सद्गुरु: योगमा हामी भन्छौँ, सम्पूर्ण अस्तित्व ध्वनिको एक जटिल मिश्रण हो । त्यसमा हामीले केही यस्ता ध्वनिहरूको पहिचान गरेका छौं, जसमा विभिन्न आयामहरू खोल्ने क्षमता छ । केही विशेष ध्वनिहरू विशेष उद्देश्यका लागि प्रयोग गरिन्छन् - यी प्रमुख ध्वनिहरूलाई सामान्यतया मन्त्र भनिन्छ । त्यहाँ विभिन्न प्रकारका मन्त्रहरू हुन्छन् । त्यहाँ मन्त्रहरू छन्, जसको प्रयोग केही कुरामाथि विजय प्राप्त गर्न गरिन्छ । त्यहाँ मन्त्रहरू छन् जसबाट आनन्द र प्रेम ल्याउन सकिन्छ । अनुभवका अन्य आयामहरू खोल्नका लागि पनि मन्त्रहरू छन् ।
संसारमा रहेका धेरैजसो आध्यात्मिक मार्गहरूको आधारभूत साधना भनेको सही किसिमको जागरुकताका साथ मन्त्र जप्नु रहँदै आएको छ । धेरैजसो मानिसहरू मन्त्रको प्रयोग बिना आफूभित्र ऊर्जाको सही स्तरमा पुग्न असमर्थ हुन्छन् । मलाई लाग्छ नब्बे प्रतिशतभन्दा बढी मानिसहरूलाई आफूलाई सक्रिय बनाउन सधैं मन्त्रको आवश्यकता पर्छ । यसबिना, उनीहरू टिक्न सक्दैनन् ।
"ॐ नमः शिवाय" योग संस्कृतिमा रहेको आधारभूत मन्त्र हो जसलाई महामन्त्रको रूपमा लिइन्छ ।
"ॐ" ध्वनिलाई "ओम" भनेर उच्चारण गरिनु हुँदैन । यसलाई मुख खोलेर उच्चारण गरिनुपर्छ - "आ," र बिस्तारै मुख बन्द गर्दै जाँदा, यो "ऊ" र "म्" बन्छ । यो प्राकृतिक प्रक्रिया हो, तपाईंले गर्ने कुनै कुरा होइन । यदि तपाईंले मुख खोलेर श्वास छोड्नुभयो भने, यो "आ" बन्छ । जब तपाईं मुख बन्द गर्नुहुन्छ, यो बिस्तारै "ऊ" बन्छ, र पूर्ण बन्द हुँदा "म्" बन्छ । "आ", "ऊ" र "म्" अस्तित्वका मौलिक ध्वनिहरू हुन् । यदि तपाईंले यी तीन ध्वनिहरूलाई एकैसाथ उच्चारण गर्नुभयो भने, तपाईंले "आऊम्" पाउनुहुनेछ । "आऊम्" सबैभन्दा मौलिक मन्त्र हो । त्यसैले, महामन्त्रलाई "ओम नमः शिवाय" भनेर होइन - बरू "आऊम् नमः शिवाय" भनेर उच्चारण गरिनुपर्छ ।
यो मन्त्रलाई कर्मका जालोहरू हटाउन रचना गरिएको छ, जसले गर्दा तपाईंको बोध बिस्तार हुन्छ र तपाईं अस्तित्वको विशाल आयामको लागि उपलब्ध बन्नुहुन्छ ।
यो मन्त्र संहारककर्ता शिवको मन्त्र हो । उनले तपाईंलाई संहार गर्ने होइन, बरु जीवनका ठूला सम्भावनाहरू र तपाईंबीच अवरोधको रूपमा रहेको कुरालाई संहार गर्नेछन् ।
"न-म शि-वा-य" लाई पञ्चाक्षर वा पाँच अक्षर भनिन्छ । यो मन्त्र बस् पाँच अक्षरहरूको एक शानदार व्यवस्था हो, जसले अद्भुत कार्यहरू गर्छ । मानवको इतिहासमा, सायद सबैभन्दा धेरै मानिसहरूले यी पाँच अक्षरहरू मार्फत आफ्नो परम सम्भावना अनुभव गरेका छन् ।
पञ्चाक्षरहरू मानव प्रणालीका पाँच मुख्य केन्द्रहरूसँग सम्बन्धित छन् र यस केन्द्रहरूलाई सक्रिय गर्ने एउटा तरिका हो । हामी यस मन्त्रलाई शुद्धिकरणको प्रक्रियाको रूपमा र साथै हामीले प्राप्त गर्न सक्ने सबै ध्यान-अवस्थाको आधारशिलाको रूपमा प्रयोग गर्न सकिन्छ । धेरैजसो मानिसहरू आफ्नो भित्र मन्त्रको पर्याप्त कम्पन सिर्जना नगरी आफ्नो ध्यान कायम राख्न सक्षम हुँदैनन् । मन्त्र तपाईंको जीवनमा ल्याउनुपर्ने एउटा महत्वपूर्ण माध्यम हो, जसले तपाईंको मानसिक दृष्टिकोण र शारीरिक ऊर्जाहरूलाई एक निश्चित स्तरभन्दा तल झर्नबाट रोक्न आवश्यक आधारभूत कम्पन दिन्छ ।
यी पञ्चाक्षरहरूले प्रकृतिका पाँच तत्वहरूको पनि प्रतिनिधित्व गर्छन् । ‘न’ पृथ्वी हो, ‘म’ पानी हो, ‘शि’ आगो हो, ‘वा’ हावा हो, र ‘य’ आकाश हो । यदि तपाईंले पञ्चाक्षरहरूमाथि कौशल हाँसिल गर्नुभयो भने, यसले तपाईंको चेतनामा यस पाँच तत्वहरूले बनेका सबै कुराहरु विलिन गर्न सक्छन् ।
शिवको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने, उनी भूतेश्वर हुन् - अर्थात् जसको पाँच तत्वहरूमाथि कौशल छ । सम्पूर्ण सृष्टि यी पाँच तत्वहरूको खेल मात्र हो । केवल पाँच सामग्रीहरूबाट यस्तो भव्य सृष्टि ! यदि तपाईंसँग यी पाँच तत्वहरूमाथि थोरै भए पनि कौशल छ भने, तपाईंसँग जीवन, मृत्यु र तपाईंको वरिपरिका सबै कुरामाथि कौशल हुन्छ किनभने सबै कुरा यी पाँच तत्वहरूले बनेका छन् । योगको सबैभन्दा आधारभूत अभ्यास भूत शुद्धि हो, वा तपाईंको प्रणालीमा पाँच तत्वहरूको शुद्धिकरण र नियन्त्रण ।
यदि तपाईंले पाँच तत्वहरूमाथि कौशल हाँसिल गर्नुभयो भने, तपाईंले आफ्नो भौतिकतामाथि पूर्ण कौशल हाँसिल गर्नुभएको छ किनभने तपाईंको सम्पूर्ण भौतिकता यी पाँच सामग्रीहरूको खेल मात्र हो । यदि यी पाँच तत्वहरूले कसरी कार्य गर्नुपर्छ भनेर तपाईंबाट निर्देशनहरू लिइरहेका छन् भने स्वास्थ्य, खुसियाली, सफलता, र जीवनमाथि कौशल पाउनु स्वाभाविक परिणामको रूपमा आउँछ ।