Satsang with Sadhguru
Satsang with Sadhguru

शिव— जो बिन्दास छन्, सबैका प्रिय छन् !

article शिव–विशेष
बच्चाहरू, युवाहरू, गृहस्थहरू, सन्यासीहरू, जो कोहीका लागि शिव प्रिय छन् । आखिर, के कुराले शिवलाई यति विशेष बनाएको छ त ? आउनुहोस् जानौँ...

 

#१ शिवः सर्व-समावेशी— जोसुकैसँग घुलमिल हुन सक्छन् !

सद्‌गुरु: देवताहरूले मात्रै शिवको पूजा गर्ने होइन; राक्षस, पिशाच र सबैथरीका प्राणीहरूले शिवको उपासना गर्छन् । अरू सबैले उपेक्षा र अस्वीकार गरेका ती सबै— भूत, प्रेत, पिशाच, राक्षस, दैत्य— लाई शिवले स्वीकार गर्दछन् ।

परम्परा अनुसार यस्तो व्याख्या गरिएको छ कि जब उनको बिहे भयो— जो केही थिएनन्, जो केही थिए अनि जो सबैथोक थिए— ती सबै त्यस विवाहमा उपस्थित थिए । सबै भगवानहरू र दिव्य जीवहरू, सबै असुरहरू, दानवहरू, विक्षिप्त प्राणीहरू, राक्षस र भूतहरू— सबैजना उपस्थित थिए । सामान्यतया, यिनीहरू सँगसँगै रहन सक्दैनन् । तर, शिवको विवाहमा हरेक कोही त्यहाँ थिए । शिव “पशुपति” हुन् अर्थात् पशु प्रकृति वा पशु प्रवृत्तिको अधिपति हुन्, त्यसैले सबै प्राणीहरू त्यहाँ आए । अनि, पक्कै पनि सर्पहरूले त छुटाउने कुरा नै भएन, त्यसैले तिनीहरू पनि आए । च‍राचुरूङ्गी र किरा–फट्याङ्ग्राहरूले समेत यसलाई छुटाउन चाहेनन्, त्यसैले उनीहरू पनि पाहुना थिए । त्यस विवाहमा प्रत्येक जीवित प्राणीको उपस्थिति थियो ।

कथाले के भन्न खोजिरहेको छ भने, जब हामी शिवको बारेमा कुरा गर्छौँ, हामी एउटा भद्र र सभ्य मानिसको बारेमा कुरा गरिरहेका छैनौँ, बरु यस्तो आदिम रूपको कुरा गरिरहेका छौँ, जो जीवनसँग पूर्णतया एकाकार (एक हुँदाको अवस्थामा) छन् । उनी विशुद्ध चेतना हुन्, कुनै ढोँग वा कपटी नभएको, कहिल्यै नदोहोरिने, सदैव मौलिक, निरन्तर सृजनशील— उनी विशुद्ध जीवन हुन् ।

#२ शिवः परम–पुरुष, तर आफूभित्र स्त्रैणलाई समाहित गरेका छन् !

सद्‌गुरुः सामान्यतया, शिवलाई परम–पुरुषको प्रतीक मानिन्छ, तर तपाईंले शिवको अर्धनारीश्वर रूपमा यो देख्न सक्नुहुन्छ कि उनको आधा भाग पूर्ण विकसित नारी हो । म तपाईंलाई के भएको थियो भनेर कथा बताउँछु । शिव परम–आनन्दको अवस्थामा थिए, र यसैकारण पार्वती उनीतर्फ आकर्षित भइन् । पार्वतीले शिवलाई रिझाउन अनेक किसिमका तरिकाहरू अपनाइन्, सबैथरीका सहयोगहरू खोजिन्— र अन्ततः उनीहरूको विवाह भयो । उनीहरूको विवाह भएपछि, स्वाभाविक रूपमा शिवले पार्वतीसँग आफूले अनुभव गरिरहेको कुरा बाँड्न चाहे । पार्वतीले भनिन्, “तपाईं आफूभित्र जुन अवस्थामा हुनुहुन्छ, म पनि त्यसलाई अनुभव गर्न चाहन्छु । त्यसको लागि मैले के गर्नुपर्छ ? कृपया मलाई बताउनुहोस् । म जस्तोसुकै तपस्या गर्नको लागि तयार छु ।” शिव मुस्कुराए अनि भने, “ प्रिय, तिमीले कुनै ठूलो तपस्या गर्न आवश्यक छैन । तिमी यता आऊ अनि मेरो काखमा बस ।” पार्वती आइन् अनि नहिचकिचाइकन शिवको बायाँ काखमा बसिन् । उनी पूरै इच्छुक थिइन्, उनले आफूलाई पूर्ण रूपमा शिवको हातमा सुम्पिएकी थिइन्, र यसैले गर्दा शिवले उनलाई आफूभित्र ताने अनि उनी शिवको आधा भाग भइन् ।

यसमा बुझ्नुपर्ने कुरा यो छ कि यदि शिवले पार्वतीलाई आफ्नै शरीरभित्र स्थान दिनुपर्ने हो भने, उनले आफ्नो आधा भागलाई हटाउनु पर्ने हुन्छ । अतः शिवले आफ्नो आधा भागलाई हटाए अनि पार्वतीलाई आफूमा समावेश गरे । यही अर्धनारीश्वरको कथा हो । यसले मूलतः यो दर्शाउने कोशिस गरिरहेको छ कि तपाईंभित्र पौरुष (पुरुष प्रकृति) र स्त्रैण (स्त्री प्रकृति) बराबर बाँडिएको हुन्छ । अनि, जब शिवले पार्वतीलाई आफूभित्र समाहित वा समावेश गरे, तब उनी परम–आनन्दको अवस्थामा पुगे । यसले यो सङ्केत गरिरहेको छ कि हामीभित्रको पौरुष र स्त्रैणको मिलन भयो भने, तपाईं परम–आनन्दको चिरस्थायी अवस्थमा रहनुहुन्छ । यदि तपाईंले बाहिरी संसारमा त्यसो गर्न खोज्नुभयो भने, यो कहिल्यै टिक्दैन । साथै, त्योसँगै आउने अनेक समस्याहरू कहिल्यै नटुङ्गिने नाटक बन्दछन् !

#३ शिवः नटराज— जो, उन्मत्त भएर ताण्डव नृत्य गर्छन् !

सद्‌गुरुः नृत्यको देवता नाटेश वा नटराज, शिवका सबैभन्दा महत्त्वपूर्ण रूपहरूमध्ये एक हो । जब मैले स्विटजरल्यान्डमा रहेको भौतिक विज्ञानको प्रयोगशाला (CERN) को भ्रमण गरेको थिएँ, जहाँ परमाणुहरूको तोडफोड गरिन्छ, मैले त्यहाँको प्रवेशद्वारमा नटराजको मूर्ति देखेको थिएँ । किनकि, उनीहरूले यो पहिचान गरे कि मानव संस्कृतिमा उनीहरूको कामसँग मिल्दोजुल्दो वा त्यसको निकट जे छ, त्यो नटराज बाहेक अरू हुन सक्दैन । नटराज रूपले सृष्टिको नृत्य अर्थात् कम्पन र उल्लास दर्शाउँछ, जसले शाश्वत निश्चलता र निःशब्दताबाट आफैँलाई सृजना गरेको हो ।

#४ शिवः जतिबेला पनि परम–आनन्दमा मग्न !

सद्‌गुरुः शिवलाई सदैव पियक्कड र तपस्वीको रूपमा एकैसाथ दर्शाइन्छ । उनी एक योगी हुन्— यदि उनी ध्यानमा बसे भने, उनी अचल (नचलिकन) बस्छन् । साथसाथै, उनी सधैँ नशामा डुबेका हुन्छन्, मादकताले उन्मत्त हुन्छन् । यसको अर्थ यो होइन कि उनी कतै लोकल भट्टिमा जान्थे ! योगको विज्ञानले तपाईंलाई यस्तो सम्भावना प्रदान गर्दछ, जहाँ तपाईं भित्री रूपमा धीर र शान्त रहन सक्नुहुन्छ, अनि तबपनि अत्यन्तै सुख भावमा हुन सक्नुहुन्छ । योगीहरू सुखको विरूद्धमा हुँदैनन् । कुरा यति मात्र हो कि उनीहरू सानातिना सुखहरूमा सन्तुष्ट रहन चाहँदैनन् । वास्तवमा, उनीहरू एकदमै लोभी हुन्छन् ! उनीहरूले यो जानेका हुन्छन् कि यदि तपाईंले एक गिलास रक्सी पिउनुभयो भने, यसले तपाईंलाई अलिअलि झुम्म मात्र बनाउँछ अनि भोलि बिहान टाउको दुख्न थाल्छ र अनेक चीजहरू हुन थाल्छन् । यदि तपाईं पूर्ण रूपमा नशामा रहँदा पनि शत–प्रतिशत स्थिर र सतर्क रहने हो भने, तबमात्र तपाईं मादकता वा नशाको आनन्द लिन सक्नुहुन्छ । र, प्रकृतिले तपाईंको निम्ति यो सम्भावना प्रदान गरेकी छिन् ।

एक इजरायली वैज्ञानिकले कैयौँ वर्ष लगाएर मानिसको मस्तिष्कलाई अध्ययन गरे अनि उनले यो पत्ता लगाए कि मानव मस्तिष्कमा लाखौँ सङ्ख्यामा नशा ग्रहण गर्ने कोषहरू हुन्छन् ! त्यसपछि न्युरोलोजिस्ट (स्नायु तन्त्रको विज्ञ) हरूले पत्ता लगाए कि यी कोषहरूलाई तृप्त गर्नको लागि शरीरले एउटा रसायन— आफ्नै नशा— उत्पन्न गर्न सक्छ । जब उनीहरूले त्यो रसायन पत्ता लगाए, उनीहरूले यसलाई सटीक नाम दिन चाहे । जब ती वैज्ञानिकले यो विशेष रसायनलाई नाम दिन चाहे, उनले विविध शास्त्रहरू हेरे । यो थाहा पाउँदा उनी चकित परे कि पूर्वीय शास्त्रहरूमा मात्र “आनन्द” को बारेमा चर्चा गरिएको छ । त्यसैले, उनले त्यस रसायनलाई “आनन्दमाइड” नाम दिए ।

अतः तपाईंले अलिकति आनन्दमाइड उत्पन्न गर्न जरूरी छ, किनकि तपाईंको शरीरभित्रै गाँजाको विशाल बगैँचा रहेको छ ! यदि तपाईंले सही तरिकाले गोडमेल गर्नुभयो र उचित वातावरण सृजना गर्नुभयो भने, तपाईं जतिबेला पनि नशामा मग्न रहन सक्नुहुन्छ ।

#५ शिवः परम विध्वंसक— सबै नियमहरूभन्दा पर !

सद्‌गुरुः जब तपाईं “शिव” भन्नुहुन्छ, यो कुनै धर्मको बारेमा होइन । अहिले यो संसार धर्मको आधारमा विभक्त भएको छ; तपाईं कुन धर्म मान्नुहुन्छ भनेर विभाजित छ । यसैकारण, यदि तपाईंले केही उच्चारण मात्रै गर्नुभयो भने पनि, यस्तो ठानिन्छ कि तपाईं कुनै धर्म अन्तर्गत पर्नुहुन्छ । यो कुनै धर्म होइन; यो आन्तरिक विकासको समग्र विज्ञान हो । यो भौतिकताबाट पर जाने अनि मुक्ति पाउने बारेमा हो । यसले केही फरक पार्दैन कि तपाईंको वंशाणु के हो, तपाईंका पिता को थिए, अथवा तपाईं केके कमजोरीहरू लिएर जन्मिनु भएको थियो वा पछि गएर जम्मा गर्नुभयो— यदि तपाईं प्रयास गर्न इच्छुक हुनुहुन्छ भने, तपाईं यी सबैबाट माथि उठ्न सक्नुहुन्छ !

प्रकृतिले मानिसहरूका लागि केही नियमहरू तय गरेकी छिन्— उनीहरू त्यसैभित्र रहनुपर्ने हुन्छ । भौतिक प्रकृतिका नियमहरू तोड्नु नै आध्यात्मिक प्रक्रिया हो । यस अर्थमा हामी सबै नियम तोड्ने खाले हौँ, अनि शिव नियम तोड्नमा सर्वश्रेष्ठ छन्, उनी परम विध्वंसक हुन । त्यसैले, तपाईं शिवलाई पुज्न वा उपासना गर्न सक्नुहुन्न— तपाईं उनको गुट (ग्याङ्ग) मा संलग्न हुन मात्र सक्नुहुन्छ ।

मेरो कामना छ कि महाशिवरात्रीको रात तपाईंको लागि जाग्राम बस्ने रातमात्र नबनोस्— यो रात तपाईंहरूका निम्ति तीव्र जीवन्तता र चैतन्य जागृतिको रात बनोस् । मेरो कामना र आशीर्वाद यही छ कि प्रकृतिले यसदिन प्रदान गर्ने यो विलक्षण उपहारलाई तपाईं उपयोग गर्नुहोस् । म आशा गर्छु तपाईंहरू सबै यो उर्जाको प्रवाहलाई सवारी गर्नुहुनेछ, अनि त्यसको सुन्दरता र परम–आनन्दलाई जान्नुहुनेछ, जसलाई हामी “शिव” भन्दछौँ !