मन्त्रको शक्ति

आज आधुनिक विज्ञानले तपाईंलाई नि:सन्देह यो प्रमाणित गरेको छ कि सम्पूर्ण अस्तित्व ऊर्जाहरूको कम्पन मात्र हो । जहाँ कम्पन हुन्छ, त्यहाँ निश्चय पनि ध्वनि हुन्छ । त्यसैले, योगमा हामी भन्छौँ कि सम्पूर्ण अस्तित्व केवल ध्वनि हो— यसलाई नाद ब्रह्मा भनिन्छ । सम्पूर्ण सृष्टि ध्वनिहरूको जटिल संरचना हो । ध्वनिहरूको यी जटिल सङ्गममा केही यस्ता ध्वनिहरू छन्, जुन प्रमुख ध्वनिहरू हुन् । यी प्रमुख ध्वनिहरूलाई मन्त्र भनिन्छ ।

मानौँ, तपाईंलाई कुनै हल वा कोठामा बन्द गरियो अनि तपाईंले आफ्नो सम्पूर्ण जीवन त्यही कोठामा बिताउनुपर्ने भयो । अब यदि तपाईंले त्यसको साँचो फेला पार्नुभयो, यदि तपाईंले साँचोको प्वाल पत्ता लगाउन र त्यसमा सही तरिकाले साँचो घुमाउन जान्नुभयो भने, यसले तपाईंको लागि पूर्णतया नयाँ संसार उजागर गरिदिनेछ । तर, यदि तपाईंलाई साँचो कहाँ हाल्ने भनेर थाहा छैन, यदि तपाईंले भुइँ वा छतमा घुसाउन खोज्नुभयो भने, यसबाट केही हात लाग्दैन । साँचो धातुको सानो टुक्रा न हो, तर यदि तपाईंले सही ठाउँमा हालेर घुमाउन जान्नुभयो भने, यसले तपाईंको निम्ति अस्तित्वको पूर्णतया फरक आयाम खोलिदिन सक्छ ।

यसैकारण, चैतन्यलाई जान्नु र अनुभव गर्नु भनेको आफ्ना ऊर्जाहरूलाई उच्च सम्भावनामा साथै आफूभित्र सूक्ष्म आयामहरूमा विकसित गर्नु हो । महाशिवरात्रिको समयमा, यस ग्रहको उत्तरी गोलार्द्धमा प्राकृतिक रूपमै विशेष प्रक्रिया हुन्छ, जसकारण मानव शरीरमा शक्तिशाली रूपमा ऊर्जाहरू स्वत: माथितर्फ प्रवाहित हुन्छन् । ऊर्जा माथितर्फ प्रवाहित हुने प्रक्रियाको सदुपयोग गर्नको लागि आफ्नो मेरुद्दण्ड सिधा रहनुपर्छ । जैविक शास्त्रका विशेषज्ञहरूको अनुसार, प्राणीहरूको विकास प्रक्रियामा सबैभन्दा ठूलो पाइला यो थियो कि उनीहरू चार हात–खुट्टाले हिँड्नेबाट दुई खुट्टाले हिँड्ने बनेका थिए, अर्थात् उनीहरूको मेरुद्दण्ड सिधा भएको थियो । यही विकासपछि मात्र बुद्धिमत्ता प्रस्फुरित भएको हो । अत: रातभरि चल्ने महा–उत्सव, महाशिवरात्रिमा शक्तिशाली रूपमा ऊर्जा माथितर्फ प्रवाह हुने भएकोले, सही किसिमका मन्त्रहरू र ध्यानको सहायताले हामी यो विशाल अवसरको उपयोग गर्दछौँ, ताकि हामी एक कदम चैतन्यको नजिक पुग्न सकौँ ।

जो व्यक्तिहरू अधिक तार्किक हुन्छन्, स्वाभाविक रूपमा उनीहरूको दिमागमा मन्त्र उच्चारण गरेर के नै हुन्छ भन्ने विचार उत्पन्न हुन्छ । योग विद्यामा एउटा अद्‌भुत कथा छ:
एकदिन एकजना सिद्ध योगी शिव समक्ष गएर सोधे, “तपाईंका सबै भक्तहरू किन यी मन्त्रहरू जोडले भट्याइरहेका छन् ? तिनीहरू के गरिरहेका छन् ? किन तपाईं उनीहरूलाई यो वाहियात काम रोक्न भन्नुहुन्न ?” शिवले उनलाई हेरे अनि भने, “तिमी एउटा काम गर ।” उनले माटोमा घिस्रिँदै गरेको कीरा देखाउँदै भने, “त्यो कीराको नजिक जाऊ अनि ‘शिव शम्भो’ मन्त्र उच्चारण गर । अब के हुन्छ हेरौँ ।” ती ज्ञान योगीले उपेक्षाको भावमा कुम झट्कार्दै भने, “ठीक छ ।” उनी कीराको नजिक गए र भने, “शिव शम्भो ।” कीरा त्यहीँ मऱ्यो । ज्ञानी योगी चकित परे अनि बोले, “के हो यस्तो ? मन्त्र उच्चारण गरेकै भरमा कीरा मऱ्यो !” शिव मुस्कुराए र यताउति उड्दै गरेको पुतलीलाई देखाए । उनले भने, “पुतलीतर्फ ध्यान देऊ र ‘शिव शम्भो’ उच्चारण गर ।” ज्ञान योगीले भने, “अहँ, म पुतली मार्न चाहँदिनँ ।” शिवले भने, “भनेर त हेर ।” ज्ञान योगीले पुतलीलाई हेरे अनि भने, “शिव शम्भो ।” पुतली मरेर झऱ्यो । ज्ञानी योगी अक्क न बक्क परे अनि बोले, “यदि मन्त्र उच्चारणको नतिजा यस्तो हुने भने, मानिसहरू किन यो मन्त्र उच्चारण गर्न चाहन्छन् ?” शिव मुस्कुराइरहे अनि त्यसैबेला उनले जङ्गलमा घुमिरहेको सुन्दर हरिण देखे । उनले हरिणलाई औँल्याउँदै भने, “हरिणमा ध्यान देऊ र ‘शिव शम्भो’ उच्चारण गर ।” ज्ञान योगीले भने, “अहँ, म मार्न चाहँदिनँ ।” शिवले भने, “त्यसले केही फरक पार्दैन, मन्त्र भन ।” त्यसैले, ज्ञान योगीले ‘शिव शम्भो’ भने अनि हरिण मऱ्यो— यसबाट योगी विक्षिप्त भए । “यो मन्त्रको उद्देश्य के हो ? यसले सबैलाई मारिरहेको छ ।”
त्यसपछि, शिवको आशीर्वाद लिन एउटी आमा नवजात शिशु लिएर त्यहाँ आइपुगिन् । शिवले ज्ञान योगीलाई हेरे अनि भने, “यो बच्चाको निम्ति मन्त्र उच्चारण गर्दैनौ ?” उनले भने, “अहँ, म त्यस्तो काम गर्न चाहँदिनँ । म बच्चा मार्न चाहन्न ।” शिवले भने, “भनेर त हेर ।” शिवले उनलाई उक्साए । ज्ञान योगी अत्यन्तै सशङ्कित भएर बच्चाको नजिक पुगे र भने, “शिव शम्भो ।” बच्चा उठ्यो र भन्यो, “म एउटा कीरा थिएँ, मन्त्र उच्चारण गरेर तपाईंले मलाई पुतली बनाउनुभयो । अर्को पटक मन्त्र उच्चारण गरेर तपाईंले मलाई हरिण बनाउनुभयो । फेरि अर्को पटक मन्त्र भनेर, तपाईंले मलाई मानिस बनाउनुभयो । अब अझै एक पटक भन्नुहोस्, म चैतन्य सम्म पुग्न चाहन्छु ।”