हुने तीव्र चाहनालाई प्रदीप्त गरिनुपर्छ । यी दुई शक्तिहरूमध्ये पहिलोले सधैँ तपाईंलाई सुस्त र मन्द बनाउने प्रयास गरिरहेको हुन्छ, जबकि अर्कोले सदैव तपाईंभित्र तीव्रता बढाउने कोसिस गरिरहेको हुन्छ । तपाईंले सायद ती स्रोत-साधनहरू बचाउनु पर्ने हुन सक्छ, जुन दुर्लभ छन्— तर, जीवन दुर्लभ छैन !
यदि तपाईं जीविकोपार्जन मात्रै सोचिरहनु भएको छ, यदि तपाईंभित्र आफूलाई सुरक्षित राख्ने भावना सबैभन्दा प्रबल छ भने, उनी तपाईंबाट दिग्दार भएका छन्— शिव, तपाईंको मृत्युको प्रतीक्षा गरिरहेका छन् ।
शिव श्मशानमा बस्छन्, किनकि उनी तपाईं र तपाईंका नाटकहरूबाट दिक्क भएका छन् । उनी यसकारण दिक्क भएका छन्, किनकि जताततै पूरै मूर्खतापूर्ण नाटक चलिरहेको छ । वास्तविक चीज श्मशानमा मात्रै हुन्छ । जन्म र मृत्युको क्षणमा सम्भवतः केही भइरहेको हुन सक्दछ । प्रसूति गृह र मसानघाट मात्रै संवेदनशील स्थान हुन्, यद्यपि अचेल जन्म लिने घटना अलि बढी भइरहेको छ ।
शिव यस्तो स्थानमा बसेका छन्, जहाँ जीवन सबैभन्दा बढी अर्थपूर्ण हुन्छ । तर, यदि तपाईंमा डरको भाव छ, यदि तपाईं जीविका चलाउने वा आफूलाई जीवित राखिरहने बारेमा मात्रै सोच्नुहुन्छ भने, यसले तपाईंको लागि कुनै अर्थ राख्दैन । यदि तपाईंमा फैलिने अनि परमलाई छुने तीव्र चाहना छ भनेमात्र, यसले तपाईंको लागि महत्त्व राख्दछ । शिव ती मानिसरूप्रति रुचि राख्दैनन्, जो केवल बाँच्न वा जीवन निर्वाह गर्न चाहन्छन् । जीवन निर्वाह गर्नको लागि तपाईंलाई चार हात–खुट्टाहरू र दिमागको केही सक्रिय कोषिकाहरू भएमात्र पुग्छ । चाहे त्यो गँड्यौँला होस् वा फट्याङ्ग्रा अथवा अन्य कुनै जीव— ती सबै राम्रैसँग बाँचिरहेका छन्, ठीकठाक छन् । जीवित रहनको लागि तपाईंलाई त्यतिसम्मको दिमाग भए पुग्छ । तसर्थ, यदि तपाईं जीविकोपार्जन मात्रै सोचिरहनु भएको छ, यदि तपाईंभित्र आफूलाई सुरक्षित राख्ने भावना सबैभन्दा प्रबल छ भने, उनी तपाईंबाट दिग्दार भएका छन्— शिव, तपाईंको मृत्युको प्रतीक्षा गरिरहेका छन् ।
के सीमित हुनु गलत हो ? होइन । तर, सीमित हुनु पीडादायक हुन्छ । के पीडामा रहनु गलत हो ? होइन । यदि तपाईंलाई त्यसमा आनन्द आउँछ भने, मलाई के समस्या ?
शिवलाई संहारक भनिन्छ— तपाईंलाई संहार गर्न चाहेकोले होइन । तपाईंको शरीरलाई नष्ट गर्नको लागि उनी श्मशानमा प्रतीक्षा गरिरहेका छन् । किनकि, जबसम्म शरीर नष्ट हुँदैन, वरपरका मानिसहरूलाई समेत मृत्यु के हो भनेर थाहा हुँदैन । सम्भवतः तपाईंले देख्नुभएको हुन सक्छ कि जब मानिसहरूको प्रियजनको देहान्त हुन्छ, तब उनीहरू लासमाथि बज्रिन्छन्, अँगालो हाल्छन्, चुम्छन्, पुनः जीवित गराउने कोशिस गर्छन्— अनेक चीजहरू गर्छन् । तर, एकपटक जब तपाईं लासलाई आगो लगाउनुहुन्छ, तब कसैले पनि जलिरहेको लासलाई अङ्गालो हाल्दैनन् । उनीहरूभित्र रहेको आत्मरक्षाको प्रवृत्तिले यो बताउँछ कि त्यसो गर्नु उचित होइन ।
म केवल बुद्धिहीनताको विरूद्धमा छु, किनकि मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो कि अरू प्राणीहरूको तुलनामा तपाईंमा बढी समझदारी हुन्छ— वा त्यसो हुनुपर्ने हो ! तर, थुप्रै मानिसहरू यसलाई गलत प्रमाणित गर्ने कोशिसमा जुटेका छन् । सृष्टि भनेको बुद्धिमत्ता हो । सृष्टिकर्ता भनेको परम-बुद्धिमत्ता हो । दुर्भाग्यवश, भद्रगोल र अस्तव्यस्त परिस्थितिहरूमा फसेका थुप्रै मानिसहरू भगवानको बारेमा कुरा गर्छन्, अनि अधिकांश मानिसहरू तबमात्र भगवानको बारेमा कुरा गर्छन्, जब उनीहरू स्वयं अस्तव्यस्त हुन्छन् । यदि मनतातो पानीले नुहाउन पाउनुभयो भने, तपाईं फिल्मको गीत गुनगुनाउनु हुन्छ । यदि हामीले तपाईंलाई कठ्याङ्ग्रिदो तीर्थकुण्डमा चोबल्यौँ भने, 'शिव ! शिव !' गर्दै आत्तिनुहुन्छ । जसै कठिनाइ आइपर्छ, तपाईंको दिमागले शिव सम्झिन्छ । जब तपाईंको जीवन आफ्नो इच्छाअनुसार चलिरहेको हुन्छ, तब तपाईं अनेक किसिमका मानिसहरू अनि सबैथरिका चीजहरूको बारेमा सोच्नुहुन्छ । यदि कसैले तपाईंको टाउकोमा बन्दुक ताक्यो भने— 'शिव ! शिव !' यस्तो क्षणमा तपाईं गलत व्यक्तिलाई पुकार्दै हुनुहुन्छ । उनी श्मशानमा प्रतीक्षा गरिरहेका छन् । कसैले तपाईंको टाउकोमा बन्दुक ताकेको बेला, तपाईं आफ्नो बचाउको निम्ति शिवलाई पुकार्नुहुन्छ— उनी आउने वाला छैनन् ।
श्मशानमा बसिरहेका शिवको सन्देश यही छः यदि तपाईं मर्नुभयो भने पनि, त्यसले काम गर्नेछ । तर, यदि तपाईंले जीवनलाई सङ्कुचित गर्नुभयो भने, त्यसले काम गर्दैन ।
जीवनमा पछाडि फर्किन खोज्नुको कुनै अर्थ हुँदैन । यदि तपाईं अगाडि बढ्नुभयो भने, तपाईं चाहे जुनसुकै दिशामा गएपनि, चाहे जेसुकै गरेपनि— गाउने, नाच्ने, ध्यान गर्ने, रूने, हाँस्ने— जबसम्म यसले तपाईंलाई तीव्रताको उच्च स्तरसम्म पुऱ्याउँछ, त्यसले काम गर्नेछ । यदि तपाईंले यसलाई पछाडि लैजान चाहनुभयो भने, त्यसले काम गर्दैन । अधिकांश मानिसहरूलाई पीडित बनाउनको लागि तपाईंले खुकुरी प्रहार गर्नैपर्दैन । यदि तपाईंले उनीहरूलाई एक्लै छोडिदिनु भयो भने, उनीहरू यत्तिकै दुःखी हुन्छन् । उनीहरूको आत्मरक्षाको भावनाले सबै सीमाहरू पार गरिसक्यो अनि उनीहरू जीवनलाई सङ्कुचित गर्न खोज्दै पछाडितर्फ फर्किने कोशिस गरिरहेका छन् ।
श्मशानमा बसिरहेका शिवको सन्देश यही छः यदि तपाईं मर्नुभयो भने पनि, त्यसले काम गर्नेछ । तर, यदि तपाईंले जीवनलाई सङ्कुचित गर्नुभयो भने, त्यसले काम गर्दैन । तपाईं जीवनलाई सङ्कुचित गर्नुहुन्छ वा जीवनलाई घटित हुन दिनुहुन्छ भन्ने कुरा तपाईं के गर्नुहुन्छ वा के गर्नुहुन्न भन्ने कुरामा निर्भर हुँदैन— बरु, यतिखेर तपाईंको जीवन-प्रक्रिया कति उत्साह र तीव्रताले भरिएको छ भन्नेमा निर्भर हुन्छ ।