आफ्नो प्रियजनको मृत्युको शोकबाट कसरी बाहिर निस्किने ?

जब हामी आफ्नो प्रियजन गुमाउँछौँ, तब हामी प्रायः दुःख र अवसादमा डुब्छौँ । सद्‌गुरु, बताउँदै हुनुहुन्छ कि यो पीडा र डिप्रेशनमा जाने समय नभई ती व्यक्तिले हाम्रो जीवनलाई जुन रूपमा समृद्ध बनाएका थिए, ती यादहरूलाई स्मरण गर्दै धन्य हुने समय हो ।
Sadhguru Wisdom Article | Loss and Grief: Coping with the Death of a Loved One
 

प्रश्नः सद्‌गुरु, पाँच हप्ताअघि मैले आफ्नी श्रीमती गुमाएँ । उनी एकदमै असल व्यक्ति थिइन् । तर, उनीमाथि नै यस्तो किन भयो ?


सद्‌गुरुः जब हामी आफ्नो प्रियजन गुमाउँछौँ— चाहे रोग लागेर वा मृत्यु भएर वा छोडेर गएको कारण— हामीले चाहे जुनसुकै कारणले गुमाए तापनि, सबैभन्दा ठूलो समस्या के हो भने ती व्यक्तिले हाम्रो जीवनमा जुन स्थान ओगटेका हुन्छन्, त्यहाँ अब रिक्तता वा खालीपन हुन्छ । जीवनको मूल प्रकृति नै यही हो कि तपाईं र तपाईंको प्रिय व्यक्ति कुनै न कुनैदिन अवश्य मर्नुपर्नेछ— हामीले यो बुझ्न जरूरी छ । पहिला कसको मृत्यु हुन्छ भन्नेमात्र प्रश्न हो ।

हामीले यो कुरा आत्मसात् गर्नु निकै महत्त्वपूर्ण छ कि हामी र हाम्रो सेरोफेरोका मानिसहरू सधैँभरि यहाँ रहने छैनन् ।

यो सुन्दा कठोर लाग्न सक्छ, तर मेरो अभिप्राय त्यो होइन । यी चीजहरूलाई बुझ्नु र स्वीकार गर्नु एकदमै महत्त्वपूर्ण छ । अन्यथा, हामी आफैँलाई सुन्दर कुराहरू भनेर बहलाउँदै जानेछौँ, जसले आज त सान्त्वना दिनेछ, तर भोलि हामीलाई यथार्थले पुनः तड्पाउनेछ । हामी त्यही चीज बारम्बार गरिरहने छौँ ।

जीवनको वास्तविकता

हामी र हाम्रो सेरोफेरोका मानिसहरू सधैँभरि यहाँ रहने छैनन् भन्ने कुरालाई हामीले आत्मसात् गर्नु निकै महत्त्वपूर्ण छ । जब हामी यहाँ छौँ, हामीले सबैप्रति आफूमा भएको सुन्दर पक्ष व्यक्त गर्नुपर्छ । समस्या यत्ति हो कि यदि डाक्टरले "तपाईं भोलि मर्दै हुनुहुन्छ" भनेर तपाईंलाई भनिदियो भने, सबैजना तपाईंसामु आएर राम्ररी प्रस्तुत हुन्छन् । यदि तपाईंले "म पचास वर्षपछि मर्नेछु" भन्नुभयो भने, अधिकांश मानिसहरूले वास्ता नै गर्दैनन् । तर, हामीलाई यो थाहा हुँदैन कि हाम्रो मृत्यु पचास वर्षपछि हुनेछ वा भोलि नै ! तपाईं एकदिन मर्नुहुनेछ र उनीहरू पनि मर्नेछन् भन्ने कुरा त तपाईंलाई थाहा छ । तपाईंलाई त्यो कहिले हुन्छ भनेर थाह नभएको मात्र हो । यसैकारण, तपाईंले अरूहरूप्रति जतिबेला पनि आफ्नो सबैभन्दा राम्रो पक्ष प्रस्तुत गर्नुपर्दैन र ?

म तपाईंसँग एकदमै रामो तरिकाले प्रस्तुत भइरहेको छु, किनकि मलाई थाहा छ कि तपाईं मर्नुहुनेछ । कहिलेकाहीँ, तपाईं कहिले मर्नुहुनेछ भनेर पनि थाहा हुन्छ । तर, धेरै पटक तपाईं कहिले मर्नुहुनेछ भनेर मलाई थाहा हुँदैन । म यतिमात्र निश्चित गरिरहेको छु कि म तपाईंहरूसँग राम्रो तरिकाले प्रस्तुत हुन सकूँ, किनकि तपाईं नश्वर (नाशवान्) व्यक्ति हो ।

यो प्रत्येक मानिसको सन्दर्भमा सत्य हो; प्रत्येक जीवनको सन्दर्भमा सत्य हो । तपाईंको घरबाहिर रहेको रूख कहिले मर्नेछ अथवा तपाईं कहिले मर्नुहुनेछ भनेर कसलाई पो थाहा हुन्छ र ? तपाईंलाई थाहा हुँदैन ।

हर्षको आँसु, न कि शोकको

एउटा कुरा के हो भने अरू मानिसहरूले कुनै न कुनै तरिकाले वा सायद थुप्रै तरिकाहरूले हाम्रो जीवनलाई समृद्ध बनाएको हुनाले नै हामीलाई उनीहरू प्रिय लाग्छन् । यदि हामी वरपरका मानिसहरूले हाम्रो जीवनलाई अझ राम्रो बनाएका छन् अनि यदि हामी उनीहरूलाई सम्झिन्छौँ भने, हामी हर्षित भएर सम्झिनुपर्छ— उनीहरूको अवसानलाई शोकपूर्ण बनाउनु हुँदैन । उनीहरूले हाम्रो जीवनमा जुन सुख-समृद्धि ल्याएका हुन्छन्, हामीसँग आफ्नो मिठास र स्नेह बाँडेका हुन्छन्, त्यसप्रति हामीले श्रद्धा र आदर गर्नुपर्छ । कुनै न कुनै रूपमा, कम्तीमा पनि केही पटक उनीहरूको कारण तपाईंले आफूलाई पूर्ण महसुस गर्नुभएको थियो, उनीहरूको कारण तपाईंलाई आफ्नो जीवन पूर्ण भएको आभास भएको थियो । उनीहरूको सम्झनाले तपाईंमा हर्ष र प्रेमको आँशु लिएर आओस्, शोकको होइन ।

यदि ती प्रिय व्यक्ति तपाईंको निम्ति निकै अद्‌भुत थिए भने, कृपया तपाईं त्यो कुरालाई ती व्यक्तिहरूमाझ सुनाउनुहोस्, जो अझै तपाईं वरपर बाँचिरहेका छन् ।

कुनै न कुनै रूपमा ती व्यक्ति तपाईंप्रति एकदमै असल भएकोले नै तपाईंको जीवनमा उनीहरूको महत्त्व थियो । उनीहरूको सम्झनामा आफैँलाई शोक र अवसाद (डिप्रेसन) तर्फ धकेल्नुको सट्टा, ती सम्झनाहरूले तपाईंमा उनीहरूसँग रहँदाको सुन्दर पक्षहरू पुनः ल्याउनुपर्छ । आफूलाई शोक र अवसादतर्फ धकेल्नु भनेको के हो भने, तपाईंले जीवनको सबैभन्दा मूलभूत पक्ष— नश्वरता (मृत्यु)— लाई आत्मसात् वा स्वीकार गर्नुभएको छैन । मानिसहरू चाहे असल वा खराब भए तापनि सबैजना एकदिन अवश्य मर्नेछन् ।

तपाईंले जे गुमाउनु भएको छ, म त्यसप्रति कुनै ठट्टा गरिरहेको छैन । दिवङ्गत भएका प्रियजनले तपाईंको निम्ति कति महत्त्व राख्थे भनेर म बुझ्न सक्छु । तर, म यो चाहन्छु कि उनीहरूको मृत्युलाई लिएर आफूलाई पीडामा डुबाउनुको सट्टा तपाईं सबै राम्रा कुराहरूको लागि उनीहरूलाई याद गर्नुहोस् । यदि तपाईं पहिले मर्नुभएको भए, तपाईंले अरूहरूलाई नराम्रो स्थानमा छोड्नुहुने थियो— त्यसैले, कृपया मानिसको रूममा साहस बटुल्नुहोस् ।

तपाईंसँग जे-जति राम्रा चीजहरू भएका छन्, ती कुनै न कुनै रूपमा अभिव्यक्त वा प्रकट हुनुपर्छ । यदि ती प्रिय व्यक्ति तपाईंको निम्ति निकै अद्‌भुत थिए भने, कृपया तपाईं त्यो कुरालाई ती व्यक्तिहरूमाझ सुनाउनुहोस्, जो अझै तपाईं वरपर बाँचिरहेका छन् । जीवन यसरी नै अघि बढ्छ ।

जीवन अनि जीवनका सहायक वस्तुहरू

जब म ″जीवन″ भन्दछु, म वास्तविक जीवनको कुरा गरिरहेको छु, तपाईं के गर्नुहुन्छ भन्ने बारेमा होइन । साधारणतया, तपाईं यो सोच्नुहुन्छ कि तपाईंको परिवार, तपाईंको काम, तपाईंको व्यवसाय, तपाईंको धन-सम्पत्ति अनि आफूसँग भएका अरू चीजहरू नै जीवन हो । तर, यी सबै जीवनका सहायक वस्तुहरू मात्र हुन् । धन, सम्पत्ति, सम्बन्धहरू, बच्चाहरूले आफ्नो जीवनलाई कुनै न कुनै तरिकाले समृद्ध गर्नेछन् भन्ने सोचेर नै तपाईंले तिनलाई जीवनमा भित्र्याउनु भएको थियो । तपाईंले यति धेरै सहायक वस्तुहरू जम्मा गर्नुभएको छ, अनि तपाईं यिनमै यति मग्न र आसक्त हुनुहुन्छ, साथै यस हदसम्म आफ्नो पहिचान गाँस्नुभएको छ कि तपाईंले कहिल्यै यो जीवनलाई अनुभव नै गर्नुभएको छैन— यो जीवन, जुन तपाईं वास्तवमा हो ।

वास्तविकता के हो भने जीवनको यो अंश, जुन तपाईं स्वयं हो, त्यो अझै यहीँ छ— सहायक कुराहरू मात्रै समयसँगै तपाईंबाट अलग भइरहेका हुन् ।

अधिकांश मानिसहरू जीवन भनेको आफूले जम्मा गरेका चीजहरूको सङ्ग्रह हो भनेर विश्वास गर्छन् । जब त्यो सङ्ग्रहबाट एउटा अंश हराउँछ, अचानक तपाईंलाई जीवन नै समाप्त भएको महसुस हुन्छ— यो सत्य होइन । तपाईंको जीवनमा केही मानिसहरूको आगमन हुनुअघि समेत तपाईं जीवित हुनुहुन्थ्यो, तपाईं हाँस्नुहुन्थ्यो, तपाईंलाई हर्ष के हो भनेर थाहा थियो । तपाईंले मानिसहरूलाई आफ्नो जीवनमा यसकारण जोड्नुभयो, किनकि तपाईंले यसबाट आफ्नो जीवन समृद्ध बन्नेछ भनेर ठान्नुभएको थियो, अथवा सम्भवतः कुनै आवश्यकता पूरा गर्नुथियो । ठीकै छ, तर अहिले, अर्को व्यक्तिसँगको पहिचानले गर्दा कोही यहाँबाट बिदा हुनु भनेको आफ्नो जीवनको अंश नै गुम्नु हो भनेर सोचिरहनु भएको छ ।

जीवनसँग साक्षात्कार

वास्तविकता के हो भने जीवनको यो अंश, जुन तपाईं स्वयं हो, त्यो अझै यहीँ छ— सहायक कुराहरू मात्रै समयसँगै तपाईंबाट छुट्टिँदै गएका हुन् । तपाईंको उमेर ढल्दै गर्दा, तपाईंका हजुरबुबा-हजुरआमाको मृत्यु हुनेछ, तपाईंका आमा-बुबाको मृत्यु हुनेछ, कहिलेकाहीँ तपाईंभन्दा पहिला नै तपाईंको जीवन-सङ्गिनीको मृत्यु हुनेछ । केही मानिसहरूले आफ्नो कपाल गुमाउने छन् । केही मानिसहरूले आफ्नो दिमाग समेत गुमाउने छन्— यो कुनै ठट्टा होइन । केही मानिसहरूले आफ्नो शरीरको केही अङ्गहरू गुमाउने छन् । केही मानिसहरूले आफ्ना सम्बन्धहरू गुमाउने छन् । केही मानिसहरूले सामान, सत्ता, पद वा पैसा गुमाउने छन् ।

यी सबै तपाईंको 'बिदाइ' को तयारी हो । तपाईंको बोझ थोरै-थोरै गर्दै कम हुँदै जान्छ, जसकारण जब तपाईं जानुहुन्छ, तपाईं अझ सजिलोसँग जानुहुनेछ । यो कुनै दर्शन होइन— जीवन यही तरिकाले घटित भइरहेको हुन्छ । तपाईं जीवनसँग साक्षात्कार गर्न चाहनुहुन्न, यसैकारण तपाईं आफ्नो मनमा काल्पनिक छविहरू बनाइरहनु हुन्छ । अनि, तपाईं यी काल्पनिक छविहरूलाई वास्तविकतामा बदल्न चाहनुहुन्छ । तपाईंले आफ्नो मनमा उत्पन्न गर्ने मनोवैज्ञानिक नाटकहरू कहिल्यै वास्तविकता बन्ने छैनन् । तपाईंले कुनै न कुनै दिन पर्दा बन्द गर्नैपर्छ । तपाईं जति छिटो भ्रमबाट मुक्त बन्नुहुन्छ, त्यति नै राम्रो हुन्छ । तपाईं कि त आफ्नो विवेक प्रयोग गर्न सक्नहुन्छ वा नैराश्यतामा डुब्न सक्नुहुन्छ— यो छनौट तपाईंले नै गर्नुपर्छ ।

मोहभङ्ग— भ्रमको जालोबाट मुक्त हुनु

जब जीवनले मोहभङ्ग गर्छ, त्यसबेला कि त तपाईंले बुद्धत्व (आत्मज्ञान) प्राप्त गर्न सक्नुहुन्छ वा अवसाद (डिप्रेशन) मा जान सक्नुहुन्छ । जब सबै भ्रमहरू हटेर जान्छन्, यसलाई नै आत्मज्ञान भनिन्छ । यतिखेर, तपाईं भ्रमहरूलाई च्यापिरहनु भएको छ, तिनलाई महत्त्व दिइरहनु भएको छ अनि भ्रमहरूसित यति गहिरो पहिचान स्थापित गर्नुभएको छ कि तपाईं तिनलाई कायम राख्नको लागि लडिरहनु भएको छ । यही माया हो— जुन अचानक गायब नहुन्जेलसम्म वास्तविक जस्तै गरी चलिरहन्छ ।

यदि तपाईंले आफ्ना भ्रमहरूलाई नष्ट गर्नुभएन भने, जीवनका सबैभन्दा गहन आयामहरूले तपाईंलाई कहिल्यै स्पर्श गर्ने छैनन् ।

केही हदसम्म तपाईंले सधैँ यो जान्नुभएको छ । तपाईं जन्मिएको क्षणदेखि नै तपाईंको घडी टिक..टिक..टिक गरी चलिरहेको छ, अनि एकदिन त्यो रोकिनेछ । हामी त्यसलाई लम्ब्याउने प्रयास गर्छौँ । हामी त्यसको गति कम गर्ने प्रयत्न गर्छौँ । हामी आफूसँग बचेको समयको सबैभन्दा बढी सदुपयोग गर्ने कोसिस गर्छौँ । हामी त्यसलाई सम्भव भएसम्म गहन र प्रगाढ बनाउने कोसिस गर्छौँ । यो एकदमै महत्त्वपूर्ण छ कि जीवनले तपाईंलाई स्पर्श गर्नुपर्छ । यदि जीवनले तपाईंलाई गहिराइमा स्पर्श गर्नुपर्ने हो भने, तपाईंले आफ्नो मनमा रचना गर्नुभएको संसारलाई नष्ट गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले आफ्ना भ्रमहरूलाई नष्ट गर्नुभएन भने, जीवनका सबैभन्दा गहन आयामहरूले तपाईंलाई कहिल्यै स्पर्श गर्ने छैनन् । नाटक मात्र चलिरहने छ । यो अरू कसैको मृत्युको प्रश्न होइन, यो जीवनप्रति रहेको मूलभूत अज्ञानताको कुरा हो । तपाईं होशमा आउने समय भइसकेको छ । यदि तपाईंका सम्पूर्ण भ्रमहरू अहिल्यै छिन्न-भिन्न भए भने, यदि तपाईं भ्रमहरूको जालोबाट पूर्ण रूपमा मुक्त हुनुभयो भने, तपाईं समेत प्रबुद्ध (आत्मज्ञानी) बन्नुहुनेछ । तर बिडम्बना, तपाईं आफूलाई भ्रमहरूबाट मुक्त हुनै दिनुहुन्न । एउटा भ्रम टुट्यो भने, तपाईं अर्को भ्रम निर्माण गरिहाल्नु हुन्छ ।

एक गिलास पानी !

नारद मुनिको बारेमा एउटा कथा छ । एकपटक कृष्ण र नारद कतै गइरहेका थिए । उनीहरूले भर्खरै गाउँ पार गरेका थिए । जङ्गलमा पुगेपछि कृष्ण बसे अनि भने, ″नारद, म एकदमै तिर्खाएको छु । कृपया मेरो लागि एक गिलास पानी लिएर आऊ ।″ नारदले तुरुन्तै भने, ″भइहाल्छ नि ! म अहिल्यै गाउँमा गएर पानी लिएर आउँछु ।″

नारद गाउँमा गए अनि पहिलो घरको ढोका ढकढक्याए । ढोका खुल्यो, एउटी सुन्दरीले ढोका खोलिन् । जब नारदले उनीतर्फ हेरे, उनलाई बिजुलीको झट्का लागे जस्तै भयो ! उनी युवतीप्रति पूर्ण रूपमा आसक्त भए । उनले युवतीको बुबासँग युवतीको हात मागे । युवतीको बुबाले स्वीकार गरेपछि नारदले उनीसँग विवाह गरे ।

विवाहपछि उनले आफू र आफ्नी पत्नीको लागि एउटा सानो घर बनाए, अनि जमीन जोत्न सुरु गरे । त्यसपछि स्पष्टै छ, बच्चाहरू भए— एक, दुई, तीन, चार, पाँच । बच्चाहरू ठूला भए, उनीहरूको विवाह भयो अनि तिनका पनि बच्चाहरू भए । प्यारा-प्यारा नाती-नातिनीहरू यताउता दौडिन्थे । सबैथोक एकदमै राम्रोसँग चलिरहेको थियो ।

अनि, एकाएक नदीले आफ्नो धार बदलिन्, र बाढी उर्लियो । बाढीमा गाउँ बग्यो । नारद आफ्नी पत्नी, बच्चाहरू र स-साना शिशुहरूलाई लिएर रूखमाथि चढेर बसे । तर, बाढीको प्रवाह बढ्दै गयो । प्यारा-प्यारा बच्चाहरू पानीमा बगे । नारद अतिशय पीडाले खुबै रोए । फेरि एकएक गरि उनका सन्तान, तिनका श्रीमतीहरू सबै बगे । उनले आफ्नी प्रिय पत्नीलाई कसेर समाते । केही समयपछि उनी पनि बगिन् ।

उनलाई आफ्नो जीवनको निकै चिन्ता हुन थाल्यो । सबैजनालाई गुमाइसके पछि, निराश हुँदै उनले जोडले चिच्याए, ″कृष्ण !″

कृष्णले सोधे, ″खै त, मेरो पानीको गिलास ?″

तब, नारद होशमा आए अनि भने, ″ओहो ! मलाई के भएको थियो ?″

कृष्णले भने, ″यही माया हो ।″

मायको अर्थ के हो भने, तपाईं आफ्नो मनमा यति धेरै भ्रमहरू बुन्नुहुन्छ कि ती वास्तविकभन्दा पनि बढी वास्तविक लाग्छन् । तपाईंको मनमा, तपाईंका भावनाहरूमा जे-जति भइरहेका हुन्छन्, ती वास्तविकताभन्दा निकै वास्तविक भइदिन्छन् । यो फिल्म हल जस्तै हो— त्यहाँ केवल प्रकाश र ध्वनिको खेल भइरहेको हुन्छ । तर, तपाईं फिल्मका कलाकारहरूलाई यति माया गर्नुहुन्छ, जति तपाईंले पच्चिस वर्ष सँगै बिताएका मानिसहरूलाई समेत गर्नुभएको हुँदैन ! तपाईंले वास्तविक जीवनमा ती कलाकारहरूलाई देख्नुभएको समेत हुँदैन, तर उनीहरू जीवनभन्दा पनि विशाल भइदिन्छन् ।

तपाईंको मनमा जे भइरहेको हुन्छ, त्यो ठीक यस्तै हो— यो स्वयं जीवनभन्दा पनि निकै विशाल भएको छ । तर, एकदिन अवश्य ज्योति बल्नेछ । त्यो बुद्धत्वको ज्योति हुनेछ वा तपाईंको चितामा दन्किने अग्निको ज्योति— तपाईं स्वयं रोज्नुहोस् !

Editor's Note: कायन्त स्थानम, ईशाद्वारा सञ्चालित दाहसंस्कारको सेवा हो, जुन शक्तिशाली उर्जाको आधारमा प्राचीन परम्परा र मृत्युको संस्कारलाई कुनै व्यवसायिक कामको रूपमा नभई सेवाको भावमा पुनरुत्थान गर्नमा समर्पित छ । साथै, सद्‌गुरुले कालभैरव कर्म र कालभैरव शान्ति प्रक्रियाहरू समेत तयार गर्नुभएको छ, जसबाट मृत व्यक्तिको शान्तिपूर्ण गमन सम्भव हुन सक्दछ । अधिक जानकारीको लागिः https://lingabhairavi.org/

A version of this article was originally published in Isha Forest Flower March 2018.