सद्‌गुरुः योग–गाथाअनुसार, गणहरू शिवका साथीहरू हुन् । वास्तवमा, उनीहरू नै जहिल्यै उनको वरिपरि भइरहन्थे । भलै, उनीसँग शिष्यहरू, श्रीमती र अन्य थुप्रै शुभ–चिन्तकहरू भए तापनि, गणहरू उनका अन्तरङ्ग थिए । गणहरूलाई विकृत र विक्षिप्त प्राणीको रूपमा व्याख्या गरिएको छ । यस्तो भनिएको छ कि उनीहरूको हात–खुट्टाहरूमा हड्डिहरू हुँदैनथे अनि ती शरीरको विचित्र भागबाट बाहिर निस्किएका हुन्थे । त्यसैले, उनीहरूलाई विकृत र भद्दा प्राणीको रूपमा व्याख्या गरिएको हो । तर, खासमा कुरा के हो भने, उनीहरू हामीभन्दा भिन्न थिए ।

तपाईंको दिमागमा यो प्रश्न उठ्न सक्छ कि उनीहरू हामीभन्दा त्यति भिन्न कसरी भए त ? यो जीवनको त्यो आयाम हो, जसलाई यतिखेर आत्मसात् गर्न वा स्वीकार गर्न अलिकति गाह्रो हुन सक्दछ । स्वयं शिवलाई जहिल्यै यक्षस्वरूपा भनेर व्याख्या गरिएको छ । यक्ष अर्थात् अलौकिक प्राणी । अलौकिक प्राणी भनेको यस्तो प्राणी जो अन्त कतैबाट आएको हो । लगभग १५,००० वर्षभन्दा पहिले, शिव मानसरोवर आइपुगेका थिए । मानसरोवर तिब्बतमा रहेको एउटा ताल हो । यो टेथीस समुद्रको अवशेष हो, जसलाई मानव सभ्यताहरूको सुरूवात मानिन्छ । अहिले, यो समुद्री सतहभन्दा लगभग १५,००० फिट माथि छ । तर, यो वास्तवमा समुद्र हो, जुन माथि सरेर अहिले ताल बनेको छ ।

वास्तवमा, गणहरूसँगै शिव सबैभन्दा बढी निकट थिए ।

शिवका मित्रहरू— गणहरू— मानिसहरू जस्ता थिएनन् । साथै, यो स्पष्ट रूपमा भनिएको छ कि उनीहरूले मानिसले बोल्ने कुनै पनि भाषा बोल्दैनथे । उनीहरू अत्यन्तै कोलाहल मच्याएर कर्कश स्वरमा बोल्दथे । जब शिव र उनका साथीहरूबिच वार्तालाप हुन्थ्यो, उनीहरू यस्तो भाषा बोल्थे जुन अरू कसैले बुझ्दैनथे । तसर्थ, मानिसहरूले यसलाई छन्द न बन्दको कोलाहल भनेर व्याख्या गरे । तर, गणहरूसँगै शिव सबैभन्दा बढी निकट थिए ।

तपाईंहरूलाई गणपतिले आफ्नो टाउको गुमाएको कथा त थाहै छ ! जब शिव पार्वतीलाई भेट्न आए, ती बालकले उनलाई रोक्ने प्रयास गरे, अनि शिवले उनको टाउको काटिदिए । पार्वती शोकमा डुबेर व्याकुल भइन् अनि उनले शिवलाई बच्चाको टाउको जोड्न भनिन् । तब, शिवले कुनै अर्को जीवको टाउको काटेर त्यस बालकको शरीरमा जोडिदिए ।

यो अर्को जीवलाई हात्ती भन्ने गरिन्छ । तर, तपाईंले बुझ्नुपर्ने कुरा के हो भने, कसैले पनि उनलाई गजपति (हात्तीहरूका राजा) भन्दैनन् । हामी सधैँ उनलाई गणपति (गणहरूका राजा) भनेर सम्बोधन गर्छौँ । वास्तवमा, शिवले आफ्ना एकजना मित्र, गणको टाउको काटेर त्यस बालकको शरीरमा स्थापित गरेका थिए ।

गणहरूसँग हड्डि नभएको हातखुट्टाहरू हुन्थे । यस संस्कृतिमा, हड्डिबिनाको अङ्गलाई हात्तीको सुँड भनेर बुझिन्छ । अतः कलाकारहरूले त्यही आधारमा उनलाई हात्तीको रूप दिए । तर, वास्तवमा उनी गजपति होइनन्— उनी गणपति हुन् ! उनले एउटा गणको शिर पाए, र त्यसपछि शिवले उनलाई गणहरूको नायक बनाइदिए ।

Editor’s Note: Download “Shiva: Ultimate Outlaw”, for more of Sadhguru’s insights on Shiva.

Shiva: Ultimate Outlaw