मह— प्रयोग गर्ने तरिका तथा अनेक फाइदाहरू

प्रायः हामी सबैले महको प्रयोग गरिरहेका हुन्छौँ । सदियौँदेखि यसलाई विभिन्न रोगहरूको उपचार गर्नको लागि औषधीको रूपमा प्रयोग गर्ने गरिएको छ । महले कसरी स्वास्थ्यमा लाभ पुऱ्याउँछ साथै यसलाई सही तरिकाले प्रयोग गर्ने तरिकाहरू केके हुन् भन्ने बारेमा यहाँ चर्चा गरिएको छ ।
मह— प्रयोग गर्ने तरिका तथा अनेक फाइदाहरू
 

मह, हाम्रो भान्साघरमा प्रयोग हुने स्वादिष्ट पदार्थ हो, साथै यसलाई सदियौँदेखि महत्त्वपूर्ण औषधीको रूपमा प्रयोग गर्दै आएका छौँ । संसारैभरि, हाम्रा पूर्खाहरू महको अनेक लाभहरूको बारेमा राम्रोसँग परिचित थिए । सिद्ध र आयुर्वेद (परम्परागत चिकित्सा पद्धति) मा मह सबैभन्दा महत्त्वपूर्ण अंग हो । यसलाई छाला र आँखाको रोगको लागि समेत प्रयोग गरिन्थ्यो, साथै जलेको वा घाउ भएको ठाउँमा प्रयोग गरी पट्टीले छोपिन्थ्यो । अहिले, मह माथि थुप्रै वैज्ञानिक अनुसन्धानहरू भइरहेका छन् । हाम्रा पूर्वजहरूले महको बारेमा बताएका विभिन्न प्रयोगहरूमाथि अहिले मेडिकल समुदायहरूले परिक्षण गरेर त्यसलाई पुष्टि समेत गरेका छन् ।

महको स्वास्थ्य लाभहरू

१. महः रगतको लागि राम्रो

तपाईं महलाई विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ, जसले शरीरमा विभिन्न स्तरहरूमा प्रभाव पार्दछ । यदि मनतातो पानीमा मह मिसाएर खाने हो भने, यसले रगतमा हुने रातो रक्तकोष (Red Blood Cells) को सङ्ख्यामा लाभदायक प्रभाव पार्दछ । रातो रक्त कोषिकाहरूले मुख्यतः शरीरको विभिन्न अङ्गहरूसम्म रगतमा अक्सिजन पुऱ्याउने काम गर्दछ । मनतातो पानीमा मह मिसाएर पिउने हो भने, रगतमा हुने हेमोल्गोबिनको मात्रालाई समेत बढाउँछ, जसले रक्तअल्पता हुन दिँदैन । जब हाम्रो आहारमा आइरन तत्त्वको कमी हुन्छ वा शरीरले त्यसलाई पर्याप्त रूपमा सोस्न सक्दैन, तब शरीरमा आइरन तत्त्वको कमीले हुने रक्तअल्पता (एनीमिया) देखा पर्छ । यसकारण, रगतले अक्सिजन लैजाने क्षमतामा ह्रास आउँछ । जब रगतले चाहिने जति अक्सिजन लिएर जान सक्दैन, परिणामस्वरूप थकान, श्वास फुलेर स्वाँ–स्वाँ हुने समस्या, साथै उदासीपन र अन्य समस्याहरू समेत उत्पन्न हुन्छन् । महको सेवन गर्नाले रगतले अक्सिजन लिएर जाने क्षमता बढ्दछ, जसले यी सबै समस्याहरू हटाउन सक्छ ।

रगतमा अक्सिजनको मात्रा बढाउन अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनकि तपाईंको शरीर कति स्वस्थ छ अनि यसको कायाकल्प (बिरामी भइसकेपछि पुनः स्वस्थ हुने क्षमता) कति सहज हुन्छ भन्ने कुरा तपाईंको रगतमा अक्सिजनको मात्रा कति छ भन्ने कुरामा निर्भर गर्दछ । विशेषगरी, महिलाहरूले यस सन्दर्भमा विशेष ध्यान दिन जरूरी हुन्छ, किनकि उनीहरूले हरेक महिना मासिक चक्र (महिनावारी) बाट गुज्रिनु पर्ने हुन्छ । त्यसबेला, महिलाहरूको शरीरबाट बढी रगत बाहिर निस्किने हुँदा, उनीहरूमा एनेमियाको सम्भावना उच्च भएको पाइन्छ । यदि मस्तिष्कमा उचित मात्रामा रगत प्रवाह हुन सकेन भने, शरीर र दिमागले जुन रूपमा काम गर्नुपर्ने हो, त्यसरी काम गर्न सक्दैनन् ।

२. महः रक्तचाप सुन्तुलित गर्छ

महको नियमित सेवनले रक्तसञ्चार–प्रणाली र रगतको रासायनिक गुणमा सन्तुलन ल्याउनुको साथै तपाईंलाई उर्जावान् र फूर्तिलो समेत बनाउँछ । यदि बसिरहेको अवस्थाबाट जरूक्क उठ्दा तपाईंलाई चक्कर लाग्दछ भने, सम्भवतः तपाईंको रूक्तचाप निम्न भएको हुन सक्छ । निम्न रक्तचाप हुनु भनेको दिमागमा पर्याप्त अक्सिजन नपुग्नु हो । त्यसैगरी, यदि तपाईंले टाउको झुकाउँदा वा निहुराउँदा तपाईंलाई चक्कर लाग्दछ भने, सम्भवतः तपाईंमा उच्च रक्तचाप भएको हुन सक्छ । उच्च रक्तचाप हुँदा वा अक्सिजनको कमीको कराणले तपाईंलाई चक्कर आउँछ ।

महको सेवनले शरीरमा भएका यी असन्तुलनहरूलाई ठिक गर्दछ । शरीरको आवश्यकता अनुसार शरीरमा रगतको दबाब बढ्दछ । मानिसहरू सोच्छन् कि उच्च रक्तचाप एउटा समस्या हो । त्यसो होइन । वास्तवमा, शरीरले आफ्नो आवश्यकता अनुसार रगतको चाप निर्धारण गर्दछ । यदि केही कारणवश, शरीरमा सामान्य स्तरभन्दा बढी रगत र अरू पोषक तत्त्वहरू जरूरी भयो भने, वा रगतको गुण जस्तो हुनुपर्ने हो, त्यस्तो छैन भने, अङ्गहरूमा छिटो र जोडले रगतको प्रवाह हुन रक्तसञ्चार बढ्दछ । यसको लागि मुटुले जोडले रगत फाल्दछ (पम्प गर्दछ), जसकारण रगतको चाप बढ्दछ ।

निम्न रक्तचापको सन्दर्भमा, शरीरले आफेँ कम पम्प गर्न थाल्दछ । वा, जन्मजात नै केही कारणवश मुटु कमजोर भएकोले शरीरको आवश्यकता अनुरूप रगत पम्प गर्न नसकेको हुन सक्छ । अथवा, रक्तसञ्चार–प्रणालीमा वा रगतको रसायनमा केही समस्या हुन सक्दछ । प्रायः एकैपटक थुप्रै कारणहरूले यस्तो अवस्था सृजना हुन सक्दछ । त्यसैगरी, उच्च रक्तचापको कारण अन्य परिणामहरू देखिन थाल्छन्, तर सर्वप्रथम उच्च रक्तचाप आफैँमा परिणाम हो— उच्च रक्तचाप परिणाम हो, कारण होइन ।

रक्तसञ्चार–प्रणालीमा वा रगतको रसायनमा सन्तुलन कायम गर्नु अत्यन्तै आवश्यक छ । महको सेवन गर्नाले यसले सन्तुलन ल्याउने मात्र नभई तपाईंलाई स्फूर्ति र उर्जाले भर्दछ ।

३. महः कीमोथेरापीमा लाभदायक

केही प्रारम्भिक अनुसन्धानबाट आएको परिणामले यो बताएको छ कि महको सेवनले कीमोथेरापीको बिरामीहरूमा सेतो रक्त कोषिकाहरू (White Blood Cells वा WBC) को सङ्ख्या कमी हुन दिँदैन । सानो स्तरमा गरिएको एउटा प्रयोगमा, कीमोथेरापीको बेला सेतो रक्त कोषिकाहरूको कमीको जोखिम भएका ४०% बिरामीहरूलाई उपचारको रूपमा प्रत्येक दिन दुई चम्चा मह दिइएको थियो, जसकारण त्यो समस्या पुनः देखिएन ।

४. महः चिनीको दाँजोमा उत्तम

सेतो चिनीले हाम्रो शरीरमा पार्ने हानिकारक असरहरूको बारेमा थुप्रै चर्चाहरू गरिएको छ । मह एकदमै उत्तम विकल्प हो, किनकि यो त्यति नै मिठो हुन्छ अनि यसबाट कुनै हानि समेत हुँदैन । महको रासायनिक तत्त्वहरूमा चिनीको गुण हुने भए तापनि यो सेतो चिनीको तुलनामा निकै भिन्न हुन्छ । महमा डेक्सट्रिन भन्ने स्टार्चयुक्त फाइबर हुन्छ । यो मिश्रणले शरीरमा सुगर (चिनी) को स्तरलाई सन्तुलित राख्न सहयोग गर्दछ ।

५. महः योग–अभ्यासमा सहायक

योग–साधना गर्ने व्यक्तिहरूका निम्ति दैनिक मह सेवन गर्नु निकै लाभदायक हुन्छ । योगको अभ्यास गर्नेहरूले आफ्नो शरीरलाई विशेष अवस्थामा लैजाने प्रयास गरिरहेका हुन्छन्, जसको लागि रक्तसञ्चार– प्रणाली एवं रगतको रसायनलाई सन्तुलनमा राख्नु अपरिहार्य हुन्छ । नियमित महको सेवन गर्नाले यसले त्यसमा सन्तुलन ल्याउँछ, साथै तपाईंको शारीरिक प्रणाली पनि बढी जीवन्त हुन्छ । अभ्यास सुरु गर्नुभन्दा अगाडि मनतातो पानी थोरै मह राखेर पिउनाले पूरै शरीर सक्रिय हुन्छ ।

६. महः जीवाणु–प्रतिरोधी

महको सेवनले रोग–प्रतिरोधक तत्त्वहरू बढाउँछ, हानिकारक सूक्ष्म–जीवहरूसँग लड्दछ अनि शरीरको प्रतिरक्षा प्रणालीलाई राम्रो बनाउँछ । थुप्रै अध्ययनहरूले घाउ र चोटपटकको उपचारमा समेत महको प्रयोगमा विचार गर्न थालेका छन् । परम्परागत चिकित्सामा, श्वास–प्रणाली सम्बन्धी सङ्क्रमणको उपचारमा महको प्रयोग गरिन्थ्यो । दम र अत्यधिक कफको समस्या छ भने, दैनिक मह सेवन गर्नु अत्यन्तै लाभदायक हुन्छ । केही अनुसन्धानहरूले यो पत्ता लगाएका छन् कि मेडिकल–ग्रेड महले खानाबाट उत्पन्न हुने जीवाणुहरूलाई नष्ट गर्न सक्छ । एन्टीबायोटिकले समेत असर गर्न नसकेको ब्याक्टेरियासँग लड्नको लागि मह प्रभावकारी प्रमाणित भएको छ । एन्टीबायोटिकले जीवाणुहरू (ब्याक्टेरिया) बढ्दै गरेको बेला हमला गर्दछ, जसले गर्दा ती जीवाणुहरूलाई प्रतिरोधी क्षमता विकसित गर्ने अवसर प्राप्त हुन्छ । जबकि, महले कैयौँ स्तरहरूमा सङ्क्रमणसँग लड्दछ, जसकारण जीवाणुहरूको लागि प्रतिरोधी क्षमता विकसित गर्न कठिन हुन्छ ।

७. महः रुघा–खोकीको उपचार

यदि तपाईं चिसो सम्बन्धी रोगहरू— विशेषगरी रुघा–खोकी— बाट पीडित हुनुहुन्छ भने, वा हरेक बिहान तपाईंको नाक बन्द भइरहन्छ भने, तपाईंले नीम, कालो मरिच, मह र बेसार सेवन गर्नुपर्छ । यसबाट अत्यन्तै फाइदा हुन्छ ।

तरिका १

१०–१२ दाना कालो मरिचलाई हलुकासँग कुट्नुहोस् अनि सानो चम्चाको दुई चम्चा महमा रातभरि भिजाउनु होस् । बिहान मह र मरिच खानुहोस्, मरिचलाई राम्रोसँग चपाएर खानुपर्छ । यसमा थोरै बेसार पनि मिसाउन सकिन्छ ।

तरिका २

नीमको पातलाई पिसेर पेस्ट बनाउनुहोस् अनि त्यो पेस्टको ससाना डल्लो बनाउनु होस् । हरेक बिहान त्यसलाई महमा डुबाउनु होस् अनि खाली पेटमा निल्नुहोस् । अर्को एक घण्टासम्म केही नखानुहोस्, ताकि नीम तपाईंको शरीरमा फैलिन सकोस् । यसले छाला वा खाना सम्बन्धी हुने एलर्जीहरूमा समेत लाभ दिन्छ । नीममा थुप्रै औषधीय गुणहरू हुन्छन् । यदि तपाईंलाई नीमको पात बढी तीतो लाग्छ भने, कोमल पातहरू खान सक्नुहुन्छ जुन कम तीतो हुन्छन् ।

८. महः शक्तिवर्धक खाद्य पदार्थ

परम्परागत चिकित्सामा, महलाई तुरुन्तै उर्जा बढाउने औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । महमा अनेक प्रकारका चिनी–कणहरू (सुगर मोलिक्यूल) हुन्छन्, विशेषगरी ग्लुकोज र फ्रुक्टोज । सेतो चिनीमा, सुक्रोज हुन्छ जुन फ्रुक्टोज र ग्लुकोजको मिश्रण हो । जबकि, महमा यी दुवै छुट्टाछुट्टै हुन्छन् । यसैकारण, महले तत्काल शक्ति प्रदान गर्दछ । महमा स–सानो मात्रामा थुप्रै भिटामिन र मिनिरल— क्यालसियम, कपर, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम, जिङ्क— हुने भएकोले महको सेवन गर्नु एकदमै लाभदायक हुने बताइएको छ ।

९. महः पाचनमा सघाउँछ

महले कब्जियत, पेट फुल्ने र ग्यास्ट्रिकको समस्यालाई कम गर्दछ । महमा केही सहायक ब्याक्टेरियाहरू समेत प्रचुर मात्रामा हुन्छन्, जसले पाचनमा सघाउँछ, प्रतिरक्षा प्रणालीलाई राम्रो बनाउँछ अनि एलर्जी समेत कम गर्दछ । चिनीको सट्टामा महको प्रयोग गर्नाले आमाशय वा पेटमा उत्पन्न भएको विषालु प्रभावहरू कम गर्दछ ।

१०. महः छाला सम्बन्धी रोगहरूमा प्रभावकारी

छाला सम्बन्धी रोगहरूमा मह निकै लाभदायक हुन्छ । ३० जना बिरामीहरूमा गरिएको सानो स्तरको अध्ययनमा सहभागीहरूले हरेक दोस्रो दिन २–३ मिनेटसम्म समस्याग्रस्त क्षेत्रहरूमा अप्रशोधित महद्वारा मालिस गरेका थिए । मह दलिसकेपछि यत्तिकै तीन घण्टासम्म छोडियो, अनि मनतातो पानीले धोइयो । सबै बिरामीहरूलाई यो उपचारबाट फाइदा भयो । एक हप्ताभित्रै चिलाउने समस्या हराउँदै गयो, दुई हप्तामै घाउ निको भएको थियो । बिरामीहरूको कपाल झर्ने समस्यामा पनि सुधार देखियो । यसबाहेक, जो बिरामीहरूले हप्तामा एकपटक मह लगाउँदै ६ महिनासम्म उपचार जारी राखे, उनीहरूमा यो समस्या पुनः देखिएन ।

११. बच्चाहरूलाई गहिरो निन्द्रामा सुत्न मद्दत गर्दछ

कैयौँ अध्ययनहरूको सुरुवाती परिणामहरूले यो दर्शाएका छन् कि महको सेवनले बच्चाहरूको निन्द्रा गहिरो हुन सक्दछ । आमाबुबाहरूको अभिमतमा आधारित यस अध्ययनबाट यो निष्कर्ष निकालिएको थियो कि महको सेवनले रातीको समयमा बच्चाहरूमा कफ सम्बन्धी समस्याहरू कम गऱ्यो, जसले गर्दा बच्चाहरू गहिरो निन्द्रामा सुत्न सकेका थिए ।


ध्यान दिनुपर्ने कुराहरू:

  • जुन मह गाढा रङ्गको हुन्छ, त्यसमा बढी एन्टीअक्सिडेन्ट हुन्छ ।
  • महलाई कुनै भाँडामा राखेर राम्रोसँग बन्द गरेर राख्नाले यो बिग्रिँदैन, यसलाई लामो समयसम्म राख्न सकिन्छ ।
  • एक वर्षभन्दा कम उमेरका शिशुहरूलाई मह दिनुहुँदैन, किनकि त्यसमा बोटुलिजम ब्याक्टेरियाको जीवाणुहरू हुन सक्छन्, जसले गर्दा बच्चाहरू बिरामी पर्न सक्छन् । यी जीवाणुहरू धुलो र माटो पाइन्छ, जुन महमा जान सक्छ । शिशुको शरीर यस प्रकारको सङ्क्रमणबाट आफूलाई बचाउनको लागि तयार भइसकेको हुँदैन ।
  • सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा यो हो कि महलाई कहिल्यै उम्लिएको पानीमा हाल्नु हुँदैन, साथै यसलाई कहिल्यै पकाउनु समेत हुँदैन । किनकि, एउटा निश्चित तापक्रममा पुगेपछि महको केही अंश विषालु हुन्छ । त्यसैले, महलाई कि त चिसो पानीमा वा मनतातो पानीमा मिसाएर पिउन सकिन्छ ।
  • अर्को महत्त्वपूर्ण कुरा के हो भने, मधुमेह–रोगको सन्दर्भमा मह र सेतो चिनीको असर उस्तै हुन्छ । दुवैले रगतमा चिनीको मात्रा बढाउँछन्, त्यसैले मधुमेहका बिरामीहरूले त्यही अनुसार ध्यान दिनुपर्ने हुन्छ ।

महको प्रयोगः आयुर्वेद र सिद्ध चिकित्सा

महको फाइदाहरूको बारेमा यस संस्कृतिमा जति खोज गरिएको छ, त्यो सायद अन्त कतै भएको छैन । महलाई मानवजातिको लागि प्रकृतिको उपहार मानिएको छ, साथै हरेक भान्साघरमा हुनैपर्ने चीज भन्ने गरिन्थ्यो । १२ महिनाभन्दा बढी उमेरका जो–कोहीका निम्ति, महलाई आफ्नो आहारको महत्त्वपूर्ण अङ्ग मानिन्थ्यो । महलाई सुपाच्य खाद्य पदार्थ मानिन्छ, जसलाई सजिलैसँग पचाउन सकिन्छ ।

दुवै चिकित्सा पद्धतिहरू— आयुर्वेद र सिद्ध— मा महलाई औषधीहरूको वाहकको रूपमा प्रयोग गरिन्छ । आयुर्वेदिक औषधीलाई महसँग मिसाएर खाँदा, शरीरले एकदमै सजिलोसँग र छिटो आफूमा समाहित गर्दछ, साथै रक्तसञ्चारको माध्यमले पूरै शरीरमा फैलिन्छ । यस्तो भनिन्छ कि महले औषधीको गुणलाई कायम राख्दै, यसलाई लामो समयसम्म प्रभावकारी बनाउँछ ।

सिद्ध ग्रन्थहरूमा ऊष्ण सम्बन्धी समस्याहरू, अत्यधिक कफ, वान्ता, ग्यासट्रिक जस्ता समस्याहरू तथा रगतमा हुने अशुद्धिहरूको उपचारमा समेत महको प्रयोग गर्ने सुझाव दिइएको छ । सिद्ध ग्रन्थमा सातवटा विभिन्न प्रकारका महहरूको पहिचान गरिएको छ, जसमा घना पहाडी वनहरूबाट जम्मा गरिएको महमा औषधीय गुण सबैभन्दा बढी हुने बताइएको छ । यो महमा कैयौँ औषधीय वनस्पतिहरूको गुण हुन्छ ।


महको प्रयोग अनि परम्परागत उपचार

मह–पानी

  • एक गिलास पानीमा (सामान्य तापक्रम), सानो चम्चाको १–३ चम्चा मह मिसाउनुहोस् अनि दिनमा दुई पटक पिउनुहोस् । यसले स्नायु प्रणालीमा हुने कमजोरीलाई हटाउन सहयोग गर्छ ।
  • एक गिलास मनतातो पानीमा, सानो चम्चाको १–३ चम्चा मह मिसाउनुहोस् अनि पिउनुहोस् । यसले तरुन्तै स्फूर्ति बढाउँछ, साथै तौललाई सन्तुलनमा ल्याउन सहयोग गर्छ ।

मह–कागती

दरफरिएको वा रगडिएको ठाउँमा मह लगाउनाले घाउ चाँडै निको हुन्छ अनि दाग पनि हल्का हुन्छ । दिनमा दुई पटक, २०–२० मिनेटको लागि, मह र कागतीको रसको बराबरी भाग मिसाउएर लगाउनुहोस् । यसले अनुहारको भएको कालो दाग हटाउन सक्छ ।

पिय पदार्थको रूपमा प्रयोग गर्ने तरिकाहरू

तरिका १

  • अदुवा पिस्नुहोस् र त्यसको रस निकाल्नु होस् । रसलाई १५ मिनेटसम्म सिसाको भाँडामा राख्नुहोस् ।
  • पिँधमा रहेको पदार्थलाई यत्तिकै छोड्नुहोस् र सफा रसलाई ५–६ दिनसम्म फ्रिजमा राख्नुहोस् ।
  • सानो चम्चाको दुई चम्चा अदुवाको रस र दुई चम्चा मह मिसाउनुहोस् अनि हरेक बिहान खाली पेटमा खानुहोस् । यसलाई रगतलाई शुद्ध गर्न मद्दत गर्दछ । यसलाई हरेक छ महिनामा एक पटक ४८ दिनहरूसम्म खान सक्नुहोस् ।

तरिका २ 

  • ताजा अदुवा धोएर बोक्रा फाल्नुहोस् ।
  • अदुवालाई ससाना टुक्रामा काट्नुहोस् । चौडा मुख भएको सिसाको भाँडामा मह राख्नुहोस् अनि अदुवाको टुक्राहरू त्यसमा डुबाउनु होस् ।
  • भाँडाको मुखलाई पातलो, सेतो, सुतीको कपडाले ढाक्नुहोस् अनि १२ दिनसम्म घाममा राख्नुहोस् ।
  • हरेक बिहान र बेलुका २–४ टुक्रा अदुवा खानुहोस् । यसबाट अजीर्ण वा अपच सम्बन्धी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

तरिका ३

तीन चौथाइ कप पानीमा सानो चम्चाको चार चम्चा अदुवाको रस, चार चम्चा मह अनि दुई चम्चा कागतीको रस मिसाएर पिउनुहोस् । यसो गर्नाले, छिट्टै चिसोले समात्ने समस्या हुँदैन ।

तरिका ४

  • एउटा अनारको ताजा रस लिनुहोस् अनि सानो चम्चाको एक चम्चा मह मिसाउनुहोस् ।
  • हरेक बिहान खाली पेटमा खानुहोस् ।
  • खजुर वा छोहोरा (छोकडा) मा स–साना प्वाल बनाउनुहोस् अनि महमा मिसाउनुहोस् । दिनमा दई पटक २–४ पटक यो छोहोरा खानुहोस् । यसले मुटुलाई राम्रो गर्दछ ।

तरिका ५

गर्मीको समयमा यसरी प्रयोग गर्न सकिन्छ

  • खरबुजा काट्नुहोस्, बीउ निकाल्नुहोस् अनि काटेर मिक्स्चरको जारमा हाल्नुहोस् ।
  • अदुवाको बोक्रा फालेर थिच्नुहोस् अनि जारमा हाल्नुहोस् । (अदुवाको टुक्रा लगभग एक इन्च)
  • १⁄४ कप ताजा पुदिनाको पात, स्वाद अनुसारको नुन, कालो मरिचको धुलो र ठुलो चम्चाको तीन चम्चा मह मिसाउनु होस् ।
  • मसिनो पेस्ट नबनुन्जेलसम्म ग्राइन्ड गर्नुहोस् । यसलाई छान्नुहोस् ।
  • अनि, गिलासमा हालेर पिउनुहोस् ।

रोचक जानकारीहरू— मौरी र मह

  • मौरीहरूको लगभग २५,००० प्रजातिहरू रहेका छन्, जुनमध्ये केही दुर्भाग्यवश लोप हुने अवस्थामा पुगेका छन् ।
  • सुपरमार्केटमा पाइने लगभग ८०% प्रतिशत खाद्यान्न मौरीहरूको पराग–सेचनको परिणाम हो ।
  • ६००० इ.पू. मा मानिसहरूले पहिलो पटक मह जम्मा गर्न थालेको प्रमाण पाइन्छ । यो कुरा एउटा गुफाको चित्रकलामा दर्शाइएको छ ।
  • ५०० ग्राम मह बनाउनको लागि मौरीहरूलाई पराग खोज्नको लागि १ करोड पटक भौँतारिनु पर्छ, जुन विश्वको १.५ परिक्रमा बराबर हुन आउँछ ।
  • मह यस्तो पदार्थ हो, जसको रासायनिक संरचना लगभग मानिसको जस्तै हुन्छ ।
  • महलाई जसरी प्रयोग गरिन्छ, सोहीअनुसार यसको भिन्न प्रभावहरू हुन्छन् । महलाई यत्तिकै खाँदा, वा चिसो पानीमा मिसाएर खाँदा वा मनतातो पानीमा मिसाएर खाँदा शरीरमा भिन्दाभिन्दै प्रभाव हुन्छ ।

Editor’s Note: Excerpted from Sadhguru’s discourse at the Isha Hatha Yoga School’s 21-week Hatha Yoga Teacher Training program. The program offers an unparalleled opportunity to acquire a profound understanding of the yogic system and the proficiency to teach Hatha Yoga. For more information, visit www.ishahathayoga.com or mail info@ishahatayoga.com