#१ कति खाने र कति पटक खाने ?

अध्ययनहरूबाट यो पत्ता लागेको छ कि मानिसको दिमागले पेट खाली भएको बेला मात्र उच्च ढङ्गले काम गर्छ । अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने, पेट खाली हुँदा घ्रेलिन भनिने रसायन उत्पन्न हुन्छ, जसले मस्तिष्कमा पेट खाली भएको सन्देश पुऱ्याउँछ । रोचक कुरा के छ भने, यो हर्मोनले अन्य कामहरू समेत गर्दछ । मस्तिष्कमा हिप्पोक्याम्पस भन्ने भाग हुन्छ, जसले केही सिक्ने, स्मरण वा याद गर्ने, सतर्क र सक्रिय रहने अनि कुनै चीजमा ध्यान केन्द्रित गर्ने जस्ता कामहरू सञ्चालन गर्दछ । घ्रेलिन हर्मोनले हिप्पोक्याम्सलाई उत्तेजित गराउँछ र यसको कार्यक्षमता बढाँउछ । यसको अभिप्राय हामीले कहिल्यै खाना खानुहुँदैन भन्ने पक्कै होइन, बरु यसले यो सङ्केत गर्दछ कि हामी कति खान्छौँ भन्नेप्रति सचेत हुनुपर्छ ।

″तपाईंले दिनैभरी खाइरहनु हुँदैन । यदि तपाईं तीस बर्षभन्दा कम उमेरको हुनुहुन्छ भने, दिनमा तीन पटक भोजन गर्नु पर्याप्त हुन्छ । यदि तपाईंको उमेर तीस वर्षभन्दा बढी छ भने, दिनमा दुई छाक खाना खानु उत्तम हुन्छ । हाम्रो शरीर र दिमागले तबमात्रै सर्वश्रेष्ठ तरिकाले काम गर्छन्, जब पेट खाली हुन्छ । यदि तपाईं सचेत भएर खानुभयो भने, खाना खाएको साढे दुई घण्टामै खाना तपाईंको आमाशय वा पेटबाट बाहिर निस्किनेछ, अनि बाह्रदेखि अठार घण्टामै तपाईंको शारीरिक प्रणालीबाट बाहिर निस्किनेछ । यदि तपाईं यो सरल कुराप्रति सचेत रहनुभयो भने, तपाईंले आफूभित्र अझ बढी ऊर्जा, स्फूर्ति र सतर्कता महसुस गर्नुहुनेछ ।″ - सद्‌गुरु


#२ खाना राम्रोसँग चपाउनुहोस्

राम्रोसँग चपाएर खाना खानाले पाचन-प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । अध्ययनहरूले यो देखाएका छन् कि पूरै पाचन प्रक्रियाको लगभग तीस प्रतिशत पाचन ऱ्यालले हुने गर्दछ । खाना खाइसकेपछि कम्तीमा पनि दुई घण्टासम्म नसुत्नुहोस् । पाचनले तपाईंको मेटाबोलिक प्रक्रिया (खानालाई ऊर्जामा बदल्ने प्रक्रिया) लाई सक्रिय बनाउँछ । यदि तपाईं पेट टन्न भएको अवस्थामा पल्टिनुभयो भने, तपाईं न त राम्रोसँग सुत्न सक्नुहुन्छ, न त पाचन नै राम्रोसँग हुन्छ । यदि तपाईं खाना खानेबित्तिकै सुत्नुभयो भने, तपाईंले खानुभएको खानाको ठूलो हिस्सा नपचिकनै जान सक्छ । साथै, खाना खाइरहेको बेलामा पानी नपिउनुहोस् । खाना खानु केही समयअघि र खाना खाइसकेको ३० देखि ४० मिनेटपछि थोरै मात्रामा पानी पिउन सकिन्छ। तामाको भाँडामा राखिएको पानी पिउनु लाभदायक हुन्छ ।

योगमा भनिन्छ कि ″तपाईंले एक गाँसलाई २४ पटक चपाउनुपर्छ ।″ यसको पछाडि थुप्रै वैज्ञानिक आधारहरू छन् । मुख्यतः तपाईंले खानुभएको खाना मुखमै लगभग पच्न सुरु हुन्छ, जसले गर्दा तपाईंको शरीरमा अल्छीपन र सुस्तता आउन दिँदैन । अर्को कुरा के हो भने, यदि तपाईंले २४ पटक चपाउनुभयो भने, त्यो भोजनको सूचना तपाईंको शरीरमा स्थापित हुन्छ अनि तपाईंको शरीरको प्रत्येक कोषिकाले तपाईंको लागि के ठीक हो र के बेठीक भन्ने कुरा तय गर्न सक्दछ— स्वादको आधारमा होइन, तपाईंको पूरै प्रणालीलाई के उपयुक्त छ भन्ने सन्दर्भमा । यदि तपाईंले यो अभ्यास गर्न थाल्नुभयो भने, केही समयपछि शरीरले के रुचाउँछ र के रुचाउँदैन भन्ने बारेमा शरीरको प्रत्येक कोषिकामा राम्रो ज्ञान हुनेछ । - सद्‌गुरु


#३ समय अनुसारको सही भोजन

“यस संस्कृतिमा कुन समयमा कुन वनस्पतिहरू उपलब्ध छन् अनि शरीरको लागि के उचित छ भन्ने कुरामा आधारित रही गर्मीयाममा एक तरिकाले खाना बनाइन्थ्यो, वर्षायाममा अर्कै तरिकाले अनि जाडोयाममा भिन्दै किसिमले खाना बनाउने गरिन्थ्यो । यो समझदारीलाई आफ्नो जीवनमा लागू गर्नु राम्रो हुन्छ, साथै शरीरको आवश्यकता र बदलिँदो मौसम अनुसार खाना खानु उचित हुन्छ ।

उदाहरणको लागी जाडोयाममा गहुँ, गहत, तील जस्ता खाद्य पदार्थ खान सकिन्छ, जसले शरीरमा गर्मी बढाउँछ । जाडोयाममा, चिसो मौसमको कारण छाला फाट्ने समस्या हुन्छ । पहिले मानिसहरूले क्रिम वा लोसनको प्रयोग गर्दैनथे । उनीहरू दैनिक रूपमा तिलको प्रयोग गर्दथे; तिलले शरीरमा गर्मी बढाउँछ अनि छालालाई नरम राख्छ । यदि शरीरमा पर्याप्त मात्रामा उष्ण वा गर्मी भयो भने, छाला फाट्ने समस्या हुँदैन । त्यसैगरी, गर्मीयाममा शरीरमा धेरै गर्मी हुनाले शरीरलाई चिसो बनाउने खानेकुराहरू खाइन्थ्यो ।” – सद्‌गुरु


#४ सन्तुलित आहार

“आज चिकित्सकहरू यो भनिरहेका छन् कि थुप्रै मानिसहरूमा मधुमेहको (डायबिटिज) समस्या रहेको छ । यसको एउटा प्रमुख कारण हाम्रो आहार हो, किनकि हामीहरूको आहारमा प्रायः एउटै अनाज हुने गर्छ । मानिसहरू कि त चामल मात्रै खान्छन् वा गहुँ मात्रै खाइरहेका हुन्छन् । यसले निश्चय नै स्वास्थ्यमा समस्या उत्पन्न गर्छ । आफ्नो भोजनमा फरक-फरक अनाजहरू प्रयोग गर्नु अपरिहार्य छ ।

पहिले-पहिले मानिसहरू सधैँ धेरै मात्रामा चना, दाल, फलफूल र अरू गेडागुडीहरू खाने गर्दथे । तर, बिस्तारै-बिस्तारै यो चलन हराउँदै गएको छ, अनि अहिले हाम्रो थालमा हेर्ने हो भने, धेरै भात र थोरै तरकारी हुन्छ । यो एउटा गम्भीर समस्या हो । पछिल्लो २५ देखि ३० वर्षमा मानिसहरूले आफ्नो आहारमा अत्यधिक कार्बोहाईड्रेट समावेश गर्न थालेका छन्, जसलाई परिवर्तन गर्न एकदमै जरूरी छ । किनकि, अत्यधिक कार्बोहाइड्रेट उपभोग गर्नाले स्वास्थ्यमा नरामो असर गर्छ । मानिसहरूले यो आधारभूत कुरालाई बुझ्न एकदमै जरूरी छ । तपाईंले खाने खानामा अरू चीजहरू बढी हुनुपर्छ, भात होइन । तपाईंलाई कति भोक लागेको छ, त्यसकै आधारमा भात खाने वा नखाने भनेर रोज्न सक्नुहुन्छ ।” – सद्‌गुरु


#५ दुई भोजनको बीचमा अन्तराल हुनुपर्छ

योगमा यो स्पष्ट भनिएको छ कि पहिलो भोजनपछि, लगभग ८ घण्टापछि मात्रै अर्को भोजन गर्नुपर्छ । यसलाई तपाईं घरबाट बाहिर भएको बेलामा समेत पालन गर्न सक्नुहुन्छ । यो त भयो योगमा भनिएको कुरा, तर सामान्य स्थितिमा समेत तपाईंले दुई भोजनको बीचमा कम्तीमा पनि ५ घण्टाको अन्तराल राख्नैपर्छ । यसको कारण के हो भने, पेट खाली हुँदा मात्रै हाम्रा मल-उत्सर्जन तन्त्रहरूले राम्रोसँग काम गर्न सक्छन् । यदि तपाईंको पाचन प्रणालीमा खाना पचाउने क्रिया निरन्तर चलिरह्यो भने, शरीरको केही ऊर्जा स्वतः त्यसैमा लागिरहन्छ, जसले गर्दा तपाईंको शरीर र दिमाग उत्तम तरिकाले काम गर्न सक्दैनन् ।


#६ भोजनको सन्दर्भमा बानी नबसाल्नुहोस्

स्वस्थबर्धक खानपिनको बारेमा कुरा गर्दै सद्‌गुरु हामीलाई यो स्मरण गराउँदै हुनुहुन्छ कि भोजनको सम्बन्ध शरीरसँग हुन्छ । त्यसैले के खाने र के नखाने भनेर जान्ने सबैभन्दा राम्रो तरिका भनेको आफ्नै शरीरलाई सोध्नु हो । भोजनको सन्दर्भमा हामीले कुनै बानीको विकास गर्न जरूरी छैन, बरु समझदारीले सचेत भई आफ्नो आहार रोज्नु राम्रो हुन्छ । त्यही खानुहोस्, जे शरीरको लागि उचित छ । तपाईंले आफ्नो शरीरसँग प्रयोग गर्न सक्नुहुन्छ । आज, एक प्रकारको खाना खानुहोस् अनि हेर्नुहोस् कि तपाईंको शरीरमा कति स्फूर्ति र सतर्कता आउँछ । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई सुस्त बनाउँछ भने, त्यो सही खाना होइन । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई अझ जीवन्त बनाउँछ भने, त्यो सही खाना हो । (कफि बाहेक, किनकि त्यसले तपाईंको स्नायु-प्रणालीलाई उत्तेजित गर्दछ ।)


#७ खाना खानुअघि केहीबेर पर्खिनुहोस्

मानिलिनु होस् कि तपाईं एकदमै भोकाउनु भएको छ अनि तपाईंको अगाडि खाना राखिएको छ— तब के हुन्छ ? तपाईं एकै गाँसमा निल्न चाहनुहुन्छ ! वास्तवमा, जब तपाईं एकदमै भोकाउनु भएको हुन्छ, त्यतिखेर तपाईंको शरीरले एउटा मात्र कुरा चाहन्छ— चाँडोभन्दा चाँडो खाना खान । तर, त्यसबेला तपाईं एकछिन पर्खिनुहोस् । खान शुरु गर्नु पहिले ती प्रत्येक व्यक्ति र चीजप्रति आभार व्यक्त गर्नुहोस्, जसमार्फत यो भोजन तपाईंसम्म आइपुगेको छ— त्यो खेत, ती किसान, ती व्यक्ति जसले खाना पकाए अनि ती व्यक्ति समेत जसले खाना पस्किए ।

योबाहेक, खानालाई समेत धन्यवाद दिनुहोस्, किनकि यसले तपाईंको लागि आफ्नो जीवन बलिदान गरेको छ । भलै, तपाईंलाई यो कुरा सामान्य लाग्न सक्छ, तर यो अभ्यासले शरीरसँग रहेको तपाईंको बन्धनलाई खुकुलो बनाउँछ । यो अभ्यासबाट तपाईंमा यो बोध हुन्छ कि तपाईं शरीर मात्र होइन । जब तपाईं एकदमै भोकाउनु हुन्छ, तपाईं केवल शरीर बन्नुहुन्छ । आफूभित्र अलिकति स्थान दिनुहोस्, तब तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंमा भोक कम भएको हुन्छ । भोक जहीँको त्यहीँ हुन्छ, तपाईं पनि त्यहीँ हुनुहुन्छ, तैपनि यस्तो लाग्दछ कि मानौँ सबै ठीकठाक छ ।

गौतम बुद्धले यस हदसम्म भनेका थिए कि "जब तपाई निकै भोकाउनु भएको हुन्छ अनि तपाईंलाई खानाको एकदमै आवश्यकता हुन्छ, त्यसबेला यदि तपाईंले आफ्नो खाना अरू कसैलाई दिनुभयो भने तपाईं अझ बलियो बन्नुहुनेछ ।" म त्यस हदसम्म त जाँदिनँ । म यति भनिरहेको छु "केवल दुई मिनेट पर्खिनुहोस्"— यसले निश्चय नै तपाईलाई शक्ति दिनेछ । तपाईंमा जे-जति कुराप्रति बाध्यात्मक प्रवृत्ति रहेको हुन्छ, तपाईं यो तरिका अपनाउन सक्नुहुन्छ— केवल दुई मिनेट पर्खिनुहोस्; यसले तपाईंलाई मार्दैन, यसले तपाईंलाई निकै शक्ति दिनेछ !

- सद्‌गुरु


कृपया यो कुरामा ध्यान दिनुहोस् कि खानपिनका यी सामान्य तरिकाहरू अधिकांश मानिसहरूमा लागू हुन्छ । तर, निश्चय नै प्रत्यके व्यक्तिको शरीरको संरचना फरक हुन्छ अनि कुनै निश्चित रोग लागेको व्यक्तिले आफ्नो आहार वा भोजनमा फेरबदल गर्नु अगाडि चिकित्सकसँग सल्लाह लिनुपर्दछ ।

 

नछुटाउनु होला !

शरीरलाई शुद्ध गर्ने केही घरेलु तरिकाहरू

एकादशी र उपवासको महत्त्व

Editor’s Note: If you’re looking for more tips on how to eat properly, try out our very popular ebooklet Food Body. Pay what you want and download it. (Set 0 for free).
Get the latest updates from the Isha Blog. Twitter, facebook, rss or browser extensions, take your pick.