logo
logo

शिव–शक्तिः कसरी ५४ वटा शक्तिपीठहरू उत्पत्ति भए ?

आफ्ना पिताले शिवको अपमान गरेपछि कसरी सतीले आफैँलाई यज्ञ–अग्नीमा जलाइन्, अनि विरक्त भएका शिवले कसरी सतीको कुहिँदै गरेको शरीर बोकेर हिँडिरहे भन्ने कथा सद्‌गुरु हामीमाझ बताउँदै हुनुहुन्छ । सतीको लास छिन्न–भिन्न भएर थुप्रै स्थानहरूमा झऱ्यो, जसबाट ५४ वटा शक्तिपीठहरू उत्पन्न भए ।

 

सद्‌गुरु: जब हामी शिव संहारक हुन् भन्छौँ, यसको आशय यो संसारलाई विनाश गर्ने बारेमा होइन, बरु तपाईंको संसारलाई विनाश गर्ने बारेमा हो । तपाईंको संसार मूलतः विगतका अनुभवहरू र अनेकौँ छापहरूको भण्डार हो । तपाईंको संसार विगतले बनेको छ । विगत अर्थात् बितिसकेको समय— त्यो जुन मरिसक्यो । यो भ्रमको रूपमा मात्र रहन्छ, जुन तपाईंका विचार–प्रक्रियाहरूद्वारा वर्तमानमा घुसिरहेको छ, अनि यसले तपाईंका इच्छाहरूमार्फत आफूलाई भविष्यमा देखाइरहेको हुन्छ । यदि विचार नभएको भए, अतीत (हिजो) वर्तमानमा रहने थिएन । विचार एउटा भ्रम हो, जबकि इच्छा दोब्बर भ्रम हो किनकि इच्छाले निरन्तर अतीतलाई भविष्यको रूपमा देखाइरहेको हुन्छ । तपाईंले विगतमा जे–जति जान्नुभएको छ, तपाईं त्योभन्दा राम्रो लागेको चीजको इच्छा गर्नुहुन्छ । यदि तपाईं यस सृष्टिको भव्यता जान्न चाहनुहुन्छ भने, त्यो वर्तमान क्षणद्वारा मात्र सम्भव छ, जुन यतिखेर यहीँ छ । यही एकमात्र द्वार हो । यदि तपाईंले अतीतलाई ल्याउनुभयो भने, तपाईं भ्रमित बन्नुहुन्छ । यदि तपाईंले अस्तित्वमा नरहेको कुराको प्रयोग गरेर भविष्यको रूपमा अर्को भ्रम सृजना गर्नुभयो भने, अब त्यो भ्रम यति पूर्ण बन्छ कि तपाईंको जीवनको अनुभवमा यथार्थ पूरै मेटिएको हुन्छ ।

चरम स्थिरतामा विगत रहँदैन । पूर्णतः गतिशील हुँदाको अवस्थामा पनि विगत रहँदैन । यी दुई मूलभूत मार्गमहरू हुन्, जुन शिवले सृष्टि र सृष्टिको स्रोतसम्म पुग्नका लागि पत्ता लगाएका थिए । यसैकारण, उनलाई जहिल्यै पनि कि त ताण्डव नृत्य गरिरहेको नर्तकको रूपमा व्याख्या गरिन्छ, वा पूर्णतया स्थिर बसिरहेका तपस्वीको रूपमा चित्रित गरिन्छ ।

 

शिवलाई सतीसँग विवाह गराइदिने प्रपञ्च


योग–संस्कृतिमा रहेको कथा यस्तो छः शिव स्थिरताबाट नृत्यमा अनि नृत्यबाट स्थिरताको अवस्थामा जान थाले । गन्धर्वहरू, यक्षहरू, तीनवटै लोकका देवताहरू अनि अरू सबैले उत्सुक र मन्त्रमुग्ध भएर उनलाई हेर्न थाले । उनीहरूले यो चरम गतिशीलता र पूर्ण स्थिरताको आनन्द त लिए, तर उनीहरूलाई शिवको यस अनुभवको प्रकृतिबारे अलिकति पनि सुइँको थिएन । उनीहरू पनि यो अनुभवलाई चाख्न चाहन्थे ।

उत्सुक हुँदाको अवस्थाबाट उनीहरू अभिरुचिको अवस्थामा पुगे । अभिरुचिको अवस्थाबाट उनीहरू शिवको नजिक जाने कोसिस गरे, तर उनीहरूले न त नृत्यको प्रखरता खप्न सके, न त स्थिरताको तिव्रतालाई नै सहन सके !

शिवले जे अनुभव गरिरहेका थिए, त्यो थाहा पाउनको लागि उनीहरूले योजना र रणनितिहरू बनाउन थाले । उनीहरूले छलफल गोष्ठी डाके, जसले बिस्तारै षड्‌यन्त्रको रूप लिँदै गयो । उनीहरूले कुनै न कुनै तरिकाले शिवको विवाह गरिदिने निधो गरे । "हाम्रो तर्फबाट यस्तो व्यक्ति हामीसँग हुनुपर्छ, जसले हामीलाई यो बताउन सक्षम हुनेछ कि त्यस किसिमको परम–आनन्द, उल्लास र साथसाथै त्यस किमिसको मृत्यु सरह स्थिरता (अचलता) को आधार के हो । उनले दुवैको आनन्द लिइरहेको जस्तो प्रतीत हुन्छ । हामीलाई यस्तो मानिसको खाँचो छ, जसले आफूभित्र केही अनुभव गरेको होओस् ।"

थुप्रै कार्यहरू भए— म त्यो षड्‌यन्त्रको बारेमा पुरै विस्तारमा जान चाहन्न, किनकि त्यो निकै लामो षड्‌यन्त्र थियो । यदि तपाईं शिवको भित्री रूप जान्न चाहनुहुन्छ भने, यसको लागि विशाल षड्‌यन्त्र आवश्यक हुन्छ— र, उनीहरूले त्यसको योजना बनाए, जाल बिच्छ्याए अनि कार्यान्वयन गरे । अन्ततः उनीहरूले शिवलाई सतीसँग विवाह गराइछाडे । शिवले ती सबैथोक हुन दिए— उनी पूर्ण रूपमा संलग्न भए र सतीप्रति गहिरो प्रेम भावले अभिभूत बने ।

सतीको पिताले शिवको अपमान गरे


शिवले सतीलाई आफ्नो जीवनको अंश बन्न दिए । तर, सतीको पिता दक्षले आफ्ना ज्वाईं शिवलाई घृणा गरे— शिव कुनै राजा होइनन्, उनी राम्रो पहिरन लगाउँदैनन्, शरीरभरि खरानी धसेका हुन्छन्, उनी मान्छेको खोपडीमा खान्छन्, उनका सबै मित्रहरू अनेक किसिमका राक्षसहरू, पिशाचहरू र विक्षिप्त प्राणीहरू हुन् । उनी सदैव कि त ध्यानमा मग्न हुन्थे वा नशामा । कि त उनी आँखा बन्द गरेर बसिरहेका हुन्छन् वा पागल सरह ताण्डव नृत्य गरिरहेका हुन्छन् । यस्तो किसिमको ज्वाईं न त गर्व गर्न योग्य हुन्छ, न त वरिपरि देखिन नै लायक हुन्छ !



पछि कुनै समयमा, दक्षले एउटा ठुलो यज्ञ आयोजना गरे, जसमा उनले सबै राजाहरू, सम्पूर्ण देवी–देवताहरू र सबै यक्षहरूलाई आमन्त्रण गरेका थिए । तर, उनले शिवलाई आमन्त्रण गरेनन् । शिव र सती जङ्गलमा बसिरहेका थिए । सतीले निकै प्रेमपूर्वक शिवलाई जङ्गलमा भेटिएका कन्दमूल र फलहरू खुवाइरहेकी थिइन्, किनकि उनीहरू त्यही मात्र खान्थे । उनीहरूसँग घर थिएन र खाना पकाउनको लागि उपयुक्त व्यवस्था थिएन, त्यसैले उनीहरूसँग खानको लागि फलफुल र कोशेलीको रूपमा आएका चीजहरू मात्रै हुने गर्थ्यो ।

त्यसैबेला, सतीले ठुलो भीड देखिन्— अत्यन्तै सुन्दर रथहरू, सबै राजाहरू, सम्पूर्ण देवी–देवताहरू पूरै सजिएर, झकिझकाउ भएर कतै गइरहेका थिए । तब उनले शिवलाई सोधिन्, "यो के भइरहेको छ ? सबैजना कता गइरहेका छन् ?” शिवले भने, “यसले केही फरक पर्दैन । उनीहरू जतासुकै गइरहेको भएपनि हामी त्यहाँ जान आवश्यक छैन ।" तर, उनी निकै उत्साहित भइन् । "सबैजना कता गइरहेका छन् ? हेर्नुस् त, उनीहरू कसरी सजिएका छन् ? के भइरहेको छ ?" उनले भने, "त्यसको चिन्ता नगर । हामी यहिँ ठिक छौँ । के तिमी यहाँ दुःखी छौ ? छैनाै, तिमी खुसी छौ । उनीहरूका बारेमा चिन्ता नगर ।" शिव यो जान्दथे कि वास्तवमा के भइरहेको छ !

तर, उनको उत्सुकता र स्त्री सुलभ उत्साहले उनलाई यत्तिकै त्यहाँ बसिरहन र रूखका फलहरूको आनन्द लिन दिएन । उनी अगाडि गइन् र एउटा रथलाई रोकेर सोधिन्, "तपाईंहरू सबै कता जाँदै हुनुहुन्छ ?" उनीहरूले भने, “के तपाईंलाई थाहा छैन र ? तपाईंका पिताले विशाल यज्ञ आयोजना गर्नुभएको छ, अनि उहाँले हामी सबैलाई आमन्त्रण गर्नुभएको छ । तपाईं पनि जाने होइन र ?" जब उनले आफू र आफ्ना पतिलाई आमन्त्रण नगरिएको कुरा थाहा पाइन्, उनी छाँगाबाट खसे जस्तै भइन् । उनले निकै अपमानित महसुस गरिन् । उनले शिवसँग अनुचित भएको ठानिन् । उनले शिवलाई भनिन्, "म मेरा पिता समक्ष जाँदैछु । उहाँले कसरी यस्तो गर्न सक्नुभयो ?” शिवले भने, "यसले मलाई केही फरक पार्दैन । तिमी किन यत्तिकै चिढिएकी छौ ? हामी यहीँ ठिक छौँ । हामी किन उनको यज्ञमा जानुपऱ्यो ?"

तर, उनी निमन्त्रणा नगरिनुको अपमानले अत्यन्तै चिढिएकी थिइन् । उनले भनिन्, "होइन, म जानैपर्छ । त्यहाँ पक्कै केही गल्ती भएको हुनुपर्छ । सायद निमन्त्रणा-पत्र हराएको हुन सक्छ । यस्तो हुनै सक्दैन । उहाँले कसरी तपाईं र मलाई नबोलाउन सक्नु होला र ? म उहाँकी छोरी हुँ । कहीँ न कहीँ गल्ती भएकै हुनुपर्छ । म विश्वस्त छु कि उहाँले यस्तो गर्नु हुने थिएन । मेरा पिता त्यस्तो हुनुहुन्न ।" शिवले भने, "नजाऊ ।" तर, उनी सुन्ने पक्षमा थिइनन्— उनी गइन् ।

सतीले आफैँलाई यज्ञको अग्निमा जलाइन्


जब उनी अनुष्ठान भइरहेको स्थलमा पुगिन्, उनले यो देखिन् कि काका-मामाका सबै छोरीहरू त्यहाँ थिए अनि सबैजना, जो कोही थिए, त्यहाँ उपस्थित थिए— सबैजना पूरै सुसज्जित भएर आएका थिए । तर, उनी चाहिँ त्यही साधारण कपडाहरूमा आएकी थिइन्, जुन उनी हिमालयमा बस्दा लगाउँथिन् । त्यसैले, मानिसहरूले उनलाई खिसी गर्दै खिल्ली उडाए । उनीहरूले सोधे, "तिम्रो खरानी घसेको पोइ खोइ त ? जो मान्छेले थाहा छैन कति लामो समयदेखि आफ्नो कपाल कोरेको छैन, खै कहाँ छ ऊ ?"

उनले यी सबै टिप्पणीलाई बेवास्ता गरिन् र आफ्ना पितालाई भेट्न गइन् । उनी अझै पनि कहीँ त्रुटी भएको हुनुपर्छ भनेर विश्वास गरिरहेकी थिइन् । जब उनको पितासँग भेट भयो, दक्ष निकै आक्रोशित भए । तर, उनले सोधिन्, “तपाईं कसरी शिवलाई आमन्त्रण नगर्न सक्नुहुन्छ ?" तब, दक्षले शिवलाई भएसम्मका तथानाथ गाली–गलौज गरे अनि भने, "म कहिल्यै त्यसलाई आफ्नो घरमा पाइला राख्न दिन्न ।"

उनको हृदय छियाछिया भयो र उनी अत्यन्तै निराश भइन् । यज्ञमा आगो बलिरहेको थियो । उनी सिधै त्यसभित्र पसिन् र आफूलाई जलाइन् । नन्दी र अन्य गणहरूले सतीलाई पछ्याएका थिए । जब उनीहरूले यो दृश्य देखे, उनीहरू अत्यन्तै भयभीत भए अनि झट्टै शिव भएको स्थानतर्फ लागे । उनीहरू त्यहाँ पुगे अनि दक्षले सतीको अपमान गरेको कारण सतीले यज्ञ–अग्निमा आफूलाई होमेर जलाएको कुरा शिवलाई बताए ।

शिवले वीरभद्र सृजना गरे


शिव केही निश्चित समयको लागि स्थिर भएर बसे । त्यसपछि उनी ज्वाला बने । उनी आक्रोशले भरिए । शिवले आफ्नो जटाबाट एउटा लट्टा निकाले, छेउमै रहेको पत्थरमा बेसरी बजारे अनि अत्यन्तै शक्तिशाली जीवको सृजना गरे— जो थियो वीरभद्र । उनले विरभद्रलाई निर्देशन दिए, “गएर यज्ञ नष्ट गर्नू । यो यज्ञबाट कसैले पनि रत्ती भर पाउनुहुँदैन— यहाँ सम्म कि दक्षले पनि । जेसुकै वा जोसुकै होऊन्, जो यस यज्ञमा संलग्न छन्, सबैको संहार गरिदिनू ।" वीरभद्र क्रोधले हुर्रिँदै गयो— यज्ञलाई ध्वस्त पाऱ्यो, आफ्नो बाटोमा आएका जो–कोहीलाई वा जेसुकैलाई माऱ्यो, अनि विशेषगरी दक्षलाई सुलीमा चढायो ।

शक्तिपीठहरूको उत्पत्ति


त्यसपछि, शिव आए अनि सतीको आधा जलेको शरीर उठाए— उनको शोक शब्दमा बयान गर्नै नसकिने खालको थियो । उनले सतीको शरीरलाई आफ्नो काँधमा उठाए अनि हिँडे । उनी निकै आक्रोश र शोकको अवस्थामा हिँडिरहे । शिवले उनको शरीरलाई न त जमिनमा राखे, न त आगोले जलाउन दिए, न त गाढे । उनी केवल हिँडिरहे । जसैजसै उनी हिँडिरहेका थिए, सतीको शरीर कुहिन थाल्यो । जसै शरिर कुहिँदै गयो, विभिन्न भागहरू गल्दै गयो र ५४ वटा विभिन्न ठाउँहरूमा खस्यो । यिनै ५४ स्थानहरूलाई यहाँ शक्तिपीठ वा शक्तिस्थल भनेर चिनिन्छ । जहाँजहाँ सतीको शरीरका अङ्गहरू खसे, ती ठाउँहरूमा शक्तिको एउटा गुण स्थापित भयो । यी स्थानहरूमा प्रमुख देवी मन्दिरहरू छन् ।

यीमध्ये तीनवटा स्थानहरू गोप्य मानिन्छन्, जुन केही मानिसहरूबाहेक अरू कसैलाई पनि थाहा छैन । बाँकी ५१ वटा स्थानहरूको बारेमा मानिसहरूलाई थाहा छ ।

    Share

Related Tags

शिव र पार्वतीशिव र उनको परिवार

Get latest blogs on Shiva

Related Content

शिवलाई किन महादेव भनिन्छ ?