प्रश्न: मेरो प्रश्न विवाह र सम्बन्ध-बिच्छेदको बारेमा रहेको छ । मेरो वैवाहिक जीवनको २५ वर्ष पूरा भएको छ । यस दौरान थुप्रै क्षणहरू यस्ता थिए, जब मलाई सम्बन्ध-बिच्छेद गर्न मन लागेको थियो, तथापि जब म साँच्चिकै प्रेममा डुबेको हुन्थें, त्यसबेला निकै रमाइलो अनुभव हुन्थ्यो । तर, अचेल म यो देखिरहेको छु कि थुप्रै युवाहरू विवाह नै गर्न चाहँदैनन्, अनि जो विवाहित छन्, उनीहरू समेत सम्बन्ध-बिच्छेद (पारपाचुके) गरिरहेका छन् । सद्‌गुरु, तपाईं यस विषयमा केही प्रकाश पार्न चाहनुहुन्छ ?


सद्‌गुरु: तपाईं जे गर्न चाहनुहुन्थ्यो, उनीहरू त्यसमा सफल भएका हुन् ! तपाईंले विवाह कस्तो किसिमको संस्था हो भनेर बुझ्न जरूरी छ । विवाहको एउटा पक्ष भनेको हरेक व्यक्तिमा हुने मूलभूत आवश्यकताहरूमा एक प्रकारको पवित्रता ल्याउनु हो । हामीमा थुप्रै आवश्यकताहरू हुन्छन्— शारीरिक, मनोवैज्ञानिक, आर्थिक, भावनात्मक र सामाजिक आवश्यकताहरू । यी सम्पूर्ण आवश्यकताहरू पूरा गर्नका लागि हामीले विवाह भन्ने संस्था स्थापना गरेका हौँ, जहाँ यी सबै चीजहरू उचित ढङ्गले पूरा गर्न सकिन्छ । विवाह, हाम्रो जीवनमा एक प्रकारले व्यवस्था, सौन्दर्य र स्थायित्व ल्याउनको निम्ति बनाइएको हो, किनकि पुरुष र स्त्री एकसाथ हुँदा स्वाभाविक रूपमा एउटा नयाँ जीवनको आगमन हुने गर्थ्यो ।

तपाईंले विवाह र सम्बन्ध-बिच्छेदको बारेमा एकै श्वासमा कुरा गर्नु जरूरी छैन— मानौँ कि ती दुवै सँगसँगै आउँछन् ।

मानव जीवनको प्रकृति, मानिसको बच्चाको प्रकृति यस्तो हुन्छ कि बाँकी जीवहरूको तुलनामा मनुष्यले जुन सम्भावनाहरू बोकेको हुन्छ, त्यसले गर्दा उसको जीवन एकदमै असाहय हुन्छ अनि उसलाई सबैभन्दा बढी हेरचाह र सहारा आवश्यक हुन्छ । तपाईंले कुकुरको छाउरालाई सडकमा यत्तिकै छोड्नुभयो भने, उसले राम्रोसँग खान पाउँदासम्म, ऊ बिस्तारै-बिस्तारै हुर्किँदै जान्छ अनि राम्रो कुकुर बन्दछ । तर, मानिसको सन्दर्भमा यस्तो हुँदैन— मान्छेको बच्चालाई शारीरिक हेरचाह मात्र नभई अन्य थुपै सहायताहरू जरूरी हुन्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्थिर परिवेश हुनु अत्यन्तै आवश्यक हुन्छ । जब उनीहरू अठार वर्षका हुन्छन्, तब उनीहरू विवाह गर्नुपर्छ कि गर्नुपर्दैन भन्ने बिषयलाई लिएर विवाद गर्छन् । किनकी, भौतिक शरीरले स्वतन्त्र हुन खोजिरहेको हुन्छ । त्यसबेला, हरेक कसैमा यो प्रश्न उब्जिन्छ— के विवाह वास्तवमै आवश्यक छ ? के हामी आफूले चाहे जसरी जीवन बिताउन सक्दैनौँ ? तर, जब तपाईं तीन वर्षको हुनुहुन्थ्यो, तपाईं स्थिर वैवाहिक जीवनलाई निकै महत्त्व दिनुहुन्थ्यो, हैन र ? आफ्नो होइन, बरु आफ्ना आमाबुबाको !

जब तपाईं ३-४ वर्षको हुनुहुन्थ्यो, तब तपाईं १०० % विवाहको पक्षमा हुनुहुन्थ्यो । जब तपाईं ४५- ५० वर्ष पुग्नुहुन्छ, एकपटक पुनः तपाईं १००% विवाहको पक्षमा उभिनुहुन्छ । १८ देखि ३५ को उमेरमा मात्रै तपाईं यो पूरै संस्थामाथि प्रश्न उठाउनु हुन्छ ।

जुनबेला तपाईंमाथि भौतिक शरीर हाबी हुन्छ, यदि तपाईंले शरीरको कुरा सुन्नुभयो भने, तपाईं हरेक संस्थामाथि प्रश्न उठाउनु हुनेछ । यो तपाईंको हर्मोनले सल्काएको स्वतन्त्रता हो । तपाईंको बुद्धिमता हर्मोनको अधीनमा भएकोले, तपाईं हरेक चीजको आधारमाथि प्रश्न गर्नुहुन्छ । म यो भनिरहेको छैन कि विवाह नै एकमात्र उचित संस्था हो, तर के तपाईंसँग योभन्दा राम्रो विकल्प छ ? हामीसँग योभन्दा उचित विकल्प छैन, किनकी एउटा बच्चाको निम्ति स्थिर परिवेश हुनु अत्यन्तै जरूरी हुन्छ ।

विवाह रोजाइ हो, बाध्यता होइन

यदि तपाईंको मनका तरङ्ग र लहडहरू परिवर्तन भइरहन्छन्, यदि तपाईंका भावनाहरू बदलिरहन्छन् भने, त्यस्तो परिस्थितिमा नपर्नु नै उचित हुन्छ । हरेक व्यक्तिले विवाह गर्नु अनि बच्चा जन्माउनु पर्ने कुरा न त अनिवार्य छ, न नै आवश्यक । तर, यदि तपाईं त्यो रोज्नुहुन्छ अनि विशेषगरी तपाईंका बच्चाहरू छन् भने, तपाईंले यो कुरा बुझ्नैपर्छ कि यो कम्तीमा पनि बीस वर्षको परियोजना हो । त्यो पनि यदि उनीहरूले राम्रो गरे भने, नत्रभने यो जीवनभरिको काम हो । यदि तपाईं त्यसमा प्रवेश गर्न चाहनुहुन्छ भने, कम्तीमा पनि बीस वर्षको लागि स्थिर माहोल सृजना गर्नको निम्ति तपाईं प्रतिबद्द हुनैपर्छ । अन्यथा, तपाईंले त्यस्तो परियोजनामा हात हाल्नु हुँदैन । कुनै परियोजना सुरु गर्ने, बीचमै छोड्ने अनि त्यसबाट भाग्ने काम कहिल्यै नगर्नुहोस् ।

यदि तपाईंलाई त्यो मनपर्दैन भने परियोजना नै सुरु नगर्नुहोस्— छोटो समयका चीजहरू रोज्नुहोस् । यसका आफ्नै फाइदाहरू छन्, आफ्नै बेफाइदाहरू छन् । यो तपाईंको रोजाइ हो, तर जे रोज्दै हुनुहुन्छ कम्तीमा त्यो त होसपूर्वक रोज्नुहोस् । अरू सबैले विवाह गरिरहेका छन् भन्दैमा तपाईंले विवाह गर्नुपर्छ भन्ने छैन । तपाईंले एकै श्वासमा विवाह र सम्बन्ध-बिच्छेदको बारेमा कुरा गर्न जरूरी छैन— कत्ति न दुवै सँगसँगै आउने जस्तो ! केही समय अगाडिसम्म यस संस्कृतिमा कसैले पनि सम्बन्ध-बिच्छेदको बारेमा सोच्थेनन् ।

यदि कुनै कारणवश केही भयो, जहाँ दुई व्यक्ति बीचको सम्बन्धमा फाटो आयो अनि त्यसलाई सुधार्ने अरू कुनै तरिकाहरू नभएकाले उनीहरू छुट्टिनै पर्ने हो भने, त्यो दुर्भाग्यपूर्ण हो । कुनैबेला त्यस्तो हुन्छ । तर, तपाईंले विवाहको समयमै सम्बन्ध-बिच्छेदको योजना बनाउनु पर्दैन ।

Editor’s Note: Sadhguru speaks about the nature of human relationships in “Compulsiveness to Consciousness.” Available at Isha Downloads.

This article is based on an excerpt from the February 2015 issue of Forest Flower. Pay what you want and download. (set ‘0’ for free). Print subscriptions are also available.