″सद्‌गुरु″ को अर्थ

सद्‌गुरु यो भन्दै हुनुहुन्छ कि ″सद्‌गुरु″ शब्द कुनै पद होइन, बरु यो वर्णन वा विवरण हो । ″सद्‌गुरु″ को अर्थ हो — अशिक्षित गुरु ।
Die Bedeutung von Sadhguru
 

सद्‌गुरुः जब मानिसहरूले कुनै विषयमा विद्वत्ता प्राप्त गर्छन्, उनीहरूलाई विभिन्न नामहरूले चिनिन्छ । यदि कोही आफ्नो भित्री अनुभवबाट आएका छन् भने, उनलाई सद्‌गुरु भनिन्छ । “सद्‌गुरु” शब्द कुनै पद होइन; बरु यो विवरण हो । ″सद्‌गुरु″ को अर्थ हो “अशिक्षित गुरु″ । म आध्यात्मिक क्षेत्रमा लगभग शत-प्रतिशत अशिक्षित छु । मलाई कुनै पनि शास्त्र वा पुराणहरूको बारेमा केही ज्ञान छैन । मैले न त वेदहरू पढेको छु, न त भागवद् गीता पढ्ने प्रयत्न नै गरेको छु ।

म आफ्नो भित्री अनुभवबाट मात्र बोल्दछु, अनि मलाई एउटा मात्र कुरा पूर्ण रूपमा थाहा छ— यो जीवनको बारेमा आदि (सुरु) देखि अन्त्यसम्म पूर्णतः थाहा छ ।

यदि तपाईंले जीवनको यस अंश (आफू) लाई जान्नुभयो भने, तपाईं ब्रह्माण्डका ती सबैकुरा जान्नुहुन्छ, जुन जान्न लायक छन् । किनकि, जुन रूपमा यो जीवन रचिएको छ, सोही अनुरूप पूरै ब्रह्माण्ड बनेको छ । ब्रह्माण्डका रहस्यहरू जान्नको निम्ति तपाईंले पूरै जगत् चहार्नु पर्दैन । यदि तपाईंले आफूभित्र हेर्नुभयो अनि यो जीवनलाई यसको सम्पूर्णतामा जान्नुभयो भने, तपाईंले जीवनलाई सम्भव भएसम्मका सबै रूपहरूमा जान्नुहुनेछ ।

मेरो सरोकार जीवनसँग मात्र हो; मलाई स्वर्गप्रति कुनै चासो छैन । सायद कतिपयलाई यो कुरा अप्रिय लाग्न सक्दछ, तर मेरो दृष्टिकोणमा गुरुको सम्पूर्ण प्रयास भनेको साधकलाई उसको खोज अझ तीव्र र गहन बनाउनको निम्ति सहयोग गर्नु हो— उसलाई उत्तरहरू दिने होइन ।

जब मनुष्यले “मलाई थाहा छैन” भन्दछ, तब उसको जीवनमा केही जान्ने सम्भावना खुला हुन्छ । तर, यदि ऊ आफूले नजानेको कुरालाई समेत 'म जान्दछु' भनेर विश्वास गर्छ भने, त्यो दुर्दशा हो । यदि मैले तपाईंलाई उत्तरहरू दिएँ भने, तपाईंसँग एउटै विकल्प रहन्छ— कि त मलाई विश्वास गर्ने वा अविश्वास गर्ने । यदि तपाईंले विश्वास गर्नुभयो भने, तपाईं आफ्नो खोजको उत्तर पत्ता लगाउने दिशातर्फ अलिकति पनि नजिक पुग्नुहुन्न । यदि तपाईंले अविश्वास गर्नुभयो भने, तबपनि त्यसको नजिक पुग्नुहुन्न । मैले जेसुकै भने पनि तपाईंको लागि त्यो एउटा रोमाञ्चक कथा मात्र हुनेछ, जुन तपाईं अरू कसैलाई सुनाउन सक्नुहुन्छ र उनीहरूले पनि अरूलाई सुनाउने छन् अनि यसलाई बङ्ग्याउँदै लगिनेछ । अन्ततः यो तिनै विकृत कथाहरू जस्तै हुनेछ, जुन सदियौँदेखि चलिरहेका छन्, जसले मानिसहरूको जीवनलाई निकै खराब रूपमा बर्बाद गरेका छन् । त्यसैले, यदि तपाईं वेद वा कुनै शास्त्रको ज्ञानको खोजमा हुनुहुन्छ भने, यो उपयुक्त स्थान होइन । यदि तपाईं आफ्नो परम प्रकृतिलाई जान्नको लागि कुनै विधि वा तरिकाको खोजमा हुनुहुन्छ भने, यो उचित स्थान हो ।